५३ अङ्कले बढेर शेयर बजारमा हरियाली, एक अर्ब ६५ करोड रुपैयाँको कारोबार

 जेठ २१, २०८० आइतबार १५:२२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थ मन्त्रालयले शेयर कारोबारको नाफामा लाग्ने करमा नयाँ व्यवस्था नहेको स्पष्ट पारेसँगै शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ५३ दशमलव शून्य तीन अङ्कले बढेर एक हजार नौ सय १९ दशमलव ३७ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेकोमा होटल, उत्पादन र बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज दुई सय ७० वटा कम्पनीका ४५ लाख ५७ हजार कित्ता शेयर एक अर्ब ६५ करोड ६३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १५ करोड ८१ लाख रुपैयाँमा किनबेच भयो ।

आज आईजीआई प्रुडेन्सियल इन्सुरेन्सको शेयर १० प्रतिशत तथा सामुदायिक लघुवित्त, सोल्टी होटल र तारागाउँ रिजेन्सीको शेयर झन्डै १० प्रतिशतले बढेको छ । आज केही म्युचल फन्डको शेयरमात्रै सामान्य घटेको छ ।

यसअघि लगानीकर्ताले ब्रोकर कम्पनीलाई धम्की दिँदै कारोबार नगर्न चेतावनी दिएपछि बजार खुलेको डेढ घण्टामा मात्रै कारोबार सुरु भएको थियो । अर्थ मन्त्रालयले शेयर कारोबारको नाफामा लाग्ने करमा नयाँ व्यवस्था नहेको स्पष्ट पारेपछि कारोबार खुलेको हो ।

कारोबार रोकिएपछि अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आन्दोलनरत लगानीकर्तालाई मन्त्रालयमा बोलाएर करबारे स्पष्ट पार्नुभएको छ । अर्थ मन्त्रालयले निकालेको सूचनामा प्राकृतिक व्यक्तिको कारोबारबाट भएको लाभमा सात दशमलव पाँच प्रतिशत र पाँच प्रतिशतको कर यथावत रहेको र थप व्यवस्था नरहेको उल्लेख छ । आन्दोलनरत लगानीकर्तासँग छलफल गर्दै अर्थमन्त्री महतले शेयरको कर सम्बन्धमा सरकार लगानीकर्ताको पक्षमा रहेको बताउनुभएको छ ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया