मेची भन्सार कार्यालयबाट चिया निर्यात ५५ प्रतिशतले बढ्यो

 माघ ८, २०८१ मंगलबार १३:२१:२१ | रासस
unn.prixa.net

झापा – झापाको मेची भन्सार कार्यालयबाट चालू आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ ।

कार्यालयको तथ्याङ्कानुसार (साउन–पुस) सम्ममा दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ । ६ महिनामा ११ हजार दुई सय ३२ दशमलव २७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो ।

गएको  आर्थिक वर्ष २०८०/८१ को यही अवधिमा एक अर्ब ९० करोड पाँच लाख ६ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको थियो । भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपाली चियाको निर्यात बढेको चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो ।

चिया निर्यातमा नेपाल सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ ।

कार्यालयको तथ्याङ्कानुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म अलैँचीको निर्यात १६ दशमलव सात प्रतिशतले बढेको छ । यस्तै प्लाइउड, सिमेन्ट क्लिङ्कर र भेनियर सिटको निर्यात पनि बढेको छ । फलामे पाता, छुर्पी, अदुवा, काउली, बन्दा, ब्रोकाउली, फलामलगायत वस्तुको निर्यातमा भने कमी आएको छ ।

पूर्वी नाकामा रहेको मेची भन्सारबाट चालु आर्थिक वर्षको ६ महिनामा १३ अर्ब ८४ करोड चार लाख रुपैयाँको मालवस्तु निर्यात भएको छ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया