डोल्पामा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

 वैशाख १५, २०८० शुक्रबार १३:११:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कर्णाली प्रदेशको डोल्पा जिल्ला विद्युतकाे राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड) मा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा रहेकाे मुसिकोट सबस्टेशनबाट त्यही जिल्लाको आठबीसकोट नगरपालिकाको गोतामकोट हुँदै डोल्पा सदरमुकाम दुनैसम्म ११ केभी प्रसारण लाइन निर्माण सम्पन्न गरी विद्युत् पुर्‍याइएकाे छ ।

प्राधिकरणले त्यस प्रसारण लाइनको परीक्षण सम्पन्न गरी बिहीवारदेखि सञ्चालनमा ल्याई सदरमुकाम दुनैलगायतका क्षेत्रमा विद्युत् आपूर्ति दिन सुरु गरेको छ । योसँगै कर्णाली प्रदेशका १० जिल्लामध्ये आठ जिल्ला राष्ट्रिय ग्रिडमा जोडिएका छन् । अब हुम्ला र मुगुमा ग्रिडको विद्युत् पुग्न बाँकी छ । मुगुमा आउँदाे असारभित्रमा ग्रिडमा जोड्ने गरी प्रसारण लाइन निर्माण भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशमा पर्ने जिल्लाहरूको विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको बताउनुभयो । ‘डोल्पामा राष्ट्रिय ग्रिड पुगेको छ, मुगुमा असारभित्रमा पुग्ने छ, हुम्लाका लागि टेन्डरको प्रक्रिया पूरा गरी निर्माण व्यवसायी छनाेट भइसकेको छ, अब छिट्टै काम सुरु हुने छ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘डोल्पा सदरमुकाम र त्यस आसपासका क्षेत्रमा लघु जलविद्युत् आयोजनामार्फत विद्युत् आपूर्ति हुँदै आएकोमा अब राष्ट्रिय ग्रिडमार्फत हुनेछ, साथै जिल्लाभरि विद्युत सेवा विस्तार गरी विद्युतीकरणका लागि काम भइरहेको छ ।’

प्राधिकरणले डोल्पाको ठूलीभेरी नगरपालिकामा पर्ने जिल्ला सदरमुकाम दुनै र त्रिपुरासुन्दरी नगरपालिकाका क्षेत्रहरूमा २०० किलोवाट जडित क्षमताको जैरीगाड साना जलविद्युत् गृहमार्फत विद्युत् आपूर्ति दिइरहेको छ । डोल्पामा प्राधिकरणका झन्डै १ हजार ७ सय ग्राहक छन् । डोल्पाका अन्य क्षेत्रमा लघु जलविद्युत र सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति भइरहेको छ ।

प्राधिकरणले एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) र युरोपेली लगानी बैंक (ईआईबी) बाट झन्डै २२ करोड अमेरिकी डलर (झन्डै २८ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा विद्युतीकरण गरिरहेको छ । सरकारको लगानी र प्राधिकरणले आफूले कमाएको नाफाबाट केही अंश छुट्याएर यस क्षेत्रमा विद्युतको पहुँच विस्तारमा खर्च भइरहेको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

डोल्पाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन जाजरकोटको भेरी नगरपालिकास्थित कुदु सबस्टेशनबाट त्यही जिल्लाको नलगाड नगरपालिकाको चौखाबजार हुँदै डोल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र त्रिपुराकोटसम्म ३३ केभी प्रसारण लाइन निर्माणाधीन छ । ठेकेदारले काम नगरेपछि ठेक्का रद्द गरी अहिले नयाँ ठेक्का सम्झौता गरी लाइन निर्माण भइरहेको प्राधिकरण कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुसियत यादवले बताउनुभयो । चौखा र त्रिपुराकोटमा ३३/११ केभीका सबस्टेशनहरू निर्माण हुनेछन् । लाइन र सबस्टेशन निर्माण झन्डै डेढ वर्षभित्रमा सम्पन्न हुने प्रमुख यादवले उल्लेख गर्नुभयो ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया