बजेट बनाउँदा अनधिकृत व्यक्तिकाे संलग्नता भए रास्वपाले विरोध गर्छ : स्वर्णिम वाग्ले

 जेठ २२, २०८० सोमबार २०:२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले अर्थमन्त्रीले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको सत्य भए आफ्नाे पार्टीले विराेध गर्ने बताउनुभएको छ ।

सोमवार काठमाण्डाैमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको 'पोस्ट बजेट– अ होलिस्टिक डिस्क्लोजर विषयक अन्तक्रियामा डा. वाग्लले यस्तो बताउनुभएको हो । उहाँले चालु आर्थिक वर्षको जस्तै बजेटमा अनधिकृत व्यक्ति संलग्न भएकाे विषय सत्य नहोस् भन्ने अपेक्षा रहेको पनि बताउनुभयो । उहाँले करका दरमा नीतिगत भ्रष्टाचार हुन नहुने बताउनुभयो ।

सांसद वाग्लेले यदि करका दरमा गएकाे वर्षको जस्तो भएको सत्य भए याे विषयलाई संसदमा गम्भीररूपमा उठाउने बताउनुभयो । उहाँले अर्थमन्त्रीले करका विषयमा धेरै कुरा नबोले पनि करका विषयमा धेरै विवादहरू आएको उल्लेख गर्नुभयाे । 

वाग्लेले सरकारले विद्युतीय गाडीमा लिने अस्थिर करका दरले समस्या बनाएको बताउनुभयो । उहाँले सरकारले विद्युतीय गाडीमा स्थिर करका दर कायम गर्न आवश्यक रहेकोमा जाेड दिनुभयाे । विद्युतीय गाडीका व्यवसायीलाई कति कर्मचारी र चार्जिङ स्टेशन राख्ने भन्ने अलमल भएकाे उहाँकाे भनाइ छ । सरकारले कुनै एउटा पक्षलाई फाइदा पुग्ने गरी करका दर कायम गर्नु दुर्भाग्य भएको उहाँले बताउनुभयो । 

सांसद वाग्लेले सरकारले ल्याउने बजेटमा आयको अनुमान, व्ययको अनुमान केही पनि नमिल्ने गरेको बताउनुभयो । उहाँले सरकारले बजेटमा हावादारी रूपमा अङ्क राख्ने गरेको आरोप पनि लगाउनुभयो । उहाँले बजेटमा भनिएका कुराहरू अङ्कमा नमिल्ने भएकाले नागरिकले पत्याउने अवस्था नरहेको बताउनुभयाे । उहाँले सरकारकाे वैदेशिक अनुदान र ऋण अपेक्षाअनुसार नउठ्ने दाबी पनि गर्नुभयाे ।

वाग्लेले हरेक वर्ष बजेट घटाउनुपर्ने अवस्था बनेका कारण बजेटमाथि विश्वसनीयता कम हुँदै गएको बताउनुभयो । उहाँले अहिले सरकारले तिर्ने ब्याज बढ्दै जाँदा त्यसलाई राजस्वले धान्न नसक्ने बताउनुभयो । उहाँले वैदेशिक ऋणले नपुग्ने भएकाले ऋणको सावाँ ब्याज तिर्न आन्तरिक ऋण ऊठाउनुपर्ने अवस्था आएको बताउनुभयो ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया