प्रधानमन्त्रीले जेठ १७ गतेदेखि भारतको भ्रमण गर्नुहुने

 जेठ १३, २०८० शनिबार १३:४४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १७ देखि २० गतेसम्म (मे ३१ देखि जुन ३ तारिख) छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।

प्रधानमन्त्री दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा सो भ्रमणमा जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँसँग भ्रमणमा नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुनुहुनेछ ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यसैगरी प्रधानमन्त्री दाहालले जेठ १८ गते भारतका प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुने मन्त्रालयले जनाएको छ । 

वार्तापछि दुबै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नुहुने छ । भारतका प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री र उहाँको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुनेछ ।

प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले संयुक्तरुपमा आयोजना गर्ने नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्नाका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालले भारतका लागि नेपाली राजदूत शङ्करप्रसाद शर्माले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी भई भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्नुहुनेछ । उहाँले जेठ २० गते काठमाण्डाै फर्कनुअघि मध्यप्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीका रुपमा दाहालको यो चौथो भारत भ्रमण हो । यस भ्रमणले नेपाल र भारतबीचको सदियौँ पुरानो, बहुआयामिक र सौहार्द्रपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया