पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – मोबाइल आयातकर्ता व्यवसायीले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रभावकारीरूपमा कार्यान्वयनमा आए वार्षिक चार अर्ब रुपैयाँ थप राजस्व बढ्ने बताएका छन् ।
आइतवार मोबाइल आयातकर्ता व्यवसायीले एमडीएमएस प्रणालीका विषयमा जानकारी दिन काठमाण्डाैमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् । उनीहरूले एमडीएमएस प्रणाली लागू नहुँदा अर्बाैँ रुपैयाँ बराबरका मोबाइल अवैधरूपमा नेपाल आएको र त्यसबाट सरकारले वार्षिक चार अर्ब रुपैयाँ बराबरको राजस्व गुमाउने गरेको बताए ।
कार्यक्रममा मोबाइल आयातकर्ता सङ्घ नेपालका अध्यक्ष दीपक मल्होत्राले बजारमा एमडीएमएस प्रणाली कार्यान्वयनमा आएसँगै मोबाइलको मूल्य बढ्छ भन्ने गलत हल्ला फैलिएको बताउनुभयो । उहाँले एमडीएमएस प्रणालीले चोरीका 'रिफर्बिस' अनि कम गुणस्तरका फोन नभित्रिने हुँदा उपभोक्ता ठगिनु नपर्ने बताउनुभयो । उहाँले अवैध मोबाइल आयातले वास्तविक मोबाइल व्यवसाय ३० प्रतिशतमा खुम्चिएको गुनासाे गर्नुभयाे । उहाँले जेठ १ गतेपछि एमडीएमएसका कारण व्यवसाय तङ्ग्रिन लागेको बताउनुभयो ।
त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपालमा प्रयोग गर्न अनुमति नदिएका मोबाइल फोन नेपाली बजारमा देखिएकाले कम गुणस्तरका मोबाइलको नियन्त्रण गर्नका लागि एमडीएमएस प्रणाली लागू गरिएको बताउनुभयो । उहाँले प्राधिकरणले मोबाइलमा एमडीएमएस प्रणाली लागू गरेर राजस्व उठाउन नखोजेको भन्दै कालोबजारीलाई नियन्त्रण गर्न खोजेको उल्लेख गर्नुभयाे । सरकारले कुनै निश्चित व्यवसायीलाई फाइदा पुग्ने गरी एमडीएमएस प्रणाली ल्यायो भन्ने प्रचार गलत भएको उहाँकाे भनाइ छ ।
कार्यक्रममा भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले विदेशबाट ल्याएका मोबाइल एमडीएमएस प्रणालीमा अनलाइनमार्फत दर्ता गर्नसक्ने प्रविधि ल्याउन लागेको बताउनुभयो । उहाँले विदेशबाट ल्याएका मोबाइलको भन्सार प्रक्रिया सरल र तत्काल गर्नका लागि अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा जनशक्तिसमेत थप गरी छुटै हेल्प डेक्सको व्यवस्था गरिएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।