इन्डियन प्रिमियर लिग(आईपीएल) आउँदो मार्च १४ मा शुरू हुने
मंसिर ७, २०८१ शुक्रबार
चाँदीझैँ टल्किने हिमाल जति आकर्षक छन् उति खतरानाक पनि । हिमालको नजिक पुग्दा मन शान्त हुन्छ । अर्कै संसारमा पुगेको महसुस हुन्छ । हिउँलाई कुल्चन मन लाग्छ । चुम्न मन लाग्छ । चिच्याउँदै हिउँमाथि दौडन मन लाग्छ । हिउँले ढाकेको ठाउँमा पुगेपछि यस्ता प्रतिक्रिया स्वाभाविक हुन् ।
तर हिमालमा उमङ्गसँगै जोखिमको ख्याल गर्नुपर्छ । उचाइमा अक्सिजनको अभाव र चिसो त छँदैछ । छिनभरमै बदलिन सक्ने मौसम, हिमपहिरोको जोखिम, हिउँले ढाकेको ठाउँमा हुने खाल्डा खतराका कारक हुन् । आरोहीहरु भन्छन्, हिमालमा सेकेण्ड भरमा जे पनि हुन सक्छ । स्वीकारेर अघि बढ्नुपर्छ । हिमालमा काम गर्नु जोखिमपूर्ण पेसा हो ।
यही जोखिमपूर्ण पेसा अँगाल्नुभएका सङ्खुवासभाका सानु शेर्पाको सफलता लोभलाग्दो छ । मकालु गाउँपालिका १ घर भएका ४७ वर्षका सानु शेर्पाले विश्वका १४ वटै हिमालको दोहोर्याएर आरोहण गरी विश्व कीर्तिमान बनाउनुभएको छ । उहाँले सात पटक सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको गरी ३५ पटक आरोहण गरिसक्नुभएको छ ।
गाउँमै खेती र पशुपालन गर्दै आएका शेर्पालाई हिमालमा काम गर्ने सोच थिएन । तर लेकाली क्षेत्रको खेती र पशुपालनबाट परिवारको गर्जो नटरेपछि ३१ वर्षको उमेरमा हिमाल जाने काम खोज्दै काठमाण्डौ आउनुभयो । १७ वर्षअघि भरियाको रुपमा हिमालतिर उकालो लागेका शेर्पाको सफलता पनि तीव्र गतिमा उकालो लाग्यो ।
भरियाको रूपमा काम गर्ने मौका पाएका शेर्पाले सन् २००६ मा पहिलोपटक ८ हजार मिटरभन्दा अग्लो चोयूको आरोहण गर्नुभएको थियो । त्यसपछि उहाँको समय आरोहण सिजनमा हिमालतिरै बित्न थाल्यो । शालीन स्वभावका शेर्पा कीर्तिमान राख्न नभइ गुजारा टार्न हिमालमा काम गरेको र मेहनत गर्दै जाँदा सफलता पाएको बताउनुहुन्छ ।
उहाँले आरोहण सहयोगीकै रुपमा सबै आरोहण गर्नुभएको हो । भन्नुहुन्छ ‘निम्न वर्गको मान्छे खर्च गरेर हिमाल चढ्ने त सपनामा पनि सोच्न सकिन्नँ । हिमाल चढ्नुलाई पेसा बनाएरै गएको हुँ । विदेशीहरुलाई डोहोर्याएर शिखरतिर लाँदा म पनि सँगै शिखरमा पुगेको हुँ । आरोहण साहसको खेल हो । तर म साहसको खेल नभइ आफ्नो गरिखाने पेसालाई पछ्याउँदै शिखरतिर उक्लेको हुँ । मलाई हिमालले पनि यो मान्छे आफ्नो पेसाका लागि शिखरतर्फ जाँदैछ र यसको पछाडि उसको पारिवारिक जिम्मेवारी छ भन्ने थाहा पाएको छ।’
सुरक्षामा सम्झौता गर्दिनँ
हिमालमा सुरक्षा सबैभन्दा महत्त्वपूर्ण रहेको शेर्पाको अनुभव छ । जुनसुकै बेला जे पनि हुन सक्ने भएकोले पाँचै इन्द्रीयलाई चनाखो बनाउनुपर्ने उहाँको भनाइ छ । तत्कालको मात्र नभइ सम्भावित मौसम, बाटोका जोखिम, आफ्नो शरीरको शक्ति सबैलाई ख्याल गर्नुपर्छ । हिमालमा लगाइने कपडा, प्रयोग हुने उपकरणदेखि खानेकुरासम्ममा ख्याल गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ ‘हिमालमा लगाउने कपडा धेरै महँगा हुन्छन् । हिउँमा गाड्ने, हिउँ काट्ने लगायतका उपकरण गुणस्तरीय चाहिन्छ । शक्ति दिने खालका खानेकुरा खानुपर्छ । खतरा छ भन्ने लाग्यो भने अब के गर्ने भन्ने निर्णय गर्न ढिला गर्नुहुन्नँ । हिमालमा कहिल्यै पनि जबरजस्ती गर्नुहुन्नँ । सम्भावित खतराको सही आकलन गर्नुपर्छ । हिमालमा शक्ति देखाउने भन्दा बुद्धीले काम गर्नुपर्छ । यी कुरामा कहिल्यै लापरबाही नगरेको कारण मलाई हिमालमा सफलता मिलेको जस्तो लाग्छ ।’
हिमाल आरोहण गर्दा आत्तिने र मात्तिने धेरै हुन्छन् । तर त्यहाँ यी दुवै खतरनाक हुने आरोही शेर्पाको भनाइ छ । भन्नुहुन्छ ‘म सक्छु वा मैले गरेँ भनेर कहिल्यै घमण्ड गर्नुहुन्नँ, किनकि अर्काे पाइलामा खतरा आइलाग्न सक्छ, अनि आपत आइलाग्यो भनेर आत्तिन पनि हुन्नँ, अत्तियो भने त अघि बढ्नै सकिन्नँ । परिस्थितिलाई नियालेर अब के गर्ने भन्ने निर्णय तत्कालै गर्नुपर्छ र होसियारीपूर्वक अघि बढ्नुपर्छ । हिमालमा आउन सक्ने सामान्य समस्यालाई पनि बेवास्ता नगरिकन अघि बढ्यो भने सफल भइँन्छ ।’ हिमालमा सबैभन्दा महत्त्वपूर्ण कुरा आफू र आफूसँग रहेकाहरुको सुरक्षा हुनुपर्नेमा शेर्पाको जोड छ ।
हिमालमा आरोहण सहयोगीले समयमा हिँड्ने, साथीलाई सम्झाउने, आफूले जिम्मा लिएको आरोहीलाई ख्याल गर्ने, सुरक्षित ठाउँमा टेन्ट बनाउने, खाना समयमा खाने र जिम्मामा रहेको आरोहीलाई समयमा खुवाउने जस्ता कामहरु गर्नुपर्ने उहाँको सुझाव छ ।
आरोहण सहयोगी र इमानदारिता
नेपालको पर्यटन क्षेत्रको ठूलो हिस्सा पर्वतारोहणले ओगटेको छ । खर्चिलो क्षेत्रको रुपमा चिनिएको पर्वतारोहण क्षेत्रमा आउने पर्यटक व्यवसायका हिसाबले गुणस्तरीय हुने पर्यटन व्यवसायीहरु बताउँछन् । विदेशबाट आउने एक जना आरोहीले मात्रै कम्तीमा पनि ५० लाख रुपैयाँको हाराहारीमा खर्च गर्छन् । सुविधा लिएको आधारमा त्योभन्दा धेरै खर्च गर्ने पर्यटकहरु पनि आउँछन् ।
हिमाल चढ्न आउने पर्यटकबाट पर्वतारोहीलाई हिमालमा लैजाने व्यक्ति मात्र हैन प्रत्यक्ष–अप्रत्यक्ष रुपमा अरु धेरैले रोजगारी पाएका छन् भने आम्दानी बढिरहेको छ । यातायात व्यवसायी हुँदै होटल, उत्पादन, भरिया लगायत धेरै ठाउँमा जोडिने यस्ता पर्यटकबाट सरकारले राजश्व पनि उल्लेख्य पाउँछ।
यस्तो महत्त्वपूर्ण क्षेत्रमा पर्यटकलाई आकर्षण गर्न आरोहण सहयोगीहरु इमान्दार बन्नुपर्ने शेर्पाको भनाइ छ । उहाँ भन्नुहुन्छ ‘हुन त ट्रेकिङ एजेन्सीहरुले पनि पैसा लिएर गुणस्तरीय सेवा नलिएको पनि हुन सक्छ । तर राम्रो कम्पनी छानेर आउने पर्यटकहरुले सामान्यतया राम्रो सुविधा पाएका हुन्छन् । आरोहीहरुको सम्बन्ध सञ्जाल नै हुने भएकोले राम्रा कम्पनीहरुले सेवालाई सकेसम्म राम्रो बनाउने प्रयास गरिरहेका हुन्छन् । त्यसमा आरोहण सहयोगीले पनि उत्तिकै इमान्दार हुनुपर्छ । किनकि काठमाण्डौबाट हिँडेदेखि आरोहण पूरा भएर नफर्कुञ्जेल आरोहीहरु आरोहण सहयोगीको साथमा हुन्छन् ।’
हिमालमा आरोहण सहयोगी र आरोहीको सम्बन्ध
हिमालमा आरोहण सहयोगी र आरोहीको सम्बन्ध आमा र भर्खरै जन्मिएको बच्चाको जस्तै हुनुपर्ने पर्वतारोही सानु शेर्पाको भनाइ छ । तपाईँहरु आरोहण सहयोगी र तपाईँको साथमा जाने आरोही बीचको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने प्रश्नमा शेर्पाले मुस्काउँदै भन्नुभयो ‘म तपाईँलाई एउटा उदाहरण दिएर भन्छु । एउटी आमा र उसले जन्माएको बच्चाबीच जस्तो सम्बन्ध हुन्छ, हिमालमा आरोहण सहयोगी र आरोहीको सम्बन्ध पनि उस्तै हुनुपर्छ । यदि बच्चालाई आमाले भोक, निद्रा, रोग जस्ता कुरा ख्याल नगरेमा बच्चा समस्यामा पर्छ त्यस्तै ख्याल हिमालमा आरोहण सहयोगीले गरेन भने आरोही पनि समस्यामा पर्छ ।’
आरोहण सहयोगीले आरोहीको अवस्था कस्तो छ भनेर हर क्षण याद गरिरहनुपर्ने उहाँको भनाइ छ । आरोहीको अनुहारमा कुनै भिन्नता आयो कि ? बोली तथा हाँसो पहिलेको जस्तै छ कि छैन ? खाना खाइरहेको छ कि छैन ? व्यवहारमा कुनै भिन्नता आएको छ कि छैन ? समयमा दिसापिसाब गरेको छ कि छैन ? मनमा कुरा खेलाएर बसेको छ कि ? हिँड्न सकेको छ कि छैन ? डराइरहेको पो छ कि ? बढी उत्साहित पो भएको छ कि ? यी सबै कुरा ख्याल गर्नुपर्ने शेर्पा बताउनुहुन्छ ।
विशेषगरी आरोही हिमालको आधारशिविरमा पुगेदेखि त्यहाँ रहँदा र आरोहणमा आरोहण सहयोगीले आरोहीको हरेक व्यवहार नियालेर त्यही अनुसार व्यवहार गर्नुपर्ने र आवश्यक सुझाव दिने र उत्साहित बनाइरहने काम गर्नुपर्ने शेर्पा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘काम गरिरहेको छु भनेर मात्र हुन्न यो व्यक्तिलाई सफलतापूर्वक शिखरमा पुर्याएर फर्काउने जिम्मेवारी मेरो हो भनेर मनदेखि उचित व्यवहार गर्नुपर्छ । यही गर्ने प्रयास गरेका कारण मैले लगेका आरोहीमा आजसम्म समस्या आएको छैन र आरोहणका बेला धेरैलाई मलाई खोज्ने गरेका छन् ।'
शान्त र शालीन स्वभावका शेर्पा हिमालमा काम गर्नेहरुले जहिल्यै पनि आफ्नो पेसालाई सम्मान गर्नुपर्ने बताउँछन् । हिमालमा पुगेर यस्तो जटिल काम किन गरेछु, अब गर्दिनँ जस्ता कुरा गर्न लागियो भने समस्या आइहाल्छ । कि काम छाड्नुपर्यो हैन यही काम गर्छु भन्ने हो भने यो मरो पेसा हो, यहाँबाट मैले आम्दानी गरेको छु भनेर कामलाई सम्मान गर्ने हो भने हिमालमा सफला मिल्छ । त्यहाँ आउने समस्या समाधान हुँदै जान्छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।