ओलीले प्रधानमन्त्री प्रचण्डलाई पिँजडामा राख्न खाेजेकाे विश्वप्रकाश शर्माकाे टिप्पणी

 माघ ५, २०७९ बिहीबार १३:४१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पिँजडामा राख्न खोजेको टिप्पणी गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा पार्टीको तर्फबाट सभामुखको उम्मेदवार बन्नुभएकी ईश्वरीदेवी न्यौपानेको पक्षमा मतदान गर्न प्रस्ताव गर्ने क्रममा उहाँले ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर प्रधानमन्त्री प्रचण्डलाई पिँजडामा राख्न खोजेको बताउनुभएको हो । उहाँले ढोक्सा र माछाको कथा हालेर सरकारलाई पिँजडाभित्र कैद गर्ने प्रयास नगर्न पनि ओलीलाई आग्रह गर्नुभयो । 

ओलीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत कांग्रेसले दिएपछि माछा मार्नका लागि ढोक्सा थाप्ने जाल नरच्न आग्रह गर्नुभएको थियो । त्यसको जवाफ दिनुपर्ने भन्दै महामन्त्री शर्माले आफ्नो पार्टीको माछालाई जालमा पार्ने कुनै योजना नभएको स्पष्ट पार्नुभयो । उहाँले आफैँले संविधानले नचिनेको भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व किन लिनुभयो भनी ओलीलाई प्रश्नसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मैले मेरै जिल्लावासी कमरेडले विश्वासको प्रस्तावको बेलामा बोल्दै गर्दा प्रमुख प्रतिपक्षले विश्वासको मत दिएर ढोक्सा थापेको त होइन भनेर भन्नुभएको कुरामा मैले केही बोलिनँ भने सायद त्यो अपर्याप्त होला । हामीले ढोक्सा थापेका छैनौँ । माछालाई जालमा पार्ने हाम्रो कुनै योजना छैन । तर माछा र ढोक्साको कथा हालेर कसिलो पिँजडा नबनाउनका लागि मैले रोस्ट्रममा उभिएर मैले अपिल गर्नैपर्ने हुन्छ । आफू प्रधानमन्त्री भएको बेलामा सँगैको मित्रले उच्चस्तरीय संयन्त्र बनाउन भन्दै गर्दा संविधानले नचिनेको उच्चस्तरीय संयन्त्र नबनाऔँ भन्ने अनि सँगैको अर्को मित्र प्रधानमन्त्री भएको बेला संविधानले नचिनेको उच्चस्तरीय संयन्त्र बनाउनु भनेको हामीले ढोक्सा थाप्न खोजेको भन्दा देशको प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजेको प्रयत्न हो भनेर म संज्ञा दिन चाहन्छु ।’

महामन्त्री शर्माले सत्तापक्षको सरकार र प्रतिपक्षको संसद् भन्ने मान्यतालाई अघि बढाउन पनि सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने तर्क गर्नुभयो । आफ्नो दल प्रमुख प्रतिपक्ष भएको र उसले सबैभन्दा ठूलो दलको नाताले पनि सभामुख पद पाउनुपर्ने उहाँको भनाइ थियो । महामन्त्री शर्माले केपी ओली प्रधानमन्त्रीत्व कालको स्मरण गराउँदै आफूहरूलाई प्रधानमन्त्रीलाई सहयोग नगर्ने सभामुख र अनावश्यक सहयोग गर्ने राष्ट्रपति नचाहिएको समेत बताउनुभयो ।

महामन्त्री शर्माले सभामुखका लागि ईश्वरीदेवी न्यौपाने शालीन, अनुभवी र सुशिक्षित नेत्री भएको बताउनुभयाे ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया