विमानस्थल पूर्णरुपमा सञ्चालनमा नआउँदा ८० अर्ब लगानी डुब्ने जोखिम, निजी क्षेत्र चिन्तित

 असार २, २०८० शनिबार १२:३६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन नसक्दा निजी क्षेत्रले लगाएको ८० अर्ब बराबरको लगानी जोखिममा परेको भन्दै निजी क्षेत्र चिन्तित देखिएको छ । 

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गते उद्घाटन भई सञ्चालनमा आउँदा निकै खुशी र आशावादी देखिएको निजी क्षेत्र यतिबेला चिन्तित छ । विमानस्थल सञ्चालनमा आएको एक वर्षसम्म पनि कुनै अन्तर्राष्ट्रिय उडान अहिलेसम्म नियमित हुन नसकेको भन्दै निजी क्षेत्र निराश बनेको हो ।

यतिबेला विमानस्थललाई लक्षित गरी निजी क्षेत्रले विभिन्न क्षेत्रमा गरेको ८० अर्ब भन्दा बढी लगानी डुब्ने चिन्ता यस क्षेत्रका उद्योगी व्यवसायीहरुले व्यक्त गरेका छन् । विमानस्थल पूर्ण क्षमतामा नचल्दा निजी क्षेत्रको ८० अर्बको लगानी खेर जान लागेको भन्दै तत्काल विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने वातावरण सरकारले बनाउन निजी क्षेत्रले माग गरेका छन् । विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि सरकारबाट नै पहल नभएको आरोप निजी क्षेत्रको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले विमानस्थललाई आधार बनाएर निजी क्षेत्रले लुम्बिनीमा होटल,पर्यटन क्षेत्रमा अर्बौं लगानी गरेको बताउनु भयो। उहाँले निजी क्षेत्रले अर्बौंको लगानी गरे पनि विमानस्थल राम्रोसँग सञ्चालनमा आउन नसक्दा निजी क्षेत्र निराश रहेको बताउनु भयो । उहाँले विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान भर्ने वातावरण सरकारले बनाउन नसक्दा उद्योगी व्यवसायीहरुमा आफ्नो लगानी डुब्ने त्रास दिनप्रतिदिन बढ्दै गएको उहाँकाे भनाइ छ ।

 उहाँले भन्नुभयो, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार भयो । राज्यको ४० अर्ब रुपैयाँ लगानी भएको छ । निजी क्षेत्रले विमानस्थल परियोजना बनेको आधारमा होटल,पर्यटन,रेष्टुरेण्ट,हार्डवयर क्षेत्रमा लगानी वृद्धि गर्दै ८० अर्ब रुपैयाँ लगानी गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थलपूर्ण रुपमा सञ्चालन भएर २० हजार बढीको मानिसहरुको आवातजावत भएर चहलपहल बढ्छ भन्ने थियाे । त्यसैले हाेटेल, पर्यटन, शिक्षा, प्रविधिको क्षेत्रमा लगानी बढेको थियाे । तर अहिले ती लगानीहरु अलपत्र भएका छन् . ७०/३० प्रतिशत वित्तीइ संस्थाबाट ऋण लिएका छौं । उक्त लगानी जोखिममा परेको अवस्था छ ।'

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीको भारत भ्रमणमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका विषयमा भारत सरकारसँग पहल गरेकाले आशाको संकेत देखिएको बताउनु भयो । उहाँले विमानस्थल सञ्चालनसँगै पर्यटन क्षेत्रमा उद्योगी व्यवसायीहरुले धेरै ठूलो लगानी भएकाले तत्कालको लागि जोखिम देखिएको बताउनु भयो । उहाँले सरकारले विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याएर निजी क्षेत्रको अर्बौंको लगानी सुरक्षित बनाउन आवश्यक रहेको बताउनु भयो ।

त्यस्तै, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको माग गर्दै पटक–पटक मन्त्री, प्रधानमन्त्री, सचिव, ठूला राजनीतिक दलका नेता आउँदा निजी क्षेत्रले ज्ञापनपत्र बुझाएपनि अहिलेसम्म पहल नभएको बताउनु भयो । उहाँले उद्योगी व्यवसायीहरुले विभिन्न समयमा धर्ना समेत दिएर दबाबमूलक कार्यक्रम सञ्चालन गरे पनि सुनुवाई नभएको गुनासो गर्नुभयो । उहाँले सरकारले ४० अर्ब लगानी गरेको क्षेत्रलाई आधार मानेर निजी क्षेत्रले ८० अर्ब लगानी गर्दा जोखिम देखिएको बताउनु भयो । उहाँले सरकारले काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ वटा उडान हुँदा लुम्बिनीबाट एउटा उडान गर्ने व्यवस्था लागू गर्नु आवश्यक रहेको बताउनु भयो । 

विमानस्थल सोचेअनुसार सञ्चालनमा आउन सकेको छैन । केही समय पहिला अलजजिराले अन्तर्राष्ट्रिय उडान भरे पनि अहिले उडान भर्न छाडेको छ । गएकाे मंगलबार नेपाल वायुसेवा निगमको मेलेसियाबाट आएको एउटा जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । अब निगमले एउटा उडान यस विमानस्थलबाट गर्ने तयारी गरिरहेको छ । विमानस्थल निर्माणसँगै भैरहवा आसपासका क्षेत्रमा तारे होटल र साना–ठूला गरी एक सय ४६ वटा होटल सञ्चालनमा छन् । 
 

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया