कर्णाली प्रदेश सरकारले रातो किताब उपलब्ध गराएपछि संसद सुरु भयो

 कात्तिक १३, २०७५ मंगलबार १९:५६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेश सरकारले बजेट ल्याएको झण्डै चार महिनापछि सांसदहरुलाई रातो किताब उपलब्ध गराएको छ ।

रातो किताब उपलब्ध गराएपछि साढे दुई महिनापछि कर्णालीमा प्रदेश संसदको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले रातो किताब उपलब्ध गराउनुपर्ने, प्रदेशसभा सदस्यहरुको सेवा–सुविधा सम्बन्धी महत्वपूर्ण विधेयकहरु ल्याउनुपर्ने र सरकारका काम काबाहीका विषयमा मुख्यमन्त्रीले जवाफ दिनुपर्ने मागहरु राखेर संसद अवरुध गरेपछि रातो किताब उपलब्ध गराएको हो ।

गएको साउन २५ गते यता संसद चल्न सकेको थिएन । सरकारले बिजनेश नदिएका कारण दुई महिनासम्म स्थगित संसद बैठक असोज २३ गते बसेको थियो । त्यस पछि बैठक पटक–पटक अवरुद्ध हुुँदै आएको थियो ।

कर्णाली प्रदेश सरकारले रातो किताब उपलब्ध गराएपछि मुख्यमन्त्रीले जवाफ दिएपछि मंगलबार प्रदेशसभाको बैठक बसेको छ । मंगलबार दिउँसो १ बजे बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेट कार्यान्वयनमा सबैले सहयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले योजना ब्रेक–डाउन गर्न ढिलो भएकाले रातो किताब छिटो ल्याउन नसकिएको बताउनुभयो । यस्तै मुख्यमन्त्री शाहीले आगामी वर्ष बजेट विनियोजन गर्दा बृहत छलफल गरेर गरिने विश्वास दिलाउनुभयो ।

उहाँले बजेट कार्यान्वयन गर्नका लागि साथ दिन पनि आग्रह गर्नुभयो । उहाँले बजेट सरकारकै खातामा भएकाले भ्रष्टाचार भयो भनेर भन्नु गलत रहेको बताउनुभयो । ‘बजेट सरकारकै खातामा रहेको छ । सरकारको खातामा बजेट हुँदाहुँदै कसरी भ्रष्टाचार हुन्छ ?’, उहाँले भन्नुभयो, ‘अब बरु कार्यान्वयनमा तपाईँहरुले सहयोग गर्नुहोस ।’

यसैबीच मंगलबारको संसद बैठकले कर्णाली प्रदेशका गाउँ तथा नगरसभा सञ्चालनका लागि बनेको विधेयक पारित गरेको छ । यस्तै प्रदेशसभाका सदस्यहरुको सेवा सुविधा सम्बन्धी विधेयक बैठकमा पेश भएको छ । संसदको अर्को बैठक बुधबार बस्नेछ ।
 
 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया