‘३ महिनाभित्र लाेडशेडिङ अन्त्य गर्ने र प्राधिकरणलाई नाफामा लैजाने घाेषणा गर्दा धेरैले पत्याउँदैनथे’

 भदौ १, २०८० शुक्रबार १३:२३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतको ‘लोडशेडिङ’ को स्मरण गर्दै त्यसको समाधानका लागि गरिएको प्रयासका बारेमा जानकारी गराउनुभएकाे छ ।

नेपाल विद्युत् प्राधिकरणको ३८ औँ वार्षिकोत्सव समारोहलाई आज शुक्रवार सम्बोधन गर्दै उहाँले भन्नुभयाे, ‘प्राधिकरणको ३८ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्न यस रोस्ट्रममा आउँदै गर्दा मैले २०७३ को साउनमा म दोस्रो पटक प्रधानमन्त्री हुँदा देशले बर्खाको समयमा पनि बेहोरिरहेको लोडशेडिङको कहालीलाग्दो अवस्थालाई सम्झिरहेको छु’, उहाँले भन्नुभयो । त्यस बेला बिजुलीको पहुँच भएको ठाउँमा दैनिक १८ घण्टासम्म लोडशेडिङ हुने गरेको र देशका झन्डै ४० प्रतिशत नागरिकको बिजुलीको पहुँचभन्दा बाहिर रहेको तथ्य उहाँले स्मरण गर्नुभयो ।

‘लोडशेडिङका कारण उद्योग व्यवसायको अवस्था दयनीय थियो । नागरिकको दैनिकी नराम्ररी प्रभावित थियो । प्राधिकरणको वित्तीय अवस्था अत्यन्तै नाजुक थियो’, प्रधानमन्त्रीले भन्नुभयो, ‘त्यस बेला मैले तीन महिनाभित्र देशमा लोडशेडिङ अन्त्य गर्ने र प्राधिकरणलाई नाफामा लाने घोषणा गर्दा धेरैले त्यसलाई पत्याउँदैनथे, मजाकको विषय बनाएका थिए ।’ 

प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याएपछि आफूहरूको सङ्कल्प, इमानदारिता र मेहनतका कारण १८ घण्टाको लोडशेडिङ अन्त्य गरेर देशलाई उज्यालोतर्फ अघि बढाएको प्रधानमन्त्रीको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘मैले सरकारको नेतृत्व गर्दा ऊर्जा क्षेत्रको विकासका लागि दूरगामी महत्त्वका निर्णय भएका छन् भने देश र नागरिकको हितमा धेरै काम भएका छन् । प्राधिकरणभित्र नीतिगत सुधार, प्राधिकरणको घाटा अपलेखन गरी वित्तीय सुरक्षा प्रदान, प्राधिकरण व्यवस्थापन र संस्थाको नेतृत्व परिवर्तन गरी लोडशेडिङलाई पूर्णरूपमा अन्त्य गर्दै संस्थालाई नाफामा लाने काम भएको कुरा विदितै छ ।’

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले योग्य र सक्षम जनशक्ति भएको नेपाल विद्युत् प्राधिकरणको संलग्नतामा केही रणनीतिक महत्त्वका ठूला आयोजना अगाडि बढाउने दृढता व्यक्त गर्नुभयाे । उहाँले भन्नुभयो, ‘आउँदा दिनमा एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त परियोजना तथा १० हजार आठ सय मेगावाट क्षमताको बहुआयामिक कर्णाली चिसापानीजस्ता ठूला जलविद्युत् आयोजनाको निर्माण अघि बढाउने सोच र योजना साथ सरकार अघि बढिरहेको अवस्था तपाईँहरू सामु उजागर गर्न पाउँदा मलाई विशेष हर्ष र गर्वको अनुभूति भएको छ ।’

प्रधानमन्त्री प्रचण्डले ठूला र बहुउद्देश्यीय प्रकृतिका आयोजना अगाडि बढाउने सरकारको सोच रहेको बताउनुभयो । बिजुली निर्यातका लागिसमेत स्पष्ट लक्ष्यका साथ सरकार अघि बढिरहेको जानकारी दिँदै उहाँले नेपालको जलविद्युत् विकासका लागि योगदान पुर्‍याइरहेको निजी क्षेत्रको उत्पादित बिजुली समेत खरिद गरिरहेको प्राधिकरणले आफैँ वा आफ्ना सहायक कम्पनीमार्फत आउँदा दिनमा विद्युत्  क्षेत्रमा सशक्त र अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल जलविद्युत् उत्पादनमा अत्यन्त उच्च सम्भावना भएको देशका रूपमा परिचित रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले जलवायु जोखिमसँग सम्बन्धित पक्षलाई समेत मनन गर्दै विना विलम्ब यस अवसरको उपयोगिता लिन हामी पछि पर्नु नहुने बताउनुभयो । आन्तरिक बिजुली खपतको वृद्धि गर्दै ऊर्जा सुरक्षा हासिल गर्नुका साथै स्वदेशी माग पूरा गरी बढी भएको बिजुली बिक्रीका लागि मार्ग प्रशस्त भएकोसमेत उहाँको भनाइ छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया