इन्डियन प्रिमियर लिग(आईपीएल) आउँदो मार्च १४ मा शुरू हुने
मंसिर ७, २०८१ शुक्रबार
नेपालमा डढेलोको जोखिम सामान्यतया फागुनको मध्यदेखि सुरु हुन्छ । तर यस वर्ष गएको पुषको मध्यदेखि अहिलेसम्म देशभरमा तीन सय ५० भन्दा धेरै ठाउँमा डढेलो लागिसकेको छ । रामेछाप लगायतका कतिपय ठाउँमा ठूलो क्षेत्रको जङ्गल जलेर नष्ट भएको छ ।
यसपालिको हिउँमा वर्षा र हिमपात निकै कम भएको छ । पश्चिमी क्षेत्रमा केही वर्षा र हिमपात भए पनि मध्य र पूर्वी क्षेत्रमा हिउँदे वर्षा भएकै छैन । यसपालि हिउँदमा पछिल्लो ३० वर्ष यताकै कम पानी परेको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क छ । हिउँदयामको बाँकी समयमा पनि औसतमा कम पानी पर्ने सम्भावना रहेको जलवायुविज्ञ डा. धर्मराज उप्रेती बताउनुहुन्छ ।
लामो खडेरीको प्रभाव धेरैतिर परेको छ । खेतीबाली सुक्न थालेको छ । मुहानमा पानी घट्दै छ । प्रदुषण बढेको छ । हिमालहरु कालो देखिन थालेका छन् । डढेलोको जोखिम पनि बढेको छ । सुख्खासँगै डढेलोको जोखिम उच्च बनेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवम् डढेलोविद् सुन्दर शर्माले बताउनुभयो ।
नेपालमा डढेलोका कारण बितेको १५ वर्षमा एक सय १९ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवम् डढेलोविज्ञ सुन्दर शर्माले संकलन गर्नुभएको तथ्याङ्क अनुसार सन् २००५ देखि २०२२ सम्मको अवधिमा डढेलोमा परेर एक सय १९ जनाको ज्यान गएको हो ।
सन् २००९ मा एकै वर्ष डढेलोमा परेर ४९ जनाको ज्यान गएको थियो । यस्तै औसतमा बर्सेनि ६ जना घाइते भएका छन् भने डढेलो बस्तीमा पुगेर औसतमा बर्सेनि ८२ वटा घर जल्ने गरेका छन् । सन् २०१० मा एकै वर्ष डढेलो बस्तीमा पुग्दा तीन सय ७६ वटा घर जलेका थिए ।
सन् २०१६ मा नेपालमा सात हजार ७ सय ६७ वटा डढेलोका घटना भएका छन् । यी तथ्यांक हेर्दा नेपाल डढेलोको प्रकोपका आधारमा उच्च जोखिममा रहेको देखिन्छ । अघिल्लो वर्ष डढेलोको घटना कम भएको र लामो खडेरीका कारण यो वर्ष डढेलेको जोखिम अझै धेरै बढेको विज्ञहरु बताउँछन् ।
नेपालमा हुने सबैजसो डढेलो मानवीय कारणबाटै हुने गरेको छ । कतै जानीजानी त कतै लापरबाही गर्दा मान्छेकै कारण जङ्गलमा डढेलो सल्किने गरेको पाइएको डढेलोविज्ञ शर्मा बताउनुहुन्छ । उहाँका अनुसार झण्डै ६५ प्रतिशत डढेलको घटना त मानिसले जानी जानी लगाएको आगोका कारण हुने गरेको छ । जसमा घाँस पलाउने आशामा जङ्गलमा आगो लगाउने र त्यो फैलने गरेको पाइएको छ ।
यस्तै काठ तथा वन्यजन्तु तस्करी लगायतका कारण पनि मानिसले जानीजानी जङ्गलमा डढेलो लगाउने गरेको पाइएको छ । ३२ प्रतिशत घटनाहरु असावधानी अर्थात् दुर्घटनावस हुने गरेको पाइएको छ । लापरबाहीका घटनामा चुरोट सुर्तीका ठूला आगो ननिभाइ फ्याक्नु, बालबालिकाले आगो बाल्नु, जङ्गल छेउमा विभिन्न प्रयोजनका लागि बालेको आगो ननिभाइ हिँड्नु लगायतका रहेका छन् । चार प्रतिशत डढेलोको कारण नै पत्ता लागेको छैन ।
तस्बिरः रासस
नेपालमा हुने डढेलाेको घटना मध्ये ७६ प्रतिशत फागुनको मध्यदेखि जेठको मध्यसम्ममा हुने गरेको पाइन्छ । अझ कुल डढेलोको ५३ प्रतिशत त चैतको मध्यदेखि वैशाखको मध्यसम्ममा हुन्छ । यो समयमा बढी सुख्खा हुने गरेको, हावाहुरी धेरै लाग्ने तथा वैशाख–जेठमा नयाँ पालुवा पलाउने आशामा मानिसले आगो लगाउने जस्ता कारण डढेलोका घटना धेरै हुने गरेका छन् ।
डढेलो निभाउन जाँदा वा अरु कारणले डढेलोमा परेर मानिसको ज्यान जाने तथा डढेलो बस्तीमा पुगेर घर समेत क्षति हुने गरेको छ । यस्तै वनजङ्गल र वन्यजन्तुको क्षति, जडीबुटी मासिने, जमिन सुख्खा हुने, भूक्षयको संभावना, प्रदुषण बढ्ने, हिउँ पग्लिने लगायतका समस्या पनि निम्तने गरेका छन् ।
डढेलोविद् सुन्दर शर्मा भन्नुहुन्छ ‘कतिपयले बस्ती नभएको जङ्गलमा आगो लागेको त हो नि भन्छन् । तर यसको क्षति धेरैतिर हुन्छ । डढेलोबाट निस्किएको धुवाँका कारण हाम्रा हिमालको हिउँ पग्लिन्छ भन्ने कुरा धेरैलाई हेक्का हुन्न, यसले बढाउने प्रदुषण तथा डढेलो लागेको क्षेत्रमा वर्षायाममा हुने भूक्षयको बारेमा ख्याल गरिएको हुन्न । यी पनि जोखिमपूर्ण अवस्था हुन् । जङ्गलसँगै वन्यजन्तु तथा जडीबुटीहरु पनि नष्ट हुन्छन् । डढेलो बस्तीमा पुर्याएर मानिसलाई पुर्याउने मात्रै नभइ जङ्गलमै हुने क्षति पनि धेरै छ ।’
वनमा लाग्ने डढेलोले वनस्पति, वन्यजन्तु र जैविक विविधतामा क्षति गराउनुको साथै वायुमण्डलमा हरितगृह ग्यास बढाउँछ । नेपालमा हरेक वर्ष डढेलोले पुर्याइरहेको क्षतिबारे सरकारी तहबाट अध्ययन भएको छैन । डढेलोका कारण हुने भौतिक क्षतिको सामान्य लेखाजोखा भए पनि जीवजन्तु र वातावरणीय क्षतिको विस्तृत अध्ययन भएको छैन ।
तापक्रम वृद्धि र जलवायु परिवर्तनमा कार्वनडाइअक्साइड ग्यासको मुख्य भूमिका हुन्छ । डढेलोविद् शर्मा पृथ्वीको तापक्रम र माटोमा सुक्खापन वृद्धिमा डढेलो एउटा प्रमुख कारण रहेको बताउनुहुन्छ । चैतदेखि जेठसम्म वनजङ्गलमा लाग्ने डढेलोका कारण भारत, नेपाल, भुटान, बंगलादेश र बर्मासम्मको भू–भागलाई तुवाँलोले छोप्ने गरेको छ । यसको कारण उत्पन्न स्वास्थ्य समस्याको पनि अध्ययन भएको छैन ।
नेपालमा डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि सरकारी तहबाट प्रभावकारी काम भएको छैन । वन विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायतका निकायबाट केही काम भए पनि पर्याप्त छैनन । डढेलोबारे जवाफदेही निकाय नै नभएको प्राधिकरणका उपसचिव समेत रहनुभएका शर्मा बताउनुहुन्छ । डढेलो नियन्त्रणबारे केही जनचेतना अभिवृद्धिका काम भए पनि ती पर्याप्त छैनन् । आफूहरुले कार्यक्रम बनाए पनि अर्थ मन्त्रालयले बजेटको व्यवस्थापन नै नगर्ने गरेको शर्माको गुनासो छ ।
डढेलो लगाउनेलाई दण्डित गर्ने कानुनी व्यवस्था भए पनि कार्यान्वयन प्रभावकारी छैन । वन ऐन, २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को ‘वनमा आगो लगाउन वा आगो लाग्न सक्ने क्रियाकलापहरूलाई अपराधको रूपमा लिएर कैद सजाय र दण्ड जरिवाना गर्ने’ व्यवस्था पनि कागजमै सीमित छ । सामुदायिक वन, सरकारद्वारा व्यवस्थित वन, कबुलियती वन र संरक्षित क्षेत्रको व्यवस्थापनका कार्ययोजनाहरूमा डढेलो व्यवस्थापनको विषयलाई गम्भीरताका साथ लिइएको पाइँदैन । धेरैजसो डढेलोका घटना मानवीय कारण हुने गरेको भनिए पनि कसले डढेलो लगायो भन्ने नै पत्ता लगाइँदैन वा लगाउन सकिँदैन ।
२०६५ सालको चैत २७ गते रामेछापमा डढेलो नियन्त्रण गर्ने क्रममा १३ जना सैनिकको ज्यान गएपछि डढेलोको विषयले संसद्मा प्रवेश पायो । त्यसपछि डढेलो नियन्त्रणका लागि वन मन्त्रालयले वन डढेलो व्यवस्थापन रणनीति–२०६७ ल्यायो । डढेलोबाट हुने जन धन, वन, जैविक विविधता तथा पारिस्थितिकीय प्रणालीको क्षति न्यूनीकरण गर्दै उचित व्यवस्थापनबाट वनको उत्पादकत्वमा टेवा पुर्याउनु रणनीतिको लक्ष्य रहेको उल्लेख छ । यस्तै रणनीतिमा डढेलो निरोधात्मक र नियन्त्रण शीर्षकमा वन जोगाउन विभिन्न उपाय अवलम्बन गर्ने, वन क्षेत्रका संरचनाहरूमा दक्ष जनशक्तिको व्यवस्था गर्ने, डढेलो प्रकोप बढी हुने क्षेत्रमा निश्चित अवधिका लागि सरकारले डढेलो संकट अवधि घोषणा गरी राज्यका सबै अंगलाई तयार रहन तथा नियन्त्रणमा लाग्न आदेश जारी गर्ने व्यवस्था मिलाउने लगायत उल्लेख भए पनि काम हुन सकेको छैन ।
जानीजानी डढेलो लगाउने काम रोक्न, लापारबाही घटाउन र डढेलोलाई सुरुमै नियन्त्रण गर्न पालिकाको भूमिका सबैभन्दा धेरै प्रभावकारी हुने विज्ञहरु बताउँछन् । धेरैजसो डढेलो मानवीय कारण हुने गरेकोले त्यसलाई रोक्न र डढेलो लागिहालेमा सुरुमै निभाउन तयारी गर्नुपर्ने डढेलोविज्ञ सुन्दर शर्मा बताउनुहुन्छ । यसका लागि डढेलो, यसबाट हुने क्षति र जोखिम क मगर्ने उपयाहरुबारे स्थानीयलाई जानकारी गराउनुपर्छ ।
डढेलो नियन्त्रणका लागि संघीय सरकारले आवश्यक नीति तथा बजेटको व्यवस्थापन गर्नुपर्छ । तर त्योभन्दा मुख्य भूमिका पालिकाको हुन्छ । पालिकाहरुलाई आफ्नो क्षेत्रको जङ्गलमा रहेको जोखिम, त्यो जङ्गलमा डढेलो लागेमा फैलन सक्ने क्षेत्र, सम्भावित जोखिमको बस्ती लगायतबारे थाहा हुन्छ ।
यस्तै पालिकाहरुले जङ्गलमा डढेलो लगाउने व्यक्तिको पहिचान गर्न सक्छन् । डढेलो लाग्नासाथ थाहा हुन सक्छ त्यसैले आफ्नो स्रोत परिचालन गरी चाँडो नियन्त्रण गर्न सक्छन् । पालिकाले संभावित जोखिम क्षेत्रमा आवश्यक सामग्री तयारी अवस्थामा राख्नुको साथै त्यहाँका मानिसलाई आगो निभाउने सामान्य तालिम पनि दिन सक्छन् ।
डढेलको धेरै कारण मानवीय हुने भएकोले डढेलो शुरु हुनै नदिनको लागि पनि पालिकाहरुले चेतान अभिवृद्धि सहितका काम गर्न सक्छन् । जङ्गलमा डढेलो फैलिसकेपछि निभाउन मुश्किल पर्छ त्यसैले डढेलो सुरु हुनै नदिन वा शुरु भएमा पनि फैलन नदिका लागि अबको झण्डै चार महिना पालिकाहरु सचेत र तयारी अवस्थामा रहनुपर्ने हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।