चुनाव पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुनु हुन्न : प्रमुख आयुक्त थपलिया

 कात्तिक ७, २०७९ सोमबार २०:२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनाव पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुन नहुने बताउनुभएको छ ।

दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा आज साेमवार शुभकामना सन्देश दिँदै प्रमुख आयुक्त थपलियाले चुनाव विचार, सिद्धान्त, इमान र निष्ठाबाट निर्देशित हुनुपर्ने बताउनुभयाे । उहाँले आयोगको अठोट र मान्यता स्थापित गर्न सबै मतदातामा कसैको डर, धाक, धम्की र प्रलोभनमा नपरि निर्धक्क भएर मतदान गर्ने शक्ति चाड पर्वबाट प्राप्त होस् र प्रतिबद्धता जागृत होस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।

‘आपसी सद्भाव र सांस्कृतिक महत्त्व झल्काउने यस्ता चाडपर्वले पारिवारिक पुनर्मिलन, सामाजिक एकता र सौहार्दता अभिवृद्धि गर्ने हुँदा चाडपर्वलाई खर्चिलो र भड्किलो बन्न दिनुहुने छैन भन्ने विश्वास लिएको छु’, प्रमुख आयुक्त थपलियाले भन्नुभएको छ, ‘चाडपर्वको मौका पारी चुनावका लागि जारी गरिएको आचारसंहिता विपरीत मतदातालाई अवाञ्छितरूपमा प्रलोभन दिने र प्रभावित पार्नेजस्ता गतिविधिहरू नगर्न म सम्बन्धित दल, उम्मेदवार र सबै मतदातामा अपिल गर्दछु ।

उहाँले फूल, बत्ती र रङको पर्व दिपावली तथा सद्भाव र भातृत्वको प्रतीक छठ पर्वले हरेक मान्छेको जीवनमा उल्लास, उमङ्ग र ऊर्जा ल्याएजस्तै मङ्सिर ४ गतेकाे चुनावले राष्ट्रको जीवनमा सुशासन, विकास र समृद्धिको स्पष्ट मार्गचित्र कोर्नेछ भन्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया