भाेलि पनि भविष्य गठबन्धन दलकै छ : अध्यक्ष नेपाल

 असोज ३०, २०७९ आइतबार १६:२१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आउँदाे प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सत्तारूढ गठबन्धनलाई नै मतदाताले विजयी गराउनुपर्ने जिकिर गर्नुभएकाे छ । 

आज आइतवार काठमाण्डाैमा आयोजित 'सत्तारूढ गठबन्धनका काठमाण्डाै क्षेत्र नम्बर २ का प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभा' कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले धरापमा परिसकेको संविधान र लोकतन्त्रलाई रक्षा गरेर सत्तारूढ गठबन्धनले देशलाई ठूलो दुर्घटनाबाट जोगाएकाे दाबी गर्दै जनताले गठबन्धनमा आबद्ध दलका उम्मेदवारलाई जिताउनुपर्ने तर्कसमेत गर्नुभयो ।

अध्यक्ष नेपालले भोलिको भविष्य पनि सत्तारूढ गठबन्धनको नै भएकाे दाबी गर्दै त्यसका नेताहरूले आफूहरूको समस्या समाधान गर्न सक्छन् भनेर विश्वास गर्न पनि मतदातालाई आग्रह गर्नुभयो । उहाँले सत्तारूढ गठबन्धनमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाबाहेकका नेताहरू पनि भविष्यका प्रधानमन्त्री भएको जिकिर गर्दै उनीहरूको पक्षमा मतदान गर्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘गठबन्धन दललाई तपाईँहरूले विजयी गराउनुपर्दछ । हामीले देशलाई निकै ठूलो दुर्घटनाबाट बचाएका छौँ । संविधान नै धरापमा परिसकेको थियो । लोकतन्त्र नै धरापमा पर्ने अवस्था भइसकेको थियो । पटक–पटक धरापमा परेको संविधानलाई जोगाउने कुरामा यो वाम लोकतान्त्रिक गठबन्धनले महत्त्वपूर्ण भूमिका खेल्यो । त्यसमा निम्ति तपाईँहरूले यी सबै नेतालाई धन्यवाद दिनुपर्दछ । भोलि पनि भविष्य गठबन्धन दलकै छ । गठबन्धनमा रहेका महत्त्वपूर्ण नेताहरू र पार्टी भइसकेपछि हल गर्न नसकिने केही पनि छैन । त्यस कारण तपाईँहरू उहाँसँग विश्वस्त भए हुन्छ । सँगसँगै केन्द्रबाट, मन्त्रिपरिषदबाट अनेक खालका कानुनी अवरोध आउलान्, त्यसलाई हल गर्नका लागि पनि हाम्रो वर्तमान प्रधानमन्त्री त छँदै हुनुहुन्छ । भविष्यका प्रधानमन्त्रीहरू पनि यही छन् भन्ने पनि सबैको ध्यान जानुपर्ने आवश्यकता पर्छ ।’

अध्यक्ष नेपालले चुनावमा विजयी हुने गरी क्रियाशील हुन पनि सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । देशको स्वाभिमानलाई उचो राख्न र जनताको अधिकारलाई सुनिश्चित गर्न पनि सत्तारूढ गठबन्धनलाई आउँदाे चुनावमा विजयी गराउनुपर्ने उहाँको जिकिर थियो ।

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया