खराब कर्जादर बढेपछि बैंकहरुको नाफामा असर

 माघ ९, २०७९ सोमबार ७:२६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै - खराब कर्जा बढ्दा र कर्जा प्रवाह घट्दा वाणिज्य बैंकहरुको नाफामा असर परेको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दाेस्राे त्रैमासिक वित्तीय विवरणमा धेरैको नाफा गएको आर्थिक वर्षको यसै अवधिको तुलनामा घटेको देखिन्छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाहेक अरु सबै बैंकहरुले वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

बैंकहरुको खराब कर्जादर बढेपछि नाफामा असर परेको विवरणमा देखिन्छ । निक्षेप सङ्कलनका लागि ब्याजदर बढाए पनि कर्जा प्रवाह अत्यन्तै कम भएकाले यसअवधिमा व्यवसाय विस्तार हुन नसक्दा बैंकहरुको नाफा वृद्धिदर घटेको हो । यसअवधिमा १५ वाणिज्य बैंकहरुको नाफा बढेको छ भने अरुको घटेको छ ।

प्रतिशतका आधारमा एभरेष्ट बैंकको नाफा बढेको छ भने सबैभन्दा धेरै नाफा कमाउनेमा चाहिँ नबिल बैंक देखिएको छ । सनराइज बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक र प्राइम कमर्सियल बैंकको नाफा घटेको छ । नाफा कमाउनेमा नबिल, एनआईसी एसिया, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य, एनएमबी बैंक र एभरेस्ट बैंक अगाडि देखिएका छन् ।

एभरेष्ट बैंकको नाफा ८९ दशमलव २९ प्रतिशतले बढेर १ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । गएको वर्षको दोस्रो त्रैमासिकमा १ अर्ब ४२ करोड रुपैयाँ नाफा कमाएको कृषि विकास बैंक चालु आर्थिक वर्षको यसै अवधिमा १२ करोड ८९ लाख रुपैयाँले घाटामा देखिएको छ ।

नबिल बैंकले ५६ दशमलव ६७ प्रतिशत बढाएर ३ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको छ । एनआईसी एसिया बैंकले ३ अर्ब २७ करोड रुपैयाँ नाफा कमाएको छ भने ग्लोबल आईएमई बैंकले २ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ७१ करोड रुपैयाँ नाफा कमाएको छ । यसैगरी सिभिल बैंकले ६३ करोड रुपैयाँ र सनराइज बैंकले ६५ करोड नाफा कमाएको छ । 
 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया