गर्मीमा अपनाउने सानो सावधानीले ठूलो जोखिम टर्छ

 जेठ ३१, २०८० बुधबार १२:५:१० | डा. विजय थापा
unn.prixa.net

जाडो र गर्मीमा छुट्टै किसिमका बिरामीहरु हुन्छन् । गर्मीमा किटाणुले फैलाउने संक्रमण, ज्वरो सम्बन्धी रोगहरु बढी हुन्छ । यसकारण अहिले गर्मीमा यस्ता रोगहरु बढी देखिने हुन्छ । गर्मीमा धुलो तथा वातावरण प्रदूषण पनि बढी हुने हुनाले यस्ता रोगीहरु बढी हुने गर्छन् । गर्मी महिनामा देखिने रोगहरुले शारीरिकदेखि मानसिक रोगहरु पनि बढ्ने गर्छ ।

गर्मीको समयमा प्रत्यक्षरुपमा बाहिर निस्केर काम गर्नुपर्ने पसले, ज्यामी, मजदुर, किसानलाई बढी असर पर्छ । घरभित्र बस्नेलाई गर्मीले त्यति फरक पर्दैन । घर बाहिर काम गर्ने मान्छेलाई भने एकदमै फरक पार्छ ।

गर्मीको असरको चर्चा गर्दा कपालदेखि खुट्टासम्मको कुरा गरौँ । गर्मीमा धेरै पसिना आउने तर, काठमाण्डौको कुरा गर्दा पानीको अभाव भएकोले नुहाउन नपाउने हुँदा पसिना थुप्रिएर कपालको संक्रमण हुने हुन्छ । भित्री अंगहरु पनि खुला राख्न नमिल्ने हुँदा ‘फंगल इन्फेक्सन’ हुने हुन्छ । घामले आँखा रसिलो बनाउने तरल पदार्थ ‘लुब्रिकेन्ट’ सुक्ने हुँदा पनि सुख्खा हुन्छ र आँखा पोल्ने दुख्ने हुन्छ । सबै ठाउँमा चश्मा प्रयोग गर्न नसकिने तथा प्रयोग गरिएका चश्माको गुणस्तर पनि राम्रो नहुने हुँदा गर्मीमा यस्ता समस्या आउने गर्छ ।  त्यस्तै नाकबाट रगत आउने, पसिनामा पानी तथा नुन जाने हुँदा ‘डिहाइड्रेसन’ का पनि समस्या हुन्छ जसका कारण टाउको दुख्ने हुँदा डिप्रेसन, एन्जाइटीको समस्या भएका बिरामीलाई बढी च्याप्ने हुन्छ । 

गर्मीमा जवान मानिसलाई भन्दा पनि केटाकेटी तथा बुढाबुढीलाई बढी सताउने गर्छ । केटाकेटी बढी बाहिर खेल्ने हुँदा उनीहरु गर्मीबाट बढी प्रभावित हुने नै भए । बुढाबुढी पनि अहिले धेरै उच्च रक्तचाप तथा मधुमेहको बिरामी भएको हुँदा गर्मीमा मधुमेहका बिरामीलाई कम तिर्खाको महसुस हुन्छ । मधुमेहका रोगीलाई यस समयमा आँखामा, मिर्गौलामा पनि समस्या देखा पर्ने हुन्छ । यो समयमा यस्ता बिरामीले तिर्खाको कम महसुस हुने हुँदा पानी कम खान्छन् यसकारण समस्या बढी देखा पर्छ । गर्मी आफैँले प्रत्यक्ष प्रभाव पार्नेभन्दा पनि यसका कारण बुढाबुढी र केटाकेटीलाई अझ बढी सताउन सक्छ ।

शरीरलाई सामान्य तापक्रममा राख्ने

शरीरको चल्ने आफ्नै विधि छ । शरीरलाई जहिले पनि ३७ डिग्री सेन्टिग्रेड तापक्रममा कायम राख्नुपर्छ । त्यसका लागि शरीरले आफैँ पसिना बढी निकाल्ने, चाहियो भने कम पसिना निकालेर तातो ‘रिजर्भ’ गर्ने गर्छ । तर, उमेर बढ्दै जाँदा यस्तो प्रणाली कमजोर हुँदै जान्छ र बाहिरको मौसमले निकै प्रभाव पार्ने गर्छ । यसबाट जोगिन शरीरको सामान्य तापक्रमभन्दा बढी तापक्रममा नबस्ने गर्नुपर्छ ।

गर्मीमा पनि हाम्रो देशमा किसानहरुलाई खेतमा काम गर्नैपर्ने हुन्छ । सडकमा बाहिर काम गर्नेको पनि आफ्नै बाध्यता छ । यसो हुँदा दिनमा दुई/तीन घण्टा आफूलाई शीतलमा राख्ने गर्नुपर्छ । प्रशस्त पानी पिउने, सुतीको लुगा लाउने गर्नुपर्छ । सुतीको लुगाले शरीरको तापक्रम सामान्य बनाउन एकदमै सहयोग गर्छ । 

हामी सामान्य अवस्थामा मानिसलाई दिनको दुई लिटर पानीको आवश्यक्ता पर्छ तर,  गर्मीमा चार/पाँच लिटर खानु पर्ला । यसो भन्दा पिसाबबाट धेरै नुन गएर शरीरमा नुनको  कमी पनि हुन जाने हुँदा सादा पानीभन्दा पनि केही नुनिलो चिज मिसाएको पानी खाँदा राम्रो हुन्छ । पानीको कमी भयो कि भएन भन्ने कुरा पिसाबको रंगबाट थाहा हुन्छ । पानी खाने मात्रामा फरक परे पनि सामान्यतया मानिसले दिनमा सात/आठ पटक पिसाब फेर्छ । गर्मी मौसममा चार/पाँच घण्टादेखि पानी खाएको छैन भने ओठ, तालु सुक्न थाल्छ, आँखा झमझम हुन थाल्छ, टाउको दुख्न थाल्छ, हातहरु सुक्खा हुन थाल्छ । त्यो भनेको शरीरमा पानी कमी भयो भन्ने बुझ्नुपर्छ । अर्को भनेको पिसाबको रंगबाट पनि पानी कम भएको थाहा पाउन सकिन्छ । 

पानी छान्ने काम मिर्गौलाले नै गर्छ । पानी शरीरमा रहेर तापक्रमलाई यथावत राखिरहने भने छाला नै हो । यसकारण पानी कम हुने बित्तिकै पहिले भनेको छालामा असर पर्छ र अलि लामो समय भयो भने मिर्गौलामा असर गर्छ । 

शरीर सुरक्षित राखेर काम गर्ने

अहिलेको आधुनिक समयमा मानिसहरुले पहिलेको कुरा धेरै बिर्सिए । पहिले खेतबारीमा पनि काम गर्दा रुखहरु टन्नै हुन्थ्यो र शीतलमा बस्न पाइन्थ्यो । तराई तथा अन्यत्र पनि गर्मी छल्नका लागि विशेष किसिमको ओढ्ने स्याखुको प्रयोग गरिन्थ्यो । 

मुख्य कुरो भनेको गर्मीमा आफूले आफूलाई कसरी जोगाउन सकिन्छ, आफूलाई के गर्दा सजिलो हुन्छ भनेर आफैँले विचार गर्ने हो । गर्मीमा काम छ जसरी पनि गर्ने भन्दा पनि आफ्नो शरीर सुरक्षित राखेर काम गर्नु प्रमुख कुरा हो । त्यसका लागि बेला बेलामा पानी पिइरहने र मुख्य कुरा भनेको दिउँसो काम नगर्ने, कम्तीमा तीन घण्टा शरीरलाई शीतल वा सामान्य तापक्रममा राख्ने । त्यो भने ३७ डिग्री सेल्सियसमा राख्ने हो । घाममा लगातार काम गर्ने भन्दा पनि केही समय काम गरेर शीतलमा बसेर आराम गर्ने वा अलि लामो समय काम गरेपछि दुई/तीन घण्टा शरीरलाई उसको चिस्याउने क्षमता अनुसार शीतलमा बसेर आराम दिने गर्नुपर्छ । 

विद्यालय जाने केटाकेटी तथा कामकाजी मान्छेले एकै पटक दुई/तीन घण्टामा धेरै पानी खानुभन्दा कम्तीमा पनि एक/एक घण्टामा केही पानी पिउने गर्नुपर्छ । एक/एक घण्टामा थोरै थोरै पानी पिउने बानीले शरीरलाई चिसो, ठण्डा बनाउन मद्दत गर्छ । 

हाम्रो जस्तो गरीब राष्ट्रमा यस्तो कपडा लगाउनुस् उस्तो कपडा लगाउनुस् भनेर भन्न नमिल्ला । तर, शरीरमा तापक्रम भित्र जान र बाहिर निस्कन पनि सुतीको कपडाको ठूलो महत्त्व भएकोले सकभर सुतीको कपडा प्रयोग गर्दा राम्रो । महँगो त पर्छ तर, शरीर ठूलो हो कि अरु कुरा ठूलो हो त्यो भने आफैँले सोच्ने कुरा हो । शरीरमा नकारात्मक प्रभाव नहुने गरी काम गर्नैपर्छ । सबैले आफ्नो शरीरको ध्यान दिनैपर्छ ।

रक्तप्रवाह बढ्ने खाना नखाने

गर्मीको समयमा जाँडरक्सी पिउनु हुँदैन । रक्तप्रवाह बढ्ने भएकोले गह्रुँगो खाना खानु हुँदैन । खाना खाँदा तीन/चार पटक अलि अलि गर्दै खाने जसले पच्न सजिलो हुन्छ । यो बेलामा धेरै प्रोटिनयुक्त खानेकुरा, धेरै चिनी तथा कफी खानु पनि राम्रो होइन । शरीरबाट पसिना गएको आधारमा सादा पानी तथा धेरै नै पसिना गएको छ भने अलि अलि नुन हालेर खाँदा पनि राम्रो हुन्छ । 

विशेषगरी हाम्रो देशमा वा काठमाण्डौमा धेरै चिसो तापक्रम नहुने भएकोले शरीरले चिसो नपचाउन सक्छ । युरोपमा चिसो लागेको बेलामा पनि आइसक्रिम खान दिने चलन छ । तर, हामीकहाँ त्यस्तो गरिँदैन । यसमा हाम्रो शरीरको कोषले अहिलेसम्म कसरी काम गरेको छ त्यसमा भर पर्छ । गर्मी भयो भनेर सिधै फ्रिजबाट चिसो झिकेर खाँदा चिसोको संक्रमण हुनेलाई पक्कै पनि असर गर्छ । यसरी खाँदा घाँटीमा पनि संक्रमण हुन सक्छ ।

गर्मी भयो भन्दैमा एसी, कुलर तथा पंखा पनि जथाभावी चलाउनु हुँदैन । एसी, कुलर पंखा चलाउँदा पनि त्यसलाई कसरी चलाउने भन्नेमा निर्भर हुन्छ । फाइदा बेफाइदा सबै चिजको हुन्छ । कुलर चलाउँदा विशेष किसिमको संक्रमण हुनसक्छ । एसीको पानीमा संक्रमण गर्ने किटाणु बसेको हुनसक्छ त्यसकारण कोठामा पुगेर एसी कति घण्टा चलाउने कसरी चलाउने भन्ने कुराको ज्ञान भने हुनुपर्छ । 

घरमा एसी चलाउँदा पहिले आउने दुषित हावा झ्याल खोलेर बाहिर जान दिएपछि मात्रै एसी चलाउँदा राम्रो हुन्छ । धेरैले बन्दा कोठामा एकै पटक १२/१४ घण्टापछि एसी खोल्दा त्यसको हावाले असर गर्न सक्छ । गाडीहरुमा पनि झ्याल बन्द हुन्छ अनि एकै पटक गएर एसी खोल्ने चलन छ । त्यो राम्रो होइन । यसले श्वासप्रश्वास तथा चिसोको एलर्जी भएकालाई धेरै गाह्रो बनाउँछ ।

मांसपेशीले चुस्त काम नगर्दा थकान

छालाले तापक्रमलाई सन्तुलनमा राख्ने काम गर्छ । घामले सिधा छालालाई असर गर्दा पसिना आउने अनि त्यसमा भएको तैलीय पदार्थले छालाको श्वासप्रश्वास प्रणालीमा असर पुग्न जान्छ र तापक्रम सन्तुलन राख्ने कुरामा प्रभाव पर्छ । हाम्रो मांशपेशी सोडियम, पोटासियमको च्यानल हुन्छ जसले मांशपेशीलाई सक्रिय गर्ने काम गर्छ । तर, गर्मीले पसिना बढी आउने अनि तातोले पानीको मात्रा तलमाथि हुने हुँदा मांशपेशी अलि कमजोररुपमा बसेको हुन्छ । तातोले नसाको काम गर्ने प्रक्रिया पनि कमजोर बनाउँछ । विचारहरु ल्याउने लाने प्रक्रियामा पनि असर गर्छ । र मांशपेशीको काम गर्ने प्रक्रिया चुस्त नहुँदा थकावट महसुस हुन्छ ।

तापक्रमको समस्याले हाम्रो ‘ग्यास्ट्रोइन्टेस्टाइनल ट्रयाक’ अर्थात् खाना पचाउने प्रणालीमा प्रभाव पारेको हुन्छ । त्यसकारण धेरै खाना खाँदा पाचन क्रियामा गाह्रो भएर नकारात्मक असर हुने हुँदा थोरै थोरै तीन/चार पटक खाने गर्नुपर्छ । तुरुन्तै पच्ने सागपातहरु खाँदा शरीरको ‘मेटाबोलिजम’ अलि कम हुन्छ । ‘मेटाबोलिजम’ धेरै हुँदा शरीरमा ताप बढ्छ र यस्तो बेलामा शरीरको तापक्रम घटाउनु पर्ने कारणले ‘मेटाबोलिजम’ धेरै भएका कुराहरु नखाँदा राम्रो हुन्छ ।

केटाकेटीले आफूलाई ख्याल राख्न नसक्ने हुँदा गर्मीको समयमा आमाबुवाले नै ख्याल गर्नुपर्छ । स्कुलले आमाबुवालाई स्कुलमा बोलाएर भए पनि बच्चाहरुलाई गर्मीको समयमा कसरी ख्याल गर्ने, तापक्रमले कस्तो असर गर्छ भन्ने बारेमा ज्ञान दिनुपर्छ । सहरका बच्चाहरु अहिले धेरै बाहिर ननिस्कने भए पनि गाउँमा पनि धेरै बाहिर निस्केर खेल्न दिनु हुँदैन ।

गर्मीमा ‘हिट स्ट्रोक’

गर्मीमा ‘हिट स्ट्रोक’ पनि हुनसक्छ । हिट स्ट्रोक भनेको ४० डिग्रीभन्दा माथि तापक्रम भएपछि शरीरले आफ्नो तापक्रम सन्तुलन राख्ने क्षमता गुमाउने हुँदा यसले ज्यान जाने खतरा पनि हुन्छ । यस्तो कुराहरु स्कुलको पाठ्यक्रममा पनि राख्नु जरुरी छ । 

बुढाबुढीलाई भने गर्मीले ‘मेटाबोलिक रेट’ मा असर पुर्याउने हुनाले बाहिर हिँड्न नदिएर भित्र शान्त र शीतल वातावरणमै राख्ने हो । यस्तोमा ‘हिट स्ट्रोक’ हुने सम्भावना हुन्छ । माछा, मासु धेरै दिँदा पाचन क्रियामा नकारात्मक असर पर्ने हुँदा शाकाहारी खानेकुरामा जोड दिनुपर्छ । घरभित्र बसेर थोरै थोरै पानी खानु नै यसबाट जोगिने उत्तम उपाय हो । गर्मीमा बच्चाहरुले बाहिर खेलेर दिनको दुई/चार पटक नुहाउँदा पनि खास असर भने पर्दैन । 

अहिले तराईका धेरै जिल्लामा ४० डिग्री सेल्सियसको हाराहारीमा तापक्रम छ । यस्तोमा सादा खाना, पानी बेला बेलामा खाने, मानसिकरुपमा शान्त राख्ने, सुतीको लुगा लगाउने गर्नुपर्छ । गर्मी पनि कम आद्रता भएको हो कि बढी आद्रता भएको हो भन्ने कुरामा विचार पुर्याउनुपर्छ । बढी आद्रता छ भने शरीरबाट पसिना धेरै बाहिर जान सक्दैन त्यसले झनै गर्मीको अनुभव हुन्छ । 

धेरै गर्मी हुँदा ‘लू’ को समस्या

नाकबाट हामी जब सास लिन्छौँ त्यहाँ केही रौँ हुन्छ र त्यहाँ ‘म्युकोजल लेयर’ पनि हुन्छ । त्यसमा तरल पदार्थ हुन्छ त्यसले हामीले सास भित्र लिँदा त्यसले तापक्रम सन्तुलनमा राख्दै फोक्सोमा पुर्याउने काम गर्छ । तापक्रमले गर्दा त्यो ‘म्युकोजल लेयर’मा व्यवधान भएर सुख्खा हुन्छ । सामान्य अवस्थामा बाहिरको तातो हावा छानेर सामान्य बनाएर फोक्सोमा पुग्नुपर्नेमा सिधै पुग्दा फोक्सोको तापक्रम बढी भएपछि फोक्सोको कोषहरुले पनि सही ढंगले काम गर्न सक्दैन । त्यसपछि बिरामीलाई टाउको दुख्ने, भ्रम हुने, सास फेर्न गाह्रो हुने, बेहोस हुने, आँखा तिर्मिराउने हुन्छ जसलाई हामी ‘लू’ भन्छौँ । 

तिर्खा लागेको छ, धेरै टाउको दुखे पनि निर्णय गर्न सक्ने क्षमता अनि सोच्न सक्ने क्षमता छ भने तातोले थकावट मात्रै भएको छ भन्ने बुझ्नुपर्छ । तर सोच्ने, निर्णय गर्ने क्षमता नै गडबड हुन थाल्यो भने त्यस्तो अवस्थामा भने अस्पताल जानुपर्छ । होइन भने शीतल ठाउँमा बस्ने, पानी खाने, लुगाहरु कस्सिएका छन् भने खुकुलो बनाउँदा पनि गर्मीबाट जोगिन सकिन्छ । 

न्यून आद्रता भएको गर्मीमा पानीका बाफ कम हुन्छ । यस्तो बेलामा गर्मीबाट हुने संक्रमणहरु बढी हुने गरेको अनुसन्धानले देखाएको छ । सन् २०१८ मा मुगुमा जहाँको अधिकतम तापक्रम सात डिग्री हुन्छ त्यहाँ मलेरिया देखियो । त्यस्तै दुई हजार मिटरमाथि लामखुट्टे पुगिसके । डेंगीको भुसुना पनि दुई हजार मिटर माथि पुगिसक्यो । तापक्रमका कारण पहिलेका चिसा ठाउँमा पनि विभिन्न किसिमका संक्रमणहरु पुगिसके । 

३२ डिग्री तापक्रमसम्म एकदम लामखुट्टे बढी लाग्छ । तर, तापक्रम धेरै भयो भने लामखुट्टे आउँदैन । गर्मीमा खानेकुरा छिटो कुहिने, सड्ने भएकोले पेटसम्बन्धी संक्रमण बढी हुनसक्छ । डेंगीलगायतका संक्रमण भने अब बढ्ने हुन्छ ।

गर्मी भएर पानी परेपछि पानीका कारण हुने रोगहरु ‘वाटर बर्न डिजिज’ बढ्ने गर्छ । पानी परेपछि टायर, फुटेको भाँडा आदिमा जमेको पानीमा डेंगीले लार्भा उत्पादन गर्ने हुनाले डेंगी फैलने हुन्छ । यसकारण पानी जम्ने ठाउँहरु पुर्नुपर्छ । त्यस्तै मलेरियाको लामखुट्टेले राति टोक्छ भने डेंगीको लामखुट्टेले दिउँसो टोक्छ । त्यसकारण दिउँसो बाहिर काम गर्नेले पूरा लुगा लगाउने गर्नुपर्छ । लामखुट्टेबाट जोगिन दिउँसो लामखुट्टे विरोधी क्रिम तथा राति सुत्दा झुलको प्रयोग पनि गर्नुपर्छ । यति हुँदा लामखुट्टेबाट हुने संक्रमणबाट ५० प्रतिशत जोगिन सकिन्छ । 

(पाटन अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा. विजय थापासँगको कुराकानीमा आधारित)
 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा. विजय थापा

डा. थापा पाटन अस्पतालमा सरुवा रोग विशेषज्ञका रुपमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया