सिद्धबाबा सुरुङमार्ग आज छिचोलिने

 माघ ११, २०८१ शुक्रबार ७:३०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबामा निर्माण भइरहेको सुरुङमार्ग आज ब्रेक थ्रु अर्थात् छिचोलिने भएकाे छ ।

एक हजार एक सय २६ मिटर लामो सुरुङमार्गका लागि मुख्य टनेल खनेर झण्डै साढे एक मिटर मात्रै बाँकी राखिएको छ । बाँकी भाग आज प्रधानमन्त्री केपी शर्मा ओलीले पूजा गरेपछि छिचोलिनेछ । यसअघि गएको मङ्गलवार नै सुरुङ छिचोल्ने गरी तयारी भएकोमा प्रधानमन्त्रीको व्यस्तताका कारण आजका लागि सारिएको थियो ।कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित अरु मन्त्री र सांसदहरु पनि सहभागी हुनेछन् ।

सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको यो आयोजनाअन्तर्गत दुई लेनको मुख्य सुरुङमार्गको लम्बाई एक हजार एक सय २६ मिटर र चौडाई साढे १० मिटर रहेको छ । उद्धार सुरुङका रूपमा चिनिएका तीन वटै बाइपास सुरुङ यसअघि नै छिचोलिएका छन् ।

मुख्य सुरुङ छिचोल्ने काम सकिए पनि अरू थुप्रै काम बाँकी रहने हुनाले यो ठेक्काको म्याद २०८३ सालको चैत ८ गतेसम्म रहेको आयोजनाका प्रमुख कृष्णराज अधिकारीले बताउनुभएको छ । अहिलेसम्म सुरुङमार्गको भौतिक प्रगति झण्डै ४० प्रतिशत रहेको छ । अबको दुई वर्षपछि गाडी सञ्चालन गर्नेगरी काम भइरहेको पनि अधिकारीले बताउनुभएको छ ।

सिद्धबाबा क्षेत्रमा बर्खा र हिउँद दुवै सिजनमा पहिरो खसेर सडक अवरुद्ध हुने तथा दुर्घटना बढिरहने भएपछि यो समस्या समाधानको लागि सरकारले सुरुङमार्ग निर्माण गरिरहेको छ ।

पाल्पाको तिनाउ गाउँपालिका– ३ दोभान क्षेत्रमा यो सुरुङमार्ग बनिरहेको हो । सात अर्ब ३४ करोड रुपैयाँमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडले सिद्धबाबा सुरुङमार्गको ठेक्का पाएको थियो ।

सिद्धबाबा सुरुङमार्गले पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, रुपन्देही, स्याङ्जा, पोखरा,  बाग्लुङलगायतका क्षेत्रमा आउजाउ गर्ने गाडीलाई राहत मिल्नेछ । सिद्धार्थ राजमार्ग भएर साना–ठूला दैनिक एक हजारभन्दा धेरै गाडी ओहोरदोहोर गर्छन् ।

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया