जन्मसिद्ध नागरिकताको अधिकार खारेज गर्ने अमेरिकी राष्ट्रपति ट्रम्...
माघ ११, २०८१ शुक्रबार
धेरैलाई लागेको थियो प्रधानमन्त्री भारतबाट फर्कँदा जहाजबाट उहाँसँगै १५ वटा मुर्रा भैँसी पनि पुच्छर हल्लाएर आइँ आइँ गर्दै झर्नेछन् । पानीको फोहोरा र पुष्पगुच्छाले भैँसीको भव्य स्वागत हुनेछ । पत्रकार सम्मेलनमा भैँसीका प्रतिनिधिले नेपाल–भारत सम्बन्धमा भैँसी कुटनीतिबारे प्रष्ट पार्नेछन् । तर जहाजमा सिट खाली भए पो भैँसीले सँगै आउन पाउनु ! प्रधानमन्त्रीको भ्रमण टोलीमा छ बीस मान्छे थिए, भैँसी त के भैँसीको एक डल्लो मःम राख्ने ठाउँ भेट्न पनि मुश्किल !
प्रधानमन्त्रीसँगै भैँसी नआउँदा मान्छेको मनमा भैँसी कुटनीति र नेपाल–भारत सम्बन्धबारे धेरैथरी प्रश्न उठेका छन् । कुटनीतिमा मुर्रा भैँसीको महत्त्व के हुन सक्ला त ? आउनुहोस् घामले तातो भएको दिमागलाई एकछिन चिसो पानीमा आहाल बस्ने भैँसीको कुराले ठण्डा पारौँ।
अहिलेसम्मकै ऐतिहासिक उपलब्धि
यसअघि जति प्रधानमन्त्री भारत भ्रमणमा गए, फर्किँदा रित्तो हात मात्रै हल्लाए । कसैले केही कोसेली ल्याएनन्, उल्टो कसैले उपहार बुझाए कसैले उधारो सम्झौता गरे । यसपटक भारतबाट फर्किँदा प्रधानमन्त्रीले रित्तो हात हल्लाउनु परेन । महाकालेश्वरमा गेरुवस्त्र हल्लाएर दिल्ली फर्किनासाथ भैँसीको पुच्छर हल्लेको देख्नुभयो । दाम्लो समात्न नमिलेर मात्रै हो, नत्र हात परेका १५ वटा भैँसी जहाजबाट सिधै भीआईपी कक्षमा आउँथे । यसअघिका कुनै पनि प्रधानमन्त्रीले गर्न नसकेको यो उपलब्धि ऐतिहासिक हो । किनकि यो पालिको भ्रमणमा भैँसी हाताहाती मिलेका थिए । मोदीसँग भएका र गरेका अरु सम्झौता पूरा हुने/नहुने ठेगान छैन । पहिलेका प्रधानमन्त्रीले गरेका सम्झौता पनि पूरा नभएको अवस्थामा यसपटक भएका सम्झौता पूरा होलान् भन्ने के भर ? हाताहाती मिलेका भैँसी डोहोर्याएर ल्याउन बाँकी भएकाले बरु यहाँ पनि वा ती भैँसी उतै बेपत्ता हुने हुन् संशय बाँकी छ ।
विराेधीहरुले भनेका छन् : प्रधानमन्त्रीले भारतबाट कालापानी, लिपुलेक र लिम्पियाधुरा ल्याउनुपर्नेमा जाबो भैँसी लिएर आए । तर, यो नेपाल–भारतबीचको सम्बन्ध बिगार्ने, अनि सरकार र प्रधानमन्त्रीको भारत भ्रमण असफल देखाउने प्रतिक्रियावादी प्रतिक्रिया हो । चुच्चे नक्सामा समेटिएको त्यतिका जग्गा कसरी बोकेर ल्याउनु ? पहिलो कुरा भारतले भोग गर्दै आएको जग्गा कुन मुखले माग्नु ? किन माग्नु ? जग्गा आखिर हाम्रो चुच्चे नक्सामा त छँदैछ । नक्सामा भैरहेको जग्गा मागेर समय खेर फाल्नु व्यर्थ थियो । नेपाली भूमि र सीमाबारे कुरा गरेको भए भारत खुशी हुन्थ्यो ? भारतीय जनताको मुहारमा खुशी देख्न पाइन्थ्यो ? १५ वटा भैँसी मिल्थ्यो ? त्यसैले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नै ठाउँमा सुरक्षित राखेर भारतबाट भैँसी ल्याउन सक्नु कुटनीतिक सफलताको कोशेढुंगा हो ।
भैँसीकै कारण अरु भ्रमण पनि सफल हुने निश्चित
अहिलेको सफलता १५ वटा भैँसी हो । अब यही भैँसी देखाएर भविष्यमा हुने अरु भ्रमण सफल बनाउने बाटो खुलेको छ । कसरी भन्नुहोला । भारतका भैँसीलाई त्यसैअनुसारको अन्न, दानापानी र घाँस चाहिन्छ । नेपालको दानापानी र घाँसपात भैँसीलाई नपच्न सक्छ । अर्कोपटक प्रधानमन्त्री भारत जाँदा नेपालको दानापानी र घाँस नपचेर भैँसी कमजोर भयो भनेर कुरा उठाउन पाइन्छ । नक्सा र सीमाको कुरा उठाउँदा रिसाउने भारत भैँसीको कुरा गर्दा किन रिसाउँछ ? ती भैँसीको कुरा गर्दा बरु भैँसी रिसाउला, भारत रिसाउँदैन । पाशुपत क्षेत्रबाट गएका ब्राह्मण प्रधानमन्त्रीलाई भैँसी दान गर्न पाउँदा गदगद् भएको भारतले आफूले दान गरेका भैँसीलाई पोषिलो दानापानी र घाँसपात मन खोलेर दिनेछ । त्यति मात्र हैन, भैँसीको स्याहार गर्न गोठाला र हेरालु पनि लैजाउ भनेर अझै उदारता देखाउनेछ । अथवा, यसपालिको उपलब्धि भैँसी मात्रै भए पनि यो सुरुवात मात्र हो, अर्कोपटक भारत भ्रमणको उपलब्धि ती भैँसीका लागि चाहिने पोषिलो घाँसपात, दानापानी, अन्नपिठो र गोठाला–हेरालु समेत हुनेछन् ।
भैँसी पूजा र धार्मिक पर्यटनमा टेवा
केही वर्ष पहिले प्रधानमन्त्रीले देशभित्रै भैँसी पूजा गरेका थिए, यसपटक भारतबाट आउँदा भैँसी उपहार पाए । त्यो पनि ख्याउटे भैँसी होइन, बडेमानको मुर्रा भैँसी । नेपालको रैथाने ख्याउटे भैँसीलाई पूजा गर्दा उताबाट मोटोघाटो र रसिलोपोषिलो भैँसी उपहार पाइन्छ भने यही मोटोघाटो भैँसीलाई पूजा गर्दा अरु के-के पाइँदो हो ? उतिबेला भैँसी पूजा गरेपछि कुर्सी गुमेको थियो, यसपालि त महाकालेश्वरको पूजा गर्नेबित्तिकै भैँसी मिल्यो र यही भैँसीले कुर्सी बलियो बनाउने भयो । अब प्रधानमन्त्रीले बिहान बिहान गेरुवस्त्र लगाएर भैँसीपूजा गर्नेछन् । प्रधानमन्त्रीको सिको गरेर मन्त्री र उनलाई नायक ठान्ने, उनको पार्टीका कार्यकर्ता र उनका फ्यानहरुले पनि भैँसी पूजा गर्न थाल्नेछन् । नेपालमा भैँसी पूजा गर्नेहरुको सङ्ख्या बढ्नेछ । आफूले पठाएको भैँसीको पूजा व्यापक हुन थालेको खबर पाएपछि भारतबाट दर्शनार्थीको लर्को लाग्नेछ । उनीहरु पनि पूजामा सहभागी हुनेछन् । यताका प्रधानमन्त्री र मन्त्रीहरु भारत गएर गेरुवस्त्र लगाएझैँ उताका पनि यता आएर उस्तै खालको वस्त्र लगाएर भैँसीपूजा गर्नेछन् । भैँसीका नाममा सरकारले वर्षमा एकदिन भैँसी पूजा दिवस मनाउने घोषणा गरी सार्वजनिक बिदा पनि दिनेछ । नेपालमा कालाभैँसीको भव्य पूजा हुन थालेपछि मान्छेहरुले भारतको महाकालेश्वर बिर्सनेछन् । मुर्रा भैँसीकै कारण नेपालमा धार्मिक पर्यटन फस्टाउनेछ ।
‘स्वस्थ नेपाल : निरोगी नेपाली’ अभियानमा टेवा
बजारमा शुद्ध दूध पाउनै मुश्किल छ । पाउडर र पानी घोलिएको दूध किन्न पनि महँगो छ । न दूध किनेर खान सकिन्छ, न शुद्ध दूध नै पाइन्छ । अब भारतबाट १५ वटा मुर्रा भैँसी आएपछि नेपालमा दूधको छेलोखेलो हुन्छ । दूधको भाउ सस्तो हुन्छ । शुद्ध र पोषिलो दूध पिउन पनि पाइन्छ । बिहान–बेलुका दूध र भात, दिउँसो मःम र अचार । प्रधानमन्त्रीको भारत भ्रमणकै कारण ‘स्वस्थ नेपाल : निरोगी नेपाली’ अभियानमा टेवा पुग्ने भएको छ ।
बाबुरामको ठाउँमा बलराम
भारतले मुर्रा भैँसी दिने खबर सुनेपछि मान्छेहरुले एउटा पुरानो गीत सम्झिएका छन्– गर्नु गर्यौ बलराम भैँसी पालेर.... । खाँटी दूधमा पानी हाले पनि भैँसीको दूध खान पाइन्थ्यो । भैँसी पाल्ने बलरामहरुसँग जोस र जाँगर थियो । तर हिजोआज त्यो गीतसँगै बलरामहरु पनि हराए । बल र जाँगर भएका बलरामहरुको सट्टा मुख भएका र सुखसुविधा मात्रै खोज्ने बाबुरामहरुको बोलवाला भयो । भैँसी पाल्ने बलरामहरु हराएपछि भैँसीको दूध पाउन मुश्किल पर्यो । अब भारतले मुर्रा भैँसी उपहार दिएपछि मान्छेहरुले बाबुराम बिर्सिएर बलरामलाई सम्झन थाले । अब मुर्रा भैँसीकै कारण गाउँठाउँमा बलरामहरु थपिने सम्भावना बढ्यो । भैँसी कुटनीतिले पशुपालनमा एउटा इँटा होइन १५ वटा इँटा थपे सरह भएको छ ।
यति धेरै उपलब्धि त हुने भयो, तर भारतबाट आउने भैँसी र तिनीहरुबाट जन्मने पाडापाडीको नागरिकता चाहिँ के होला ? राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएलगत्तै भारत पुगेका प्रधानमन्त्रीले यसबारे भारतीय पक्षलाई विश्वास दिलाउन सके होलान् त ? यो कुरा चाहिँ भैँसीको व्यवहार मात्रै जान्ने बलरामलाई होइन, प्रधानमन्त्रीको स्वभाव राम्रोसँग चिन्ने बाबुरामले मात्रै भन्न सक्लान् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।