प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा आज एपीएफ र आर्मी त...
माघ ११, २०८१ शुक्रबार
म्याग्दी - उम्रेदेखि नै मकैमा फौजी किराको प्रकोप देखिएपछि म्याग्दीका किसान चिन्तित भएका छन् । फाैजी किराको प्रकोपका कारण गएकाे वर्षको तुलनामा यसवर्ष म्याग्दीमा मकैको उत्पादन घट्ने चिन्ताले किसान निराश भएका हुन् ।
यहाँकाे पश्चिमी, उत्तरी, कालीगण्डकी र म्याग्दी नदी तटीय क्षेत्रका किसानले लगाएको मकै बालीमा रोग तथा फौजी किराको प्रकोप देखिनुका साथै ढिलो गरी वर्षा हुँदा मकैका बोटसमेत फस्टाउन पाएका छैनन् ।
जिल्लाको लेकदेखि बेँसीसम्मका प्रायजसाे खेतीयोग्य जमिनमा मकैको खेती हुन्छ । कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार म्याग्दीकाे ११ हजार हेक्टर क्षेत्रफलमा वार्षिक ३७ हजार आठ सय १७ टन मकै उत्पादन हुन्छ । यहाँबाट करिब २५ टन मकैको बिउपर्वत, पोखरा, चितवन, लमजुङ, गोर्खा, डोल्पा, जुम्लालगायत ठाउँ जाने गर्छ ।
'म्याग्दी मकै खेतीमा आत्मनिर्भर छ, तर यस वर्ष भने समयमै वर्षा नहुँदा र रोग किराको प्रकोप देखिएको हुँदा विगतको जस्तो उत्पादन हुँदैन कि भन्ने आशङ्का छ', कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले बताउनुभयो । उहाँले खानाबाहेक बिउमकै उत्पादन गरी बाहिर जिल्ला पठाइने गरेको जानकारी दिनुभयो ।
मकै खेती कुल ६० प्रतिशत खेतीयोग्य भू–भागमा गरिएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाएको छ । म्याग्दीको खेतीयोग्य भू–भागमा मकै खेतीप्रति हेक्टरमा तीन हजार दुई सय ८० किलोका दरले उत्पादन हुने गर्दछ ।
जिल्लाको एक हजार ६ सय मिटरभन्दा तल्लो क्षेत्रमा मनकामना–१, ३, देउती, शीतला र उपल्लो क्षेत्रमा अरुण–१, २, हिलपुल सेतो र स्थानीय जातका मकै खेती गरिन्छ । पोसिलो मकै रत्नेचौर, बगरफाँट, घतान, पुलाचौर, सिँगा, पात्लेखेत, झीँ, भगवती, घार, बाबियाचौर क्षेत्रमा बढी खेती गरिन्छ ।
त्यसैगरी, उत्पादन राम्रो भए पनि राष्ट्रिय मकै बाली अनुसन्धान केन्द्र रामपुरले ‘गरिबका लागि’ भनी सिफारिस गरेको पोसिलो–१ मकै कृषकले नरुचाएको कृषि प्राविधिकको भनाइ छ। जिल्लामा उत्पादन भएको कुल मकै खेतीको ३७ हजार आठ सय १७ मेट्रिकटनमध्ये २२ हजार सात सय ८४ मेट्रिकटन मकै प्रशोधित तथा खानका लागि योग्य मानिन्छ ।
कृषकहरूले समयमै मल र बिउप्राप्त गर्न नसक्नु, समयमै वर्षा नहुनु तथा मकै हुर्कँदै जाँदा रोग किराको प्रकोप देखिनुजस्ता कारणले यस वर्ष मकै उत्पादन घट्ने अनुमान कृषि प्राविधिकको छ । म्याग्दीमा मकै माघ–फागुनमा लगाइ असारदेखि भदौसम्म थन्क्याउने गरिन्छ । हिउँदेबाली असोज र कात्तिकमा लगाइ फागुन र चैतमा थन्क्याउने गरिन्छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।