कर्णाली नदीको पुलमा टिकटक बनाउनेको भिडले दुर्घटनाको जोखिम बढ्यो

 जेठ १९, २०८० शुक्रबार १५:४३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – कैलालीको लम्की नगरपालिकाको चिसापानीमा रहेकाे कर्णाली नदीको पुलमा टिकटक बनाउनेहरूको भिडले दुर्घटनाको जोखिम बढेकाे छ । पुलमा सेल्फी खिच्नेदेखि टिकटक बनाउनेहरूको भिडका कारण दुर्घटनाकाे जाेखिम बढेकाे हाे । 

चिसापानीको सीमानासँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णाली पुलको अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्नु सकारात्मक भए पनि बीच सडकमै टिकटक बनाउनेहरूका कारण जोखिम बढेकाे हो । चिसापानीलाई पश्चिम नेपालको एक प्रसिद्ध स्थलका रूपमा लिइन्छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरू कर्णाली नदीको चिसो हावामा रमाउन पुग्दा स्थानीय बजारीकरणलाई फाइदा पुगेको भए पनि आवश्यक सतर्कता अपनाउन नसक्दा समस्या भएको हो । 

कर्णाली नदीको पुलमा जोखिमपूर्ण ढङ्गले टिकटक बनाई भाइरल बन्न चाहनेहरूको क्रियाकलापका कारण गाडी आउजाउमै समस्या पर्ने गरेको चालकहरू बताउँछन् । पर्यटक लिएर चिसापानी आएका चालक कृष बोहराले शनिवार पुलमा गाडी पास गर्नसमेत समस्या हुने गरी टिकटक बनाउनेहरूले भरिने बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘गाडी छेउमा राखेर राजमार्गको बीच सडकमा नै बसेर टिकटक बनाउने र सेल्फी खिच्ने गर्छन् । शनिवार र बिदाको दिन त यहाँ धेरै भिड हुन्छ । त्यस्तोमा गाडी पास हुनसमेत समस्या हुन्छ । यसले दुर्घटनाको जोखिम बढाउँछ । यसलाई व्यवस्थित बनाउँदा सबैलाई फाइदा पुग्ने थियो ।’ 

कर्णाली नदी क्षेत्र र पुलमा चिसो हावा चल्ने भएकाले गर्मी छल्नका लागि पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनहुँ बढ्न थालेको छ । २०५० सालमा जापानी कम्पनीले निर्माण गरेको याे पुलको तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको थियो । पुलको बीचमा रहेको ठूलो खम्बामा स्टिलका तारहरू बाँधेर अड्याइएको छ । तारलाई ट्रसमा आकर्षक ढङ्गले बाँधेर राखिएको छ । यो दृश्य हेर्नकै लागि पर्यटक पुलमा जाने गर्छन् । पुलको लम्बाइ ५ सय मिटर र १० मिटर चौडाइ रहेको छ । कर्णाली नदीमा र्‍याफ्टिङ गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्यासमेत बढ्दो छ ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया