अर्थतन्त्रमा देखिएको सङ्कटप्रति सरकार सचेत छ : प्रधानमन्त्री प्रचण्ड

 फागुन १, २०७९ सोमबार १८:२१:१३ | रासस
unn.prixa.net

कैलाली – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएको सङ्कटप्रति सरकार सचेत रहेको बताउनुभएको छ । आज सोमवारदेखि महेन्द्रनगरमा सुरु भएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्र सुधारका लागि आफू प्रधानमन्त्री भएपछि विशेष ध्यान दिएको बताउनुभयो ।

आफूले मन्त्रिपरिषद्को पहिलो बैठकमै सार्वजनिक तथा निजी क्षेत्रसितको सहकार्यलाई प्रभावकारी तुल्याउने निर्णय गरे बमोजिम देशको अर्थतन्त्र अग्रसर रहेको उहाँले उल्लेख गर्नुभयो । ‘अर्थतन्त्रमा देखिएका समस्या हल गर्दै निजी क्षेत्रलाई सहजरूपमा लगानी तथा उद्योग, व्यापारको वातावरण बनाउनेतर्फ अगाडि बढेका छौँ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘अर्थतन्त्रमा सुधारका राम्रा सङ्केत देखिएका छन् ।’

उहाँले राजस्व सङ्कलन वृद्धि भएको, विदेशी मुद्रा सञ्चिति वृद्धि भएको बताउँदै यी सबै सकरात्मक सङ्केतका रूपमा लिएको धारणा राख्नुभयो । ‘समग्रमा अर्थतन्त्रको सङ्कट टरेको छैन’, उहाँले भन्नुभयो, ‘अझै पनि नीतिगत र योजनागत क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यकता छ र  सरकार त्यही दिशातर्फ अग्रसर पनि छ ।’ 

त्यसैगरी प्रधानमन्त्रीले कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह भारतीय पक्षको प्रतिबद्धतापछि समझदारीपत्रमा हस्ताक्षर भएको र निर्माण प्रक्रिया अघि बढेको बताउनुभयो । ‘सुक्खा बन्दरगाहको वातावरण प्रभाव मूल्याङ्कनको काम भई स्वीकृतीको चरणमा हुनुका साथै भारतसित एमओयु हस्ताक्षरण गर्ने प्रक्रिया अघि बढेको छ’, उहाँले भन्नुभयो, ‘निकट भविष्यमा कानुनी र प्रक्रिया सम्पन्न गरेर बन्दरगाह निर्माण द्रुत गतिमा हुनेछ ।’ उहाँले यो विषय आफ्नो आसन्न भारत भ्रमणमा उच्च प्राथमिकताका साथ उल्लेख गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले बन्दरगाहको निर्माणमा नेपाल र भारतबीच द्विपक्षीय व्यापार तथा आफूले परिकल्पना गरेको त्रिदेशीय रणनीतिक साझोदारीमार्फत नेपालले लाभ लिने विषयमा समेत निर्णायक महत्त्व राख्ने विश्वास लिएको बताउनुभयो । ‘सुदूर विकास आयोगको गठनदेखि विश्वविद्यालयसम्म घोषणासम्मको अवसर प्राप्त गरेँ’, उहाँले भन्नुभयो, ‘गेटा मेडिकल कलेजलाई पहिलो पटक बजेट विनियोजन गर्ने अवसर पाएँ, अहिले सम्पन्न हुन सक्ने अवस्था आइसकेको छ ।’ उहाँले सुक्खा बन्दरगाह निर्माणसँगै उत्तर चीनसित जोड्ने ढोकासमेत महाकाली करिडोरलाई अगाडि बढाइने बताउनुभयो ।

प्रधानमन्त्रीले यथास्थितीमा रुमलिने प्रवृत्तिको अन्त्य गर्नु आजको देशको आवश्यकता भएको बताउनुभयो । ‘नागरिकमा देखिएको निराशालाई आशामा बदल्दै दृढ सङ्कल्प र नेतृत्व विकासको आवश्यकता छ’, उहाँले भन्नुभयो, ‘नौ वटै जिल्लामा सञ्चालनमा रहेका आयोजना र सम्भाव्य आयोजनाका लागि बजेटमा कुनै कन्जुसाँइ हुने छैन ।’

प्रधानमन्त्री प्रचण्डले महोत्सव उद्घाटनअघि सुक्खा बन्दरगाह निर्माणस्थल र महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल योजनाको निरीक्षणसमेत गर्नुभएको थियो । प्रधानमन्त्रीसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी, पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, सृुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायत निरीक्षणमा सहभागी हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया