पूर्वप्रधानमन्त्रीहरूले राष्ट्रपति बन्ने आकाङ्क्षा राख्नु हुँदैन : विश्वप्रकाश शर्मा

 फागुन १०, २०७९ बुधबार १७:३७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने बताउनुभएको छ ।

आज बुधवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले देशको प्रधानमन्त्री भएर कार्यकारी अधिकार प्रयोग गरिसकेका व्यक्तिहरूलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा अघि सार्नु उचित नहुने बताउनुभयो । उहाँले पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपति बन्ने आकाङ्क्षा नराख्न पनि अनुरोध गर्नुभयो । महामन्त्री शर्माले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने धारणा राख्नुभयो । 

उहाँले भन्नुभयो, ‘मैले शेरबहादुर देउवालाई राष्ट्रपति बनाऔँ भनेको हो । देशको प्रधानमन्त्री भइसकेर, कार्यकारी अधिकारलाई प्रयोग गरिसकेका कुनै पनि पूर्वप्रधानमन्त्रीहरूले राष्ट्रपति बन्ने आकाङ्क्षातर्फ जानु, उहाँहरूलाई अगाडि सार्नु त्यति उचित नहोला भन्ने साथीभाइहरूको भावनासँग म एकदम सहमत छु । त्यस कारण पूर्वप्रधानमन्त्रीहरूसमेतको सहभागिता र समर्थनमा रामचन्द्र पौडेल वा अन्य नेताहरूलाई अगाडि सारेर जानु बढी उचित हुन्छ ।’

महामन्त्री शर्माले प्रधानमन्त्री पदलाई सुनको बालासँग तुलना गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैलाई सुनको बाला देखाएको टिप्पणी गर्नुभयाे । ओलीले माधवकुमार नेपाल, झलनाथ खनाल र महन्थ ठाकुरलाई प्रधानमन्त्रीको पद देखाएर अलमल्याउन खोजेको उहाँले आराेप लगाउनुभयाे । राष्ट्रपति चुनावकाे सन्दर्भमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एकठाउँमा आउनुपर्ने उहाँले बताउनुभयाे । 

उहाँले भन्नुभयो, ‘सुनको बाला देखाउने भनेर कमरेड केपी ओलीले कांग्रेसलाई भन्नुहुन्थ्यो । सुनको बाला निकै वटा छ कि क्या हो तपाईँको बालकोटमा । कहिले उहाँ माधव कमरेडलाई देखाउनुहुन्छ । कहिले झलनाथ कमरेडलाई देखाउनुहुन्छ । कहिले महन्थ कमरेडलाई देखाउनुहुन्छ । उहाँको सुनको बालाको कुरामा अलमलिनु हुँदैन ।’

महामन्त्री शर्माले पुरानो गठबन्धन ब्युँतिदा जनमतको कदर हुने जिकिर पनि गर्नुभयाे । संसद्को दोस्रो ठूलो दलले सभामुख र तेस्रो ठूलो दलले प्रधानमन्त्रीको पद लिएको अवस्थामा संसद्को पहिलो दल हुनुका नाताले कांग्रेसले राष्ट्रपतिको पद पाउनुपर्ने उहाँकाे भनाइ थियाे ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया