नागढुङ्गा सुरुङमार्गमा एक वर्षभित्र गाडी चलाउने गरी कामलाई तीव्रता दिन्छाैँ : मन्त्री ज्वाला

 जेठ १२, २०८० शुक्रबार १३:५३:४९ | रासस
unn.prixa.net

काठमाण्डाै  - भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आउँदो एक वर्षभित्र गाडी नै चलाउने गरी नागढुङ्गा सुरुङमार्गको कामलाई तीव्रता दिने बताउनुभएको छ । नागढुङ्गा सडक पूर्वाधार र नागढुङ्गा सुरुङमार्गको निर्माणको प्रगतिबारे स्थलगत अनुगमनका क्रममा उहाँले निर्माण कम्पनीले कुनै बहानामा कामलाई रोक्न नपाउने  बताउनु भएकाे हाे।

मन्त्री ज्वालाले भन्नुभयो, 'एक वर्षभित्र गाडी चल्नसक्ने गरी कामलाई अझै तीव्र बनाउने काममा हामी लाग्नेछौँ' उहाँले भन्नुभयो,'केही मुआब्जा वा आपूर्ति प्रक्रियामा समस्या होलान् आयोजना प्रमुखलगायतसँग छलफल गरेर जानकारी लिन्छौँ, छलफल गर्छौँ र छिट्टै समाधान गर्छौँ ।'

सुरुङमार्गको मुख्य टनेल जोडिन ६०० मिटर र रेस्क्यु टनेल जोडिन २०० मिटर मात्रै बाँकी रहेको उहाँले बताउनु भयाे । 

आउँदो दशैँ आसपासमा भने टनेल जोडिने र त्यसपछि अन्य पूर्वाधारको काम थालिने  नागढुङ्गा सडक आयोजनाले जनाएकाे छ । जाइकाको सहयोगमा सुरुङमार्ग निर्माण भइरहेको हाे । 

यसैबीच विस्तारको चरणमा रहेको अर्को नागढुङ्गादेखि मुग्लिनसम्मको सडक निर्माणमा पनि कुनै बहानाबाजी गर्ने छुट नभएको मन्त्री ज्वालाले बताउनुभयाे । सडक अनुगमनका क्रममा आज उहाँले काममा कञ्जुस्याइँ नगर्न निर्माण व्यवसायीलाई अनुरोध गर्नुभएकाे छ । 

उहाँले भन्नुभयो,'उहाँहरुको समस्या पनि समाधान गर्छौँ, काममा बहानाबाजी गरेर भाग्न पाइँदैन । समग्रमा क्रोनिक ठेक्काको काम अघि बढाउने र काम नहुनेलाई ठेक्का तोडेर नयाँ विकल्पमा जाने निर्णय गर्दै गएका छौँ ।' उहाँले थप्नुभयो,'यो हाइवेका सन्दर्भमा पनि कहीँकतै समस्या छ भने स्पष्टसँग भन्नुपर्‍यो समाधान गर्छौँ, क्याबिनेटबाट गर्नुपर्छ कि, मन्त्रालयबाट गर्नुपर्छ कि, ऐन कानुन हेरफेर गर्नुपर्छ कि, सबै कुराका निम्ति तयार छौँ ।'

याे सडक तीन खण्डमा काम भइरहेको र पहिलो नागढुङ्गा नौबिसे खण्डको प्रगति राम्रो देखिएको उहाँले बताउनु भयाे । उहाँले काठमाण्डाै जोड्ने मूल सडक भएकाले अहिलेसम्म जेजे समस्या झेलिए पनि त्यसलाई समन्वयात्मकरुपमा समाधन गरी कामलाई तीव्रता दिने प्रतिबद्धता जनाउनुभयो । यो सडक विश्व बैंकको सहयोगमा बनिरहेको छ । 

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया