पृथ्वी राजमार्ग खुलाउन ढिलाइ, बिहान १०/११ बजेसम्ममा एकतर्फी भए पनि खुलाउने प्रयास

 वैशाख १९, २०८० मंगलबार ९:३३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सडक भासिएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलाउन ढिलाइ भएको छ । १७ घण्टादेखि राजमार्ग ठप्प छ ।  हिजो  दिउँसो ४ बजे धादिङको धार्केमा गणेश खोला पुल नजिकै सडक भासिए पछि पृथ्वी राजमार्ग ठप्प भएको हो ।

भासिएको भागमा पर्खाल लगाउने र भ्वाङ परेको ठाउँमा माटोले पुर्नेलगायतको काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । अघि बिहान ८,९ बजेसम्म सडक खुलाउने प्रयास गरिए पनि निर्माण सामग्री अन्य क्षेत्रबाट ल्याउनु पर्नेसँगै साँघुरो ठाउँका कारण ढिलाइ भएको उहाँले बताउनुभयो ।  

सडक मर्मतका लागि हिजैदेखि नेपाली सेना खटिएको छ । सेना र  सडक विभागका कर्मचारीले रातभर झण्डै १० फिट तलबाट ग्याबियन वायर लगाइ माटो ढुङ्गाले भर्ने काम गरिरहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

अवरुद्ध सडक खुलाउन बिहानदेखि सेनाको थप फौज परिचालन गरिएको पनि उहाँले जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार सडक बिहान १०–११ बजेसम्म एकतर्फी मात्रै भए पनि खुलाउने गरी प्रयास भइरहेको छ ।

हिजो दिउँसोदेखि नै सडक ठप्प हुँदा यात्रुको भने बिचल्ली भएको छ । १७ घण्टादेखि यात्रु अलपत्र परेका छन् । आज सडक खुले पनि दिनभरजसो नै यो क्षेत्रमा चाप पर्ने सम्भावना छ । सडकको दुईतर्फी नै गाडीको लामो लाइन लागेकाले लामो जाम छ ।

काठमाण्डौबाट रातको समयमा छुट्ने मालवाहक गाडीको लाइन कलङ्कीसम्म नै छ ।

पृथ्वी राजमार्ग भएर ६८ जिल्लाबाट दैनिक हजारौँ सङ्ख्यामा गाडी र यात्रु आवतजावत गर्छन् । सडक  भासिएपछि प्रहरीले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । पूर्व पश्चिमबाट काठमाण्डौ भित्रने र काठमाण्डौबाट बाहिरिने साना ठूला गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको हो ।

हेटौँडा काठमाण्डाै र काठमाण्डाै नुवाकोट गल्छीको बाटोलाई वैकल्पिक बाटोका रुपमा लिन सकिन्छ । प्रहरीका अनुसार धादिङ, नुवाकोट र रसुवाबाट काठमाण्डौ भित्रने र बाहिरिनेले नुवाकोटको त्रिशूलीबाट छहरे–ढिकुरेको सडक प्रयोग गर्न सक्नेछन् ।

यस्तै, पूर्व पश्चिमबाट काठमाण्डौ आउजाउ गर्नेले हेटौँडा हुँदै दामन–पालुङबाट नौबिसे निस्कने बाटो प्रयोग गर्न सक्नेछन् ।  

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया