पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि अनिवार्य गरिएको पूर्व प्रस्थान अभिमुखीकरण तालिम प्रभावकारी भएन भन्ने आवाजहरू बेलाबखतमा जोडतोडले उठ्ने गरेको छ ।
यो तालिम प्रभावकारी नहुनुमा तालिम सञ्चालन गर्ने व्यवसायीहरू नै दोषी भएको आरोप र लाञ्छना पनि हामीले खेपिरहेका छौँ । तालिम प्रदायक व्यवसायीको हिसाबले हाम्रो पनि केही कमी कमजोरी त होलान् । तर जसरी अहिले हामीलाई नै दोषी करार गरिएको छ त्यति मात्र पनि होइन ।
एउटा व्यवस्थापकको हिसाबले वैदेशिक रोजगारीमा जानेहरूलाई प्रदान गर्ने यो तालिमलाई प्रभावकारी बनाउन राज्यले जसरी व्यवस्थापन गर्नु पर्ने हो त्यो गर्न सकेन । सही तरिकाले यसको व्यवस्थापन गर्नमा सरकार चुकेको हो ।
पूर्व प्रस्थान अभिमुखीकरण तालिम भनिएको छ हामी व्यवसायीले त एउटा श्रमिक विदेश उड्न घरबाट माला लगाएर हिँडेकालाई पढाइरहेका छौँ । जबकि अभिमुखीकरण तालिम लिन आउने बेलामा वैदेशिक रोजगारीको प्रक्रिया अधिकांश सकिइसकेको हुन्छ । मात्र विदेश उड्न बाँकी हुन्छ ।
त्यस्तो बेलामा सरकारले तय गरेको पाठ्यक्रम अनुसार कतिपय कुरा पढाउन बाँकी नै हुँदैन । ठगीबाट बच्न यसो गर्नुहोस् भनेर हामीले पढाउनुअघि नै त्यो मानिस ठगीमा परिसकेको पनि हुन सक्छ ।
तालिम सञ्चालन व्यवसायीहरूले लामो समयदेखि सात सय रुपैयाँमा यो तालिम सञ्चालन गर्दै आइरहेका छौँ । तर पनि यो तालिम लिन पर्छ भन्ने सचेतना श्रमिक स्वयंमा पनि छैन ।
अभिमुखीकरण तालिम लिन आएकाहरूलाई पढायो या पढाएन, तालिम प्रदायसँग जनशक्ति छ कि छैन, कार्यविधिले तोके अनुसारको पूर्वाधार छ कि छैन भन्ने कुरा विभाग, मन्त्रालय वा बोर्डले मज्जाले अनुगमन गर्न सक्छन् । तर यहाँ किन प्रभावकारी अनुगमन हुँदैन ।
बेलाबखतमा हुने अनुगमन पनि बिना स्वार्थको हुन आवश्यक छ । व्यवसाय सञ्चालन गरिरहेकाहरूले गर्नु पर्ने के हो र के चाहिँ भएका छैन भनेर अनुगमन गर्नेले कार्यविधि पढेर आउनुहोस् भन्न चाहन्छु । पूर्व प्रस्थान अभिमुखीकरण तालिम सञ्चालन कार्यविधिमा पनि निकै कुराहरू संशोधन आवश्यक छ । पहिला त त्यो संशोधन होस् भन्न चाहन्छु ।
जुन हामीले पटक पटक आवाज उठाउँदा पनि भएको छैन । अहिले एक हिसाबले भन्दा त पूर्व प्रस्थान अभिमुखीकरण तालिम प्रदायकहरूलाई राज्यले बेवास्ता गरेको अवस्था छ । हामीलाई राज्यले बेवास्ता गर्दा तालिम नै अस्तव्यस्त भएको छ र यसको मर्कामा वैदेशिक रोजगारीमा जाने श्रमिकहरू परिरहेका छन् ।
पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिन आउनेहरूलाई नपढाउने भन्ने हुँदैन । पढाउँदै नपढाई बायोमेट्रिक हाजिरी गराउने भन्ने पनि हुँदैन । अहिलेको समस्या भनेको त पढ्न नै नआउने हो । आएका श्रमिकलाई हामीले पढाएको छ । हामीसँग जनशक्ति छ, पूर्वाधार छ । कक्षा सञ्चालन गर्न हामीलाई कुनै समस्या छैन ।
अहिले पनि श्रमिकले म कक्षामा गएँ मलाई पढाएन भन्ने तथ्य कहीँ पनि छैन । त्यो मानिस कक्षामै गएन भने फरक कुरा हो नत्र पढ्न गएको मानिसले मलाई यो पढाएन, सिकाउँदै सिकाएन भनेर चाहिँ भनेको सुनिएको छैन । यहाँ त कयौँ श्रमिकहरू तालिम केन्द्रसम्म पुगेकै छैनन् । कुरा उनीहरूको हो जसले मिलाएका छन् । नपढाउँदा, नपढ्दा पनि हुने गरी कुराहरू मिलेको छ उनीहरूले भन्ने फरक कुरा हो ।
यदि कक्षामा आउनेलाई पढाएको छैन, तालिम प्रदायकसँग तोकिए अनुसार पूर्वाधार छैन र जनशक्ति पनि छैन भने उसलाई बचाएर राख्नु पर्ने आवश्यकता के छ र । विभागले त्यस्ता संस्थालाई कारबाही गरी अनुमति रद्द गर्न सक्छ । तर त्यसो गर्दैन भने त्यहाँ अरू पनि कारण छ र त्यो अरू कारण चाहिँ विभागसँग हुनु भएन भन्ने हाम्रो माग हो ।
जहाँसम्म लाञ्छनाको विषय छ वैदेशिक रोजगारी जोडिनासाथ यो खराब होला । यसले ठगी नै गरेको होला भन्ने र हेर्ने दृष्टिकोण नै फरक छ हाम्रो समाजमा । चाहे त्यो म्यानपावर कम्पनी होस् या हामीजस्तो सूचना तथा परामर्श दिने निकाय होस् । यिनीहरूले त ठग्छन् नै भन्ने आम जनमानसमा पनि रहेछ ।
तर समस्या के हो भने हामी गाउँघरमा गएर तपाईँले अभिमुखीकरण तालिम चाहिँ लिएर जानुपर्छ है भन्दै हिँड्ने अवस्था छैन । हामी भनेको श्रमिकले भिसा पाइसकेपछि म्यानपावरले गएर पढ भन्छ, उनीहरूलाई पठाउँछ र पढाउने अवस्थामा छौँ ।
त्यो पनि मेरो मै या उसकोमा भन्ने हुँदैन । म्यानपावरले आफूलाई जुनकोमा मन लाग्यो त्यसकोमा अभिमुखीकरण तालिम पढ्न पठाउँछ । यसको अर्थ के हो भने त्यहाँ श्रमिकसँग सँगै एजेण्ट पनि हुन्छ । यही कारणले गर्दा सबै अभिमुखीकरण तालिम व्यवसायीहरू बदनाम भएको स्थिति हो ।
हामी व्यवसायीहरू पनि विभिन्न खालका छौँ । एउटा भनेको वैदेशिक रोजगारीमा विभिन्न दुःख र हण्डर खेपेपछि अरुले यस्तो दुःख नपाउन भने सूचना दिने उद्देश्यले नै यो व्यवसाय गर्नेहरू छन् । जो पढेलेखेका पनि छन् र उनीहरूको नियम पनि सही छ ।
अर्को भनेको म्यानपावर कम्पनीमा काम गर्दा गर्दै, वा म्यानपावर कम्पनी छाडेर वा म्यानपावर कम्पनीले आफ्नो साला भतिजाहरूलाई ल गरिखा भनेर खोलिदिएको संस्था पनि छ । उनीहरू म्यानपावरको गेटमा बस्छन् र तालिम सञ्चालन गरेँ भन्छन् ।
अर्को भनेको कतिपय यो व्यवसाय गर्ने एजेण्टहरु नै हुनुहुन्छ । उहाँहरू अन्त यो भने सूचना लिक हुन्छ भन्ने डरमा आफैँ पढाउनुहुन्छ अब के के कसरी पढाउनुहुन्छ यो थप भनिरहन पर्दैन । त्यसैले समग्रमा सबै व्यवसायीलाई एउटै डालोमा राखेर हेर्न मिल्दैन । सबै अभिमुखीकरण तालिम व्यवसायीले नराम्रो गरेका छैनन् । नपढाएका हैनन् । आइदिनुहोस् मेरोमा म पढाउँछु भनेर बस्नेहरू पनि हुनुहुन्छ ।
तर यहाँ त फेल भएको सिस्टम हो । सिस्टम फेल भएपछि यसको दोष सबै व्यवसायीले लिन परेको छ र अनेक लाञ्छना र आरोप सहन परेको छ । त्यसैले प्रभावकारी अनुगमन होस् । स्वार्थ नराखी अनुगमन गरियोस् ।
पछिल्लो समय वैदेशिक रोजगार विभागले केही नयाँ कुराहरू गर्न खोजेको छ । हामीले विद्युतीय हाजिरी खासै राख्ने गरेका थिएनौँ । यो गलत गर्ने उद्देश्यले भन्दा पनि डिभाइस भरिने समस्याले जुन बेला पनि डिलिट गरिने चलन थियो ।
पछिल्लो समय विभागले यो रेकर्ड राख्न भनेको छ भने क्लस्टर अनुसार कक्षा सञ्चालन गर्न पनि भनेको छ । यो कुरा महासङ्घले पनि माग गर्दै आएको हो । यसलाई हामी स्वागत गर्छौँ ।
अर्को कुरा अब विभागको अनलाइन सिस्टम फेमिसबाट नै तालिम प्रदायकहरूको अनुगमन गर्न सकिने व्यवस्था हुने कुरा आइरहेको छ त्यो पनि प्रभावकारी रूपमा कार्यान्वयन होस् । यदि कसैले पढाउँदैन, पूर्वाधार छैन भने त्यसलाई जोगाइराख्न आवश्यक छैन । विभाग, मन्त्रालय र बोर्डले सिस्टमबाटै अनुगमन गरी कारबाही गरोस् ।
तर पछिल्लो समय अभिमुखीकरण तालिम प्रभावकारी नहुनुमा अरू कुराहरू पनि छन् ।
सरकारले नागरिकलाई दोस्रो दर्जाको व्यवहार गर्यो भनेर विमानस्थलमा भएको श्रम डेस्कलाई हटाइयो । एक हिसाबले वैदेशिक रोजगारीमा जाने नागरिकले दोस्रो दर्जाको महसुस गर्न परेन त्यो त राम्रो नै भयो । तर एकाएक श्रम डेस्क हटाउँदा त्यसको असर के पर्छ भनेर हेरिएन ।
मेरो बिचारमा श्रम डेस्क भनेको नागरिकलाई दोस्रो तेस्रो दर्जा दिने भन्दा वैदेशिक रोजगारीमा हिँडेको कोही पनि श्रमिकलाई समस्या नहोस् भनेर उनीहरूको सहयोगका लागि स्थापना भएको डेस्क हो यो जस्तो लाग्छ ।
तर यहाँ विभागबाटै खटिएका कर्मचारीले श्रमिकलाई केरकार गर्ने र दुःख दिने थलो बनाइयो । र अहिले आएर यो ठाउँ नै हटाउँदा त्यो श्रमिकले अभिमुखीकरण तालिम लियो लिएन भनेर भेरिफाइ गरिने ठाउँ नै भएन । अभिमुखीकरण तालिम अर्कैले लिने र विदेश उड्ने मानिस अर्कै भए पनि अब उसलाई विमानस्थलमा अप्ठेरो परेन ।
तर जबसम्म श्रम डेस्क थियो तबसम्म यस्तो हुने सम्भावना एकदम कम थियो । कक्षामा कहिलेकाहीँ एजेण्ट आफैँ आएर पनि बसिदिन सक्छ । उसले नै हाजिरी लगाउन सक्छ । यदि तालिम प्रदायकले त्यो कुरा सूक्ष्म रूपमा केलाएन भने यहाँ त श्रमिकले पढ्न नपर्ने अवस्था पनि आउने भयो ।
फेरि भैरहवामा श्रम डेस्क राख्न हुने काठमाण्डौमा राख्न नहुने के हो यसको औचित्य पनि बुझिएको छैन । अभिमुखीकरण तालिमलाई प्रभावकारी बनाउने हो भने श्रम डेस्क राख्न पर्छ भनेर हामीले भनेका छौँ हेरौँ अब यसको नतिजा के आउँछ ।
हामीसँग भएको पूर्वाधार र जनशक्तिको विभागले चाहन्छ भने फेरि पुनरावलोकन गरोस् । केही अपुग छ भने निर्देशन गरोस् । कसैले पुरा गर्दैन भने कारबाही गरोस् । स्वच्छ अनुगमन होस् ।
हामीले २०७० ७१ सालदेखि नै केन्द्रहरूमा सिसिटिभी जोडिसकेका छौँ । यसको एक्सेस विभागले मागोस् र सिस्टममा जोडोस् । त्यसका लागि हामी तयार छौँ । भौतिक उपस्थितिभन्दा पनि अनलाइन अनुगमनलाई निरन्तर र नियमित बनाओस् । ताकि वैदेशिक राेजगारीमा जानेहरुले जानकारीकै अभावमा दुःख नपाउन । उनीहरूको ज्यान नजाओस् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गौतम नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासङ्घका अध्यक्ष हुनुहुन्छ ।
Ram
May 4, 2023, 6:18 p.m.Yo online padhauda thik hola