पृथ्वीनारायण शाहका दिव्योपदेशहरू राष्ट्र निर्माणका लागि मार्गदर्...
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकारको सातौँ वार्षिक प्रतिवेदन पेस गर्नुभएकाे छ ।
आइतवार राष्ट्रपति निवास शीतल निवासमा पुगेर प्रधानमन्त्री प्रचण्डले सरकारले आर्थिक वर्ष २०७८/०७९ मा गरेका काम कारबाही समेटिएको प्रतिवेदन पेस गर्नुभएको हो । याे वार्षिक प्रतिवेदन फागुन १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको थियो ।
प्रधानमन्त्रीले आर्थिक वर्ष २०७८/०७९ मा सङ्घीय शासन प्रणालीलाई सुदृढ गरी सुशासनलाई राज्यका सबै तहमा संस्थागत गर्न, विकास निर्माणलाई गति दिन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न विभिन्न प्रयास भएको बताउनुभयो । सङ्घीयतालाई सुव्यवस्थित बनाउन गएको चुनाव सफल बनाएको र गृह प्रशासन सक्षम र सबल बनाएको उहाँले बताउनुभयो । प्रतिवेदनमा फोहरमैला व्यवस्थापन राष्ट्रिय नीति २०७९ स्वीकृत भएको उल्लेख गरिएको छ ।
त्यस्तै प्रधानमन्त्रीले राष्ट्रपति भण्डारीलाई पढेर सुनाउनुभएको प्रतिवेदनमा सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउन मापदण्ड स्वीकृत भएको बताउनुभयो । वित्तीय प्रणाली सुधारका सम्बन्धमा सरकारी भुक्तानी प्रणालीमा विद्युतीय प्रणाली लागू गरिएको उहाँले बताउनुभयो । २३ जिल्लाका दुई लाख २३ हजार तीन सय ३० गरिब परिवार पहिचान गरी परिचयपत्र वितरण सुरु भएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले यस वर्ष ठूला, मझौला, घरेलु तथा साना गरी तीन सय नाै वटा उद्योग दर्ता भएको र विदेशी लगानीका दुई सय ९५ वटा परियोजनामार्फत ५४ अर्ब १५ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव स्वीकृत गरिएको बताउनुभयो । उहाँले यी परियोजना प्रस्तावबाट १६ हजार नाै सय पाँच जनालाई रोजगारी सिर्जना हुने आँकलन गरिएको पनि बताउनुभयो ।
आर्थिक वर्ष २०७९/०८० देखि कार्यान्वयन हुने गरी १० वर्ष विद्यालय शिक्षा क्षेत्र योजना तयार भएको र देशको साक्षरता दर ७८ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ । प्रधानमन्त्रीले सरकार नागरिकको विकास र सुशासनको उच्च अभिष्ट पूरा गर्न आउँदा दिनमा प्रतिबद्ध भएर काम गर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।