कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
धनुषा - कृषि सडक निर्माण क्रममा रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकाका निवर्तमान मेयर र उपमेयरसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारकाे मुद्दा दायर गरेको छ ।
निवर्तमान मेयर उदयकुमार बरबरिया, उपमेयर शिलादेवी कापरी, प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो, तत्कालीन लेखा समिति संयोजक जैसीलाल भिनवार यादव, सुशासन समितिका संयोजक कन्हैया मुखिया, इन्जिनियर सञ्जय यादव, वडा नम्बर ८ का अध्यक्ष तनुकलाल कुसियत, योजना शाखा प्रमुख विन्देश्वर यादव, उपभोक्ता समितिका अध्यक्ष कारी चमार, कोषाध्यक्ष रेखाकुमारी र सचिव मुकेश लखनदेव यादव र तत्कालीन आर्थिक प्रशासन प्रमुख नन्दकुमार झा विरुद्ध मुद्दा परेकाे हाे ।
नगरपालिकाले आव २०७४/७५ का लागि वडा नम्बर ८ मा रहेकाे बिसरभोरा नहरदेखि गोठ कोयलपुरसम्म कृषि सडक निर्माण गर्दा फर्जी कागजात बनाएर फिल्डमा भएको भन्दा बढी रकम उल्लेख गरी रकम हिनामिना गरेको कसुरमा अख्तियारमा उजुरी परेको हाे ।
उजुरीको अनुसन्धान गर्ने क्रममा उपभोक्ता समितिमार्फत् भएको काममा वास्तविकभन्दा बढी काम देखाएर २ लाख १२ हजार ८ सय १६ रुपैयाँ हिनामिना गरेको पुष्टि भएपछि निवर्तमान नगरका पूर्व मेयर उदयकुमार बरबरिया, पूर्व उपमेयर शिलादेवी कापरी, तत्कालीन लेखा समिति संयोजक जैसीलाल भिनवार यादव र सुशासन समितिका संयोजक कन्हैया मुखियाविरुद्ध हिनामिना भएको रकम बिगो कायम गरी कैद र बिगोबमोजिम जरिबानाको माग दाबी गरिएको हाे । त्यस्तै इन्जिनियर सञ्जय यादव र वडा नम्बर ८ का अध्यक्ष तनुकलाल कुसियत तथा योजना शाखा प्रमुख विन्देश्वर यादवविरुद्ध पनि हिनामिना भएको रकम बमोजिम बिगो त्यति नै जरिबाना र कैद सजाय माग गरिएको छ ।
आर्थिक प्रशासन प्रमुख नन्दकुमार झालाई छुट्टै बिगो, त्यति नै जरिबाना र कैद सजाय तथा हिनामिना भएको रकम असुलउपर गर्न भनिएको छ । त्यही योजना सञ्चालन गर्ने जिम्मा पाएका उपभोक्ता समितिका अध्यक्ष कारी चमार, कोषाध्यक्ष रेखाकुमारी र सचिव मुकेश लखनदेव यादवविरुद्ध पनि बिगो, कैद र जरिबाना तथा बिगो जफतको मागदाबी गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयाे । जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरूबाट गलत प्रतिवेदन बनाएर रकम हिनामिना गरेको, फर्जी कागजात पेस गरेर भुक्तानी लिएकोलगायतका कसुरमा अभियुक्त बनाइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो र जनकपुरधाम उपमहानगरपालिकाका लेखा अधिकृत नन्दकुमार झा निलम्बनमा परेका छन् । २०७४/५ मा तत्कालीन शहीदनगर नगरपालिकामा रहेका झासहित १२ जनाले कृषि सडक निर्माण कार्यमा रकम निकासा भएकोमा रकम हिनामिना गरेको उजुरी परेकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा भ्रष्टाचार भएको ठहर भएपछि विशेष अदालत काठमाण्डाैमा मुद्दा दायर गरिएको छ ।
विशेष अदालतमा मुद्दा दायर भएपछि पद स्वतः निलम्बनमा पर्ने भएकाले झा निलम्बनमा परेका छन् । अख्तियारले सजाय हुन मागदाबी लिइ अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम सोमवार हिजाे विशेष अदालत, काठमाण्डाैमा आरोपपत्र दायर गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।