पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
बाँके - पश्चिम नेपालका थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल एनिमियाका बिरामी पत्ता लगाउने अभियान थालिएको छ । स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका थारू जनसङ्ख्या बढी भएका पालिकाका वडामा रगत जाँच शिविर तथा परामर्श सेवा सञ्चालन गरेर बिरामी र वाहक पत्ता लगाउने तथा उनीहरूलाई परामर्श दिने अभियान थालेको हो ।
राप्ती सोनारी गाउँपालिकाको वडा नं २ र ६ मा सिकलसेल एनिमियाका बिरामीको शिविर तथा परामर्श कार्यक्रम गरिएको हो । ती दुवै वडामा फेला परेका बिरामी, वाहक र उनका अभिभावकलाई भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ फिजिसियन डा राजन पाण्डे, मनोसामाजिक परामर्शदाता उषा वली, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठलगायतको टोलीले रोग र त्यसबाट जोगिनका लागि परामर्श दिनुभएको छ ।
वरिष्ठ फिजिसियन डा पाण्डेले यो रोगबाट जोगिन विवाह गर्दा विशेष ध्यान दिनुपर्ने जनाउँदै रगत जाँच गरेमात्रै विवाह गर्ने तथा रोगी र रोगीबीच विवाह गर्न नहुने बताउनुभयो । उहाँका अनुसार रगत जाँचपछि प्राप्त रिपोर्ट र त्यही आधारमा वितरण गरिएको ‘कार्ड’ हेरेर मात्र विवाह गर्ने प्रचलन समुदायमा सुरु गर्नुपर्ने बताउनुभयो ।
राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले पालिकामा यो रोग बढ्न नदिन सबै उपाय अपनाइने जनाउँदै बिरामीको निःशुल्क स्वास्थ्य बीमा गरिने जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत श्रेष्ठका अनुसार राप्ती सोनारीका थारू बाहुल्य चारवटा वडामा करिब ३ हजार ३ सय १३ जनाको रगत जाँच गर्दा ११ सिकलसेलका बिरामी र ३ सय ७६ रोगका वाहक फेला परेका छन्।
उहाँका अनुसार पछिल्लोपटक वडा नं ६ कमैयाडाँडामा ६ सय ३१ जनाको नमुना जाँच गर्दा दुई जना रोगी र ३६ जना वाहक फेला परेको र वडा नं २ कञ्चनापुरमा चार सय ८७ जनाको नमुना जाँच गर्दा तीन रोगी र ४४ जना वाहक फेला परेका थिए।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।