गाजामा ५ करोड टनभन्दा बढी भग्नावशेष हटाउन ५ वर्षसम्म लाग्न सक्ने

 माघ ११, २०८१ शुक्रबार १५:१४:१ | एजेन्सी
unn.prixa.net

तस्वीर : राेयटर्स

गाजामा रहेको भग्नावशेष हटाउन ५ वर्षसम्म लाग्न सक्ने प्यालेस्टिनी अधिकारीले बताएका छन् । पर्याप्त रकम र उपकरण उपलब्ध भएमा इजरायलसँगको द्वन्द्वका क्रममा गाजामा रहेको भग्नावशेष हटाउन ३ देखि ५ वर्ष लाग्न सक्ने प्यालेस्टिनी सार्वजनिक संरचना निर्माण तथा आवास मन्त्री अहेद बिसिसोलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

प्यालेस्टिनी समाचार संस्था वाफासँगको कुराकानीमा मन्त्री बिसिसोले विस्फोटक पदार्थ पत्ता लगाउनका लागि स्रोत, कोष र विशेष उपकरणहरू सुरक्षित गर्न तथा भग्नावशेष उठाउन, सामान छुट्टाउन र ढुवानी गर्न ३ देखि ५ वर्ष लाग्न सक्ने अनुमान गरेको बताउनुभयो ।

उहाँले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) लगायत विभिन्न संस्थासँग सडक खुलाउने र भग्नावशेष हटाउने प्रक्रियामा समन्वयका लागि मन्त्रालयले काम गरिरहेको उल्लेख गर्नुभयो । अर्काे चरणमा विद्यालय, अस्पताल र मस्जिदसहित १ सय ५० वटा सार्वजनिक भवनको भग्नावशेष हटाउने र सडक पुनः सञ्चालन गर्ने विषयमा केन्द्रित हुने उहाँको भनाइ छ ।

प्रारम्भिक जानकारीअनुसार इजरायली आक्रमणका कारण झन्डै ४ लाख आवासीय इकाइहरू पूर्ण वा आंशिक रूपमा नष्ट भएका छन् । दाताहरूको समन्वयमा दुई लाख नयाँ इकाइहरूको निर्माण गर्नुपर्ने आवश्यकता देखिएको प्यालेस्टिनी सार्वजनिक संरचना निर्माण तथा आवास मन्त्री अहेद बिसिसोले बताउनुभयो ।

संयुक्त राष्ट्रसंघको अनुमानअनुसार २० लाखभन्दा बढी जनसंख्या रहेको गाजामा ५ करोड टनभन्दा बढी भग्नावशेष हटाउन आवश्यक छ र यसका लागि झन्डै १ अर्ब २० करोड अमेरिकी डलर लाग्नेछ ।

गाजामा रहेको प्यालेस्टिनी सरकारी सञ्चारमाध्यम वाफाको कार्यालयले युद्धविरामपछिको आफ्नो पहिलो मूल्यांकनमा गाजा पट्टीको ८८ प्रतिशत क्षेत्रमा क्षति पुगेको र प्रारम्भिक क्षति ३८ अर्ब डलरभन्दा बढी भएको अनुमान गरेको छ ।

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया