'अतिविशिष्ट र विशिष्ट व्यक्तिहरु विदेशमा उपचार गर्न गए सरकारले खर्च दिँदैन'

 साउन १२, २०८० शुक्रबार १९:८:५८ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनकुमार बस्नेतले वीर अस्पतालमा सेवा हुँदाहुँदै अतिविशिष्ट र विशिष्ट व्यक्तिहरु विदेशमा उपचार गर्न गएमा सरकारले खर्च नदिने बताउनुभएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को एक सय ३४औँ वार्षिकोत्सवका अवसरमा मन्त्री बस्नेतले यस्ताे बताउनु भएकाे हाे । 

उहाँले इतिहास बोकेको वीर अस्पतालमा भीआईपी र भीभीआईपी क्याबिन विस्तार गरिएको तथा १५ जना चिकित्सकको टोली परिचालन गरिएकाले अतिविशिष्ट र विशिष्टदेखि आम नागरिकलाई स्वास्थ्य सेवा दिन सक्षम छ भन्ने सन्देश विश्वलाई दिनुपर्ने बताउनुभयो । उहाँले यस कार्यमा कुनै कमजोरी नगर्न अस्पतालको व्यवस्थापनलाई आग्रह गर्दै मन्त्रालयले आवश्यक सहजीकरण गर्ने विश्वास दिलाउनुभयो ।

कस्तुरीले आफ्नो बास्ना थाहा नपाएझैँ वीर अस्पतालले आफ्नो सेवाको गुणस्तर र क्षमताबारे आफैँले थाहा नपाएजस्तो हुन नहुने उहाँले बताउनु भयाे । आफूले मन्त्रालयकाे नेतृत्व लिएपछि राष्ट्रिय योजना आयोगले घटाएर ल्याएको बजेटको सिलिङमा करिब १० अर्ब रुपैयाँ थपेको उहाँले बताउनु भयाे । 

समाज सेवामा नाफा लिने नियत गलत राख्न नहुने उल्लेख गर्दै उहाँले दश प्रतिशत गरिब, विपन्न, बेवारिसे तथा असहाय केन्द्रीय अस्पतालमा तीन हजार पाँच सय २३ शय्या निःशुल्क र सरकारी अस्पतालमा विद्युतीय टिकट अनिवार्य गराइएकाले बिरामीलाई सेवा दिने सवालमा कुनै सम्झौता नगर्न पनि निर्देशन दिनुभयो । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रका दक्ष जनशक्तिलाई स्वदेशमै काम गर्न सक्ने सहज वातावरण निर्माण गर्ने जनाउनुभयो ।

'कुनै बेला यही वीर अस्पतालले दश महिनासम्म कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था खेपेको थियो ।' उहाँले भन्नुभयो, 'अहिले उत्साहजनकरुपमा सेवा सुविधा र व्यवस्थापनसमेतमा सुधार आएको छ । म यसमा तपाईँहरुलाई धन्यवाद दिन चाहान्छु । अझै सेवाको स्तर बढाउने काममा दत्तचित्त भएर लाग्नुस् । सुशासन कायम गर्नुस् । तपाईँहरुको सेवा सुविधा अपुग भएमा सरकारले प्रबन्ध गर्नेछ । म मन्त्रीको हैसियतले अशल अभिभावको भूमिका खेल्नेछु ।' कार्यक्रममा मन्त्री बस्नेतले उत्कृष्ट कार्यसम्पादन गर्ने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई विभिन्न पुरस्कारबाट सम्मान प्रदान गर्नुभएको थियो ।

अहिले वीर अस्पतालका सात शय्या विपन्नका लागि निःशुल्क गरिएको छ ।  ओपीडी सेवा बिहान ८ बजेदेखि सञ्चालन गरिएको छ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईँले वीर अस्पताल देशको स्वास्थ्य क्षेत्रको बिम्ब भएकाले यसको विकासमा मन्त्रालयले हरदम सहयोग गर्ने जनाउनुभयो । चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले न्याम्सले दक्ष जनशक्ति उत्पादनलाई महत्त्वका साथ अगाडि बढाइरहेको बताउँदै निकट भविष्यमै आईसीयूको सङ्ख्या बढाएर सञ्चालन गरिने जनाउनुभयो ।

वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले १५ शय्याबाट शुरु भएको अस्पतालमा अहिले नौ सय ६६ शय्या सञ्चालन हुन थाले पनि त्यसअनुसार बजेट वृद्धि हुन नसकेको बताउनुभयो । चालु आर्थिक वर्षमा अस्पतालका लागि ७३ करोड रुपैयाँ मात्र बजेट विनियोजन भएकाे छ ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया