सङ्खुवासभा कैदी मृत्यु प्रकरणमा प्रहरीसहित १२ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा

 भदौ ४, २०८० सोमबार १९:१५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।

कैदीको हत्या प्रकरणमा संलग्न देखिएका प्रहरी, चौकीदार र कैदीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको हो । कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको थियो ।

कैदी मृत्यु प्रकरणमा प्रहरीसहित १२ जना विरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र गोदारले जानकारी दिनुभयो । अनुसन्धान टोलीको प्रतिवेदन आएपछि थप कारवाहीको प्रक्रिया अघि बढ्ने डीएसपी गोदारले बताउनुभयो ।

घटना लगत्तै गृह मन्त्रालयले कारागार विभागका निर्देशक कमलप्रसाद पाण्डेको नेतृत्वमा पाँच सदस्यीय छानबिन टोली बनाएको थियो । मन्त्रालयले छानबिन टोलीलाई १० दिनभित्र कारागार घटनाको प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । 

कैदी मृत्यु प्रकरणमा प्रत्यक्ष सम्लग्न देखिएका पाँच प्रहरीलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ ।

कारागार सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरीमाथि जिल्ला अदालतबाट भदौ १ गते शुक्रवार दोस्रो पटक पुनः म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

असई चौधरीसहित ११ जना विरुद्ध  कर्तव्य ज्यान मुद्दामा दर्ता गरेर अनुसन्धान भइरेहको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पीडितले दिएको किटानी जाहेरीका आधारमा सहायक निरीक्षक चौधरीसहित कारागार निमित्त प्रमुख राजेन्द्र घिमिरेविरुद्ध जिल्ला अदालत सङ्खुवासभाले गत साउन २८ गते पक्राउका लागि अनुमति दिएको थियो । कारागार निमित्त प्रमुख  घिमिरेलाई भने हालसम्म पक्राउ गरिएको छैन ।  

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया