हाम्राे साेचमा नेपालीपन ल्याउन जरुरी छ : प्रधानमन्त्री प्रचण्ड

‘५० वर्ष पहिले खाद्यान्न निर्यात गर्ने देश अहिले किन परनिर्भर हुनुपर्ने अवस्था आयाे ?’

 फागुन २, २०७९ मंगलबार १८:१९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषिमा आधारित उद्योग नै नेपालका लागि दिगो हुने बताउनुभएको छ । 

मङ्गलवार नेपाल घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको १६ औँ अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अन्य उद्योगभन्दा पनि कृषिमा आधारित उद्योगको विस्तारले नै अर्थतन्त्रका लागि दिगो हुने धारणा राख्नुभयो । उहाँले मौलिक संस्कृति, परम्पराअनुसार घरेलु उत्पादनलाई प्रवर्धन र विकसित गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालको मौलिक तरिकाबाट कृषि उत्पादनमा वृद्धि गरी कृषिमा आधारित उद्योगको विस्तार र रोजगारी सिर्जना गर्नेमा उच्च प्राथमिकता नदिई नेपाललाई आत्मनिर्भर अर्थतन्त्रसहितको सामाजिक न्याय र समाजवादउन्मुख राज्यको परिकल्पना पूरा नहुने दाबी गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले नेपालीको सोचमा नेपालीपन ल्याउन जरुरी रहेको बताउनुभयो । उहाँले नेपालले ५० वर्ष पहिले खाद्यान्न आयात नभएर निर्यात गर्ने गरेको भन्दै अहिले किन परनिर्भर हुनुपर्ने अवस्था आयो त्यसको खोजी गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले राज्यका कतिपय नीतिगत वैधानिक कारण र ऐनले घरेलु उत्पादनलाई प्रवर्धन गरी आत्मनिर्भर बनाउन नसकिएको स्वीकार गर्नुभयो ।  

उहाँले भन्नुभयो, ‘पहिलो कुरा हाम्रो सोचमा नेपालीपन बनाउन जरुरी छ । नेपालले ५० वर्ष पहिले खाद्यान्न आयात नभएर निर्यात गर्ने गरेकाे थियाे, विदेशी रकम भित्र्याउने गरेकाे थियाे तर अहिले धेरै वर्षको अध्ययन अनुसन्धान र मेहनत गरी आधुनिकताका कुरा गरेर किन परनिर्भर भएर गयौँ ? त्यसको खोजी गर्नुछ । कृषिमा आधारित उद्योगहरू नै नेपालका लागि दिगाे उद्योग हुनसक्छ । लघु, घरेलु तथा साना उद्योगभन्दा पनि कृषिमा आधारित उद्योग नै हो । वर्तमान सरकारलाई असफल हुने छुट छैन । राष्ट्र र नागरिककाे पक्षमा तथा अर्थतन्त्रमा देखापरेका सङ्कटलाई समाधान गर्ने, सुशासनको पक्षमा र समृद्धिको नयाँ अभियानमा हामी सफल हुनुपर्छ ।’

प्रधानमन्त्री प्रचण्डले तत्कालका लागि देशमा वित्तीय सङ्कट देखिएको बताउनुभयो । उहाँले बैंकको ब्याजदरमा भएको वृद्धिको कारणले देखापरेका समस्या समाधानका लागि अर्थ मन्त्री र राष्ट्र बैंकका गभर्नरसँग बैठक राखेर तत्काल व्यवासायीहरूलाई राहतका निम्ति कोसिस गरिहेको बताउनुभयो । महामारीको कारणले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले समस्या सिर्जना गरेको लघु, घरेलु अथवा साना उद्योगमा थप लगानी गर्ने पुँजीको अभावलाई सरकारले समाधान गर्न विशेष पहल गरेको उहाँकाे भनाइ छ । 

प्रधानमन्त्री प्रचण्डले सरकारका केही नीतिगत, सोच, व्यावहारिक र संस्कारका कारणले अहिलेको स्थितिबाट गुज्रिएको बताउनुभयो । उहाँले नेपाल आत्मनिर्भर हुने आफ्नै स्रोत र साधनको अधिकतम प्रयोग गरी आत्मनिर्भर अर्थतन्त्र बनाउने सोचमा त्रुटि रहेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया