आफैँले बनाएकाे 'ई–स्कुटर' बाट विद्यालय आउजाउ गर्छन् लमजुङका १७ वर्षे किशाेर

 माघ २, २०७९ सोमबार १८:४९:२४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – नाम : अविनाश गुरुङ । घर : मध्यनेपाल नगरपालिका–८ डडुवा । अहिले बसोवास मध्यनेपाल भोर्लेटार । उमेर : १७ वर्ष । अध्ययनरत विद्यालय : इशानेश्वर मावि, मध्यनेपाल–६ । पढ्ने विषय : बाली विज्ञान । रुचि : विज्ञान–प्रविधि । 

सानै उमेरदेखि विज्ञान, प्रविधिमा रुचि राख्ने अविनाशले अहिले आफैँले ई–स्कटुर (विद्युतीय स्कुटर) बनाउनुभएको छ । आफैँले बनाएको स्कुटर चढेर उहाँ विद्यालय पुग्नुहुन्छ । यसैमा घर फर्कनुहुन्छ । उहाँले एक महिना लगाएर ई–स्कुटर बनाउनुभएकाे हो ।    

अविनाशले याे स्कुटर चढेर विद्यालय आउजाउ गर्न थालेको छ महिना पुगिसकेको छ । दिउँसो पढाइमा व्यस्त रहे पनि बिहान–बेलुकीको समय खर्चेर ई–स्कुटर निर्माण गरेको उहाँले बताउनुभयो । ‘विद्यार्थी मान्छे । पढ्नु त पर्‍याे नै । दिउँसो पढाइमा व्यस्त भइन्थ्यो । बिहान–बेलुकीको समय खर्चेर एक महिनाको समयमा स्कुटर तयार गरेको हो’, उहाँले भन्नुभयो ।

५५ हजार रुपैयाँ खर्च 

ई–स्कुटर बनाउन ५५ हजार रुपैयाँ हाराहारीमा खर्च भएको उहाँले बतानुभयो । उहाँले यस स्कुटरमा २४ भोल्टको दुई सय ५० वाट क्षमताको मोटर प्रयोग गर्नुभएको छ । ब्याट्रीबाट चल्ने यस स्कुटर चार किलोमिटरसम्म गुड्ने उहाँले बताउनुभयो । 

‘बढी क्षमताको ब्याट्री प्रयोग गरेमा माइलेज पनि बढाउन सकिन्छ’, अविनाशले भन्नुभयो । ८० केजीसम्मको तौल धान्ने क्षमता यस स्कुटरको रहेको उहाँले बताउनुभयो । 

ई–स्कटुर नै बनाउने सोच मनमा कसरी पलायो भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘पछिल्लो समय विश्वमा डिजल, पेट्रोलबाट भन्दा इलेक्ट्रिकबाट चल्ने सवारी साधनको प्रयोग बढ्दो छ । यसका साथै वातवारणीय प्रदूषणलाई पनि कम गर्न सकिने र तुलनात्मकरूपमा धेरै मात्रामा दुई पाङ्ग्रे सवारीको प्रयोग रहेकाले पनि मैले ई–स्कुटर बनाएको हाे ।’

त्यसो त उहाँले यसअघि हाइड्रोलिक डोजर, रोबर्ट, रकेट, स्मार्ट डस्टबिन लगायतका सामग्री बनाइसक्नुभएको छ । आशबहादुर गुरुङ र उरमाया गुरुङका जेठा छोरा अविनाशलाई उहाँको रुचिमा परिवारको पनि सहयोग मिलेको छ । उहाँका भाइ अभिषेक गुरुङ त्यही विद्यालयमा कक्षा ८ मा पढ्नुहुन्छ ।   

रुचि इन्जिनियरिङतर्फ अनि पढाइ बाली विज्ञान । रहर एकातर्फ, पढाइ अर्कोतर्फ भएजस्तो लाग्दैन भन्ने जिज्ञासामा उहाँले मस्कुराउँदै भन्नुभयो, ‘सानैदेखि प्रविधिमा रुचि थियो । कक्षा ९ देखि नै बाली विज्ञान पढियो । यसमा पनि प्रविधि जोडिने भएकाले यसैमा लागियो । पढाइबाट ज्ञान लिने हो । बाली विज्ञानबाट पनि त्यो प्राप्ति हुन्छ । आफ्नो रुचिको काम त गर्न सकिने नै भयो ।’  

प्रतिभाको कदर र संरक्षण सबैले गर्नु जरुरी 

उहाँको यस कार्य, प्रयासलाई धेरैले प्रशंसा गर्ने गरेका छन् । ‘धेरैले राम्रो भन्नुहुन्छ । कतिपयले सहयोग पनि गर्नुहुन्छ । अझै धेरै चिज बनाउने योजना, सोच छ । यसका लागि पालिकाबाट सहयोगको अपेक्षा राख्दछु,’ उहाँले भन्नुभयो ।

प्रविधिमा धेरै रुचि रहनुमा उनीभित्र प्रतिभा रहेको इशानेश्वर माविमा भौतिकशास्त्र पढाउँदै आउनुभएका शिक्षक निर्मल अधिकारीले बताउनुभयो । प्रतिभाको कदर र संरक्षण सबैले गर्नुपर्ने उहाँले बताउनुभयो । अविनाशकाे प्रतिभाको प्रस्फुटनका साथै उहाँकाे कार्यको प्रचारप्रसारमा विद्यालय जुटिरहको शिक्षक अधिकारीकाे भनाइ छ ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया