पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य शुरू
माघ ८, २०८१ मंगलबार
काठमाण्डाै – नेपालमा पाँच वर्षमुनिका प्रत्येक चारमध्ये एक जना बालबालिकामा पुड्कोपना हुने गरेको अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रत्येक एक सय जना बालबालिकामध्ये २५ जनामा पुड्कोपना देखिने गरेको हो । विज्ञहरूका अनुसार बालबालिकाको खानपानमा कमी र उमेरअनुसार पोषणको अभाव भयो भने पुड्कोपना देखिन्छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखा प्रमुख लीलाविक्रम थापाले नेपाल स्वास्थ्य जनसाङ्ख्यिक सर्भे सन् २०२२ को तथ्याङ्कअनुसार नेपालमा प्रत्येक चार जनामध्ये एक जना बालबालिकामा पुड्कोपना रहेको र पछिल्लो वर्षयता पुड्कोपनामा सुधार भएको बताउनुभयो । नेपाल स्वास्थ्य जनसाङ्ख्यिक सर्भे सन् २०१६ अनुसार प्रत्येक एक सयमध्ये ३६ जना बालबालिकामा पुड्कोपना रहेको थियो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा पाेषण शाखा प्रमुख थापाले पुड्कोपनाको प्रमुख कारण पोषणको अभाव रहेको भन्दै घर परिवार सचेत हुँदा पुड्कोपनामा सुधार आउने बताउनुभयो ।
उहाँले पुड्कोपना दीर्घकालीन कुपोषणको सङ्केत रहेको भन्दै यसलाई कम गर्न खानपानमा सुधार ल्याउनुपर्ने बताउनुभयो । थापाले आमाले गर्भमा हुँदा खानपान र सुत्केरी भइसकेपछि बच्चालाई जति सक्दो छिटो स्तनपान, छ महिनासम्म पूर्ण र दुई वर्षसम्म स्तनपान गराउने कुरामा विशेष जोड दिनुपर्ने बताउनुभयो ।
पुड्कोपना हुन नदिन सात सय ५३ वटै पालिकामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागका अनुसार आमा स्वास्थ्य चौकीमा जाँदा बच्चाको तौल, उचाइ, आमाको स्वास्थ्य अवस्था, पोषणलगायतबारे जानकारी लिने गरिन्छ । थापाले पालिकास्तरमा नै उत्पादन भएका खानेकुराबारे उचित किसिमको परामर्श दिने गरेको बताउनुभयो ।
लामो समयसम्म खानपान नपुग्ने अर्थात् खाद्य असुरक्षा पनि पुड्कोपनाको कारण रहेको भन्दै खाद्य असुरक्षाका कारण कर्णालीमा ४४ प्रतिशत बच्चाहरूमा पुड्कोपना रहेको पाेषण शाखा प्रमुख थापाले बताउनुभयो । उहाँले सरकारले पुड्कोपना न्यूनीकरण गर्न कर्णाली प्रदेशका पाँच वटा जिल्ला (हुम्ला, जुम्ला, डोल्पा, कालीकोट र मुगु) मा 'फर्टिफाइड फ्लोर' उपलब्ध गराउँदै आएको र सरकारले छ देखि दुई वर्षमुनिका बच्चा, गर्भवती र ४५ दिनसम्मका सुत्केरीलाई याे वितरण गर्दै आएको बताउनुभयो ।
त्यसैगरी पोषणविद् विनिता पन्तले पुड्कोपना हुन नदिन मातृ पोषण कार्यक्रम आवश्यक रहेको बताउनुभयो । उहाँले गर्भावस्थामा आमालाई र बच्चा जन्मिसकेपछि बच्चालाई पोषणको अभाव हुन नदिए पुड्कोपनाको समस्या नआउने बताउनुभयो । उहाँले बच्चालाई पर्याप्त मात्रामा पौष्टिक तत्त्व पुग्नुपर्ने बताउनुभयो । पाेषणविद् पन्तले स्थानीयस्तरमा जनप्रतिनिधिले समेत पोषण व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । बच्चालाई पौष्टिक तत्त्व पर्याप्त दिनुपर्ने भन्दै घर परिवारको आमा, बुबामा पुड्कोपना छ भने बच्चामा पनि पुड्कोपनाको समस्या देखिन सक्ने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।