अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै - बिरामी नपरि अस्पताल जाने रहर कस्लाई होला र त्यसमाथि देशको सरकारी अस्पतालको सेवा सम्झँदै सद्दे मानिस नै बिरामी हुने अवस्था छ । यहाँका अस्पतालले दिने सेवाले बिरामीलाई दिने दुःख त छँदैछ । बिरामीसँगै जाने कुरुवा र साथीलाई पनि दिक्दार लगाउँछन् । यसकारण बिरामी र जाने साथी दुवैको लागि सरकारी अस्पताल टाउको दुखाइको विषय बन्ने गरेको छ । यसमा देशकै जेठो वीर अस्पताल कसरी अछुतो रहला र ।
पहिले पहिले गाडीमा महाङ्काल मन्दिर पुगेपछि आउने शौचालयको दुर्गन्धले वीर अस्पताल आइपुग्यो भनेर थाहा हुन्छ, सोध्नु पर्दैन भनेर उडाउने गरिन्थ्यो । तर, अहिलेको अवस्था त्यस्तो नरहे पनि ढोकाबाट छिर्ने बित्तिकैको अस्तव्यस्त भिड, आगन्तुकका लागि बाहिर राखिएको बेञ्चमा लडिरहेका बिरामीले पनि अस्पतालको अवस्थाको बारेमा केही छनक दिन्छ ।
त्यस्तै बहिरङ्ग विभागका लागि टिकट काट्ने, अनि टिकट काटिसकेपछि कुन विभागमा कताबाट जाने, कुन डाक्टरलाई कहाँ भेट्ने, एक्सरेलगायतका सेवा लिन कहाँ कसरी जाने भन्ने जस्ता कुरामा बिरामी अलमल परेको देखिन्छ । यसले एक पटक अस्पताल आएको बिरामी काम विशेषले पनि अर्को पल्ट अस्पताल आउनु नपरोस् भन्ने कामना गरिरहेको हुन्छ ।
यस्तै अलमल र दिग्दारीले रुन मात्र नसकेको बताउनुहुन्छ बनेपाकी करिष्मा मानन्धर । उहाँ बिरामी श्रीमानको उपचार गर्न अस्पताल आउनु भएको हो । पहिले बनेपाको शीर मेमोरियल अस्पतालमा बिरामीलाई देखाएपछि अस्पतालले थप उपचारका लागि वीर अस्पताल जान सुझाएपछि उहाँ यस अस्पतालमा आउनु भएको हो ।
शीर मेमोरियलले उहाँलाई यहाँ जान पत्र लेखिदिएपछि उहाँलाई कहाँ गएर टिकट काट्ने, कुन लाइन बस्ने र के गर्ने भन्ने जस्ता समस्या भोग्नु परेन । तर, समस्या भने बिरामीलाई भर्ना गरेर शय्यामा सुताएपछि पर्यो ।
उपचारका लागि डाक्टरले उहाँको श्रीमानको ढाड र पेटबाट पानी निकाले । पानी निकालेपछि उहाँलाई जँचाउन भनियो । तर, कहाँ लैजाने उहाँलाई समस्या भयो । सोध्दा कसैले दर्तामा जान भने । दर्ता गरिसकेपछि फेरि माथि जान भनियो । यता र उता गरेर चक्कर काटेर दुई घण्टा बिते ।
उहाँ भन्नुहुन्छ, ‘एउटाले माथि जानु दर्ता भएको छैन भन्नुहुन्छ । दर्ता गरेर ल्यायो दर्ता भइसक्यो यहाँ होइन भन्नुहुन्छ । दर्ता भएपछि भइसक्यो माथि जानु भन्नुहुन्छ । यसरी झण्डै म दुई घण्टा त्यहीँ हराएँ ।’
कुरो के रहेछ भने उहाँ बिरामीको ढाड र पेटको पानी निकालेपछि जँचाउनका लागि इमर्जेन्सी विभागमा जानुपर्ने रहेछ । तर, हेर्दा यति सामान्य कुराको जानकारी नभएर अनि सही सूचना नपाएका कारण चोटाकोठा चाहार्दै उहाँले दुई घण्टा त्यसै बिताउनु पर्यो ।
‘कहाँ जाने के गर्ने भनेर कसैले भन्दैनन् र उसले उता जा भन्छ । उसले उता जा भनेर उता पठाउँछ । मलाई त बीच बाटोमा बसेर रोउँ भनेजस्तो भयो । जाने कहाँ थाहा छैन । रुन मात्र सकिनँ । झण्डै आँसु नै झरेको,’ उहाँ भन्नुहुन्छ, ‘पछि एकजना अलि परिपक्व मान्छेले पेपर हेरेर यो तपाईँको गल्ती नभएर लिनु पर्ने पेपर उहाँहरुले नलिइदिएका कारण तपाईँले यो दुःख पाउनु परेको हो भने ।’
आफूलाई पर्याप्त सूचना तथा जानकारी नभएपछि उहाँले अरुहरुलाई यसका बारेमा नसोधेको पनि होइन । कसैले पहिले दर्तामा अनि अर्कोले यता होइन उता भन्दाभन्दै उहाँका दुई घण्टा बिते । हलचल गर्न नसक्ने उहाँको बिरामी एक्लै पर्नुभयो । उहाँ अर्को रगत जँचाउन जानुपर्ने समयमा जान पाउनु भएन । यसले गर्दा डाक्टर उहाँसँग रिसाए । यो सबै सम्झँदा उहाँलाई अब यो अस्पताल आउन नपरेहुन्थ्यो भन्ने लागेको छ ।
टिकट काट्न र पैसा तिर्न लामो लाइन बस्नुपर्ने अनि कुन सेवा लिनका लागि कता जाने र के गर्ने भन्ने अलमल नै अहिलेको सरकारी अस्पतालको मुख्य समस्या देखिन्छ । यसका अलावा यहाँका फार्मेसीमा हुनुपर्ने औषधि नभएर बाहिर किन्नुपर्ने, अनि शल्यक्रियालगायतका सेवाका लागि पालो आउन महिनौँ कुनुपर्ने समस्या पनि छ । डाक्टर अस्पतालमा नभेटिने र कुनै कुराको बारेमा सोधपुछ गर्दा झर्किने कर्मचारीको प्रवृत्तिलाई सरकारी अस्पतालमा आम मानिन्छ ।
रुकुमका टोपबहादुर बुढा २१ दिनदेखि भाइको उपचारका लागि वीर अस्पतालमा हुनुहुन्छ । उहाँको भाइको खुट्टा हिउँले खाएपछि उपचारका लागि भनेर वीर अस्पताल आउनु भएको हो । रुकुम तथा नेपालगञ्जको भेरी अस्पतालमा उपचार गराउँदै त्यहाँको अस्पतालले अब यहाँ उपचार हुन सक्दैन काठमाण्डौ जानुस् भनेपछि उहाँहरु उपचारको लागि वीर अस्पताल आउनु भएको हो ।
नेपालगञ्जबाट दुई दिन लगाएर काठमाण्डौ आएपछि उहाँहरु राति ११ बजे नै अस्पतालको इमर्जेन्सीमा आइपुग्नु भएको हो । राति इमर्जेन्सीमा आइ पुगेका कारण उहाँहरुको उपचार त भयो । तर, थप उपचारका लागि भने डाक्टर कुर्नु पर्यो । कहाँ जाने, के गर्ने कसरी डाक्टर भेट्ने भन्ने हैरानीले उहाँहरुले घुमेको घुम्यै हुनुपर्यो । त्यसमाथि हिउँले खुट्टा खाएको बिरामी भएका कारण हिँड्न र उभिन पनि नसक्ने हुँदा बोकेरै सम्बन्धित ठाउँमा लैजानुपर्दाको सास्ती बुढालाई मात्र थाहा छ ।
उहाँ भन्नुहुन्छ, ‘राति नै आइपुगे पनि सोधखोज गरेर टोकन लिएर लाइन लाग्दा अनि पालो आइपुग्दा त दिउँसोको दुई नै बज्यो । बल्लतल्ल डाक्टर भेटियो । थाहा नपाउनेलाई त एकदमै सास्ती छ । झन् हाम्रो जस्तो हिँड्नै नसक्ने बिरामीलाई त एकदमै गाह्रो छ ।’
प्लास्टिक सर्जनले हेरिसकेपछि अब खुट्टा घाउ निको भएपछि उहाँको बिरामीको शल्यक्रिया गर्ने र भर्ना गर्ने भनिएको छ । पैसाको अभावका कारण उहाँहरु भुइँमै सुत्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अहिलेसम्म हाम्रो सात/आठ लाख रुपैयाँ खर्च भइसक्यो । हामी जस्तो गरिबका लागि यसो सरकारले हेरिदिए पनि राम्रो हुन्थ्यो । अस्पतालले पनि निःशुल्क उपचार गरिदिए राम्रो हुन्थ्यो ।’
न्यून शुल्क, पर्याप्त उपकरण र दक्ष डाक्टरसमेत हुने हुँदा सरकारी अस्पताल नागरिकको रोजाइमा त पर्ने गर्छ । तर, यहाँको व्यवस्थापकीय कमजोरी र सामान्य कुराका लागि पनि खेप्नुपर्ने हैरानीका कारण बाध्यात्मक अवस्था बाहेक सरकारी अस्पतालको सेवामा नागरिकको रुचि देखिँदैन ।
तर, सरकारी अस्पतालमा हुने सेवालाई सरल र सहज बनाउन सके नागरिक यसप्रति स्वाभाविकरुपले आकर्षित हुन्छन् । हालै नवगठित मन्त्रिपरिषद्ले सरकारले दिने सुविधाहरु नागरिकहरुले अनावश्यक लाइन नलागि सहजै उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन गरेको छ । यसै अनुसार काम भइरहेको पनि बताउनुहुन्छ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जय कुमार ठाकुर ।
उहाँका अनुसार मन्त्रालयमा सेवा सुधारका लागि परिपत्र आएको छ । र, प्रधानमन्त्री कार्यालयमा यसका लागि भनेर एउटा समिति पनि गठन भएको छ । र समितिले टेकु अस्पताल तथा सिभिल अस्पतालमा अवलोकन भ्रमण पनि गरिसकेको छ ।
ठाकुर भन्नुहुन्छ, ‘सरकारी सेवाहरु सम्पूर्ण अस्पतालमा लागू हुनुपर्छ भनेर समितिका सदस्यहरु टेकु तथा सिभिल अस्पतालमा जानुभयो । उहाँहरुको फिडब्याक पनि आइरहेको छ ।’
ठाकुरका अनुसार समितिका सदस्यहरुसमक्ष अस्पताल प्रशासनले सरकारको सुधारका कार्यक्रम लागू गर्ने प्रतिबद्धता पनि जाहेर गरेको छ । उहाँ भन्नुहुन्छ, ‘सरकारका योजनाहरु कहीँ लागू भएको र कहीँ नभएको अवस्थामा अब देखिने गरी लागू गर्न समिति कार्यरत छ र चाँडै नै यसको परिणाम देखिनेछ ।’
ठाकुर अहिले भर्खरै समितिले काम गर्न थालेकोले अहिले मौखिक जानकारी गराउने काम भएको र अब समितिले लिखित प्रतिवेदन पेस गरेपछि मात्र के के कुरा कसरी लागू हुने र गर्ने कुराको विस्तृत विवरण आधिकारिकरुपमा आउने बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘अहिले कामको सुरुवात भएको छ । उहाँहरुले सक्रियतापूर्वक अनुगमन गरिरहनु भएको छ । चाँडै नै यसको परिणाम आउला ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।