सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ ...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जनलाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
प्रहरीका अनुसार महर्जनको खातामा ठगी गरेको रकम जम्मा गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सन्देश शर्माले लक्ष्मीको खाता नम्बर पठाएअनुसार गजेन्द्र बुढाथोकीले लाखौँ रुपैयाँ जम्मा गरेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकी महर्जनलाई प्रहरीले हिजो नै जिल्ला अदालतमा उपस्थित गराइ हिरासतमा राखेको छ ।
लक्ष्मीसँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ । यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पालगायत १६ जना यसअघि नै पक्राउ परेका थिए । पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहितका केही फरार छन् ।
यसैबीच काठमाण्डौ जिल्ला अदालतमा नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्तमाथि बयान सुरु भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा हिजोदेखि बयान सुरू भएको हो । हिजो केशव दुलाल र सागर राईको बयान लिइएको छ । अरू आरोपितको बयान क्रमशः हुँदै जाने अदालतले जनाएको छ ।
नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणमा पक्राउ परेका दुलाल यो ठगी प्रकरणका मुख्य बिचौलिया रहेको पाइएको छ । यो प्रकरणमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।
अदालतमा अभियुक्तको बयानपछि थुनछेक बहस हुनेछ । अभियुक्त थुनछेक बहसपछि धरौटीमा थुनामुक्त हुने वा थुनामा पठाउने निर्णय अदालतले गर्नेछ । उनीहरूविरुद्ध संगठित अपराध, ठगी, राज्यविरुद्धको अपराध र लिखत किर्ते कसुरको मागदाबी गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।