लू का कारण तराई मधेसको जनजीवन प्रभावित, तर राहतका छैन कुनै योजना

 जेठ २५, २०८० बिहीबार ७:४७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - तातो हावा लू का कारण तराई मधेसको जनजीवन प्रभावित भएको छ । धेरैजसो विद्यालय बन्द भएका छन् भने अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । अत्यधिक गर्मी र तातो हावा लू का कारण टाउको दुख्ने, रिँगटा लाग्ने, वान्ता हुने,  ज्वरो आउने, मांसपेशी दुख्ने जस्ता स्वास्थ्य समस्या देखिन थालेको छ ।

एक हप्ताभन्दा लामो समयदेखि चलेको लू अझै चार दिनसम्म चल्ने मौमसविद्ले अनुमान गरेका छन् । मौसमविद् गोविन्द झाका अनुसार तत्काल पानी पर्ने सम्भावना नरहेको र पश्चिमी वायु पनि कमजोर रहेकाले तराई मधेसमा अझै चार/पाँच दिन मौसम यस्तै रहन्छ ।

गर्मीले नागरिकलाई घर बाहिर निस्कन समेत मुस्किल पर्ने गरेको छ । डाक्टरहरुले घाम चर्किएका बेला सकेसम्म घर बाहिर नहिँड्न सुझाव दिँदै आएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि चर्को घाममा नहिँड्न तथा हिँड्नै परे छाता ओड्न, पातला कपडा लगाउन आग्रह गरेको छ । नागरिकलाई सतर्कता अपनाउन आग्रह गर्दै आए पनि सरकारले प्रभावितको राहतका लागि भनेर कुनै योजना भने ल्याउन सकेको छैन ।

गर्मी र लू का विषयमा स्वास्थ्य मन्त्रालय र प्राधिकरणमा  अनौपचारिक कुराकानी भइरहे पनि अब कसरी अगाडि बढ्ने भनेर औपचारिक छलफल भएको छैन । सरकारले मनसुनी समयमा हुने बाढी, पहिरो तथा डुबानलगायतका प्रकोपलाई विपद् अन्तर्गत राखे पनि लू तथा गर्मीलाई विपद् अन्तर्गत राखेको छैन । यसले गर्दा पनि यस्तो बेला कसरी नागरिकलाई राहत दिने भन्नेबारे योजना बनाउन कठिनाइ भएको प्राधिकरणका एक अधिकारीले बताए ।  

एक हप्ता लामो समयदेखिको लू का कारण जनजीवन प्रभावित भएको तर राहतका कुनै योजना नआएको भन्दै आलोचना हुन थालेपछि सरकारले बल्ल चासो दिन थालेको छ ।  एक/दुई दिनमै यस विषयमा विज्ञसँग छलफल गरी निष्कर्षमा पुग्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले प्रभावित क्षेत्रका पालिका तथा प्रदेशसँग पनि सहकार्य र समन्वयका लागि छलफल गर्ने तयारी गरेको छ । स्थानीय सरकारले पनि अहिलेसम्म लू प्रभावित क्षेत्रमा राहतका कुनै कार्यक्रम ल्याएको छैन । 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया