२३ औँ विश्व दूध दिवस : नेपालमा दैनिक ३ सय २८ मेट्रिक टन दूध अपुग

 जेठ १८, २०८० बिहीबार ७:२८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज २३ औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्षको नारा ‘दुग्ध क्षेत्रको दिगो विकास, आर्थिक समृद्धिको आधार’ रहेको छ । 

राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा विभिन्न निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग सङ्घ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी सङ्घलगायत सरोकारवाला निकायले विश्व दूध दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दैछन् ।

दिवसका अवसरमा विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवम् जीविकोपार्जनमा पुर्याएको योगदानको चर्चा गरिन्छ ।

दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनले सन् २००१ जुन १ तारिखदेखि विश्व दूध दिवस मनाउन थालेको हो । नेपालले पनि सन् २०११ देखि विश्व दूध दिवस मनाउन थालेको हो ।

दैनिक गुणस्तरीय दूध पिउन चेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार–प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न चेतना जगाउने र दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पुर्याउन पहल गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले वार्षिक रुपमा ४ दशमलव ७९ प्रतिशतले दूध उत्पादनमा वृद्धि भएको बताउनुभएको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवका अनुसार दूध उत्पादन वृद्धिसँगै उपभोक्ता तथा खपतको क्षेत्र पनि बढेको छ । जसका कारण औपचारिक क्षेत्रमा दूध अपुग भइरहेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा २५ लाख ६६ हजार ६१४ मेट्रिक टन दूध उत्पादन भएको थियो भने २०७४/७५ मा २० लाख ९२ हजार ४०३ मेट्रिक टन उत्पादन भएको थियो ।

तर अझै पनि दैनिक ३ सय २८ मेट्रिक टन दूध अपुग रहेको बोर्डले जनाएको छ । धुलो दूधको वार्षिक माग झण्डै तीन हजार ६ सय मेट्रिक टनदेखि चार हजार मेट्रिक टनसम्म रहेको बोर्डको तथ्याङ्क छ ।

धुलो दूध प्रतिमहिना २ सय ८३ मेट्रिक टन र बटर १ सय ३३ मेट्रिक टन उत्पादन हुने गरेको छ । 
 

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया