ओलीकाे आराेप– ‘प्रचण्ड र माधव नेपालले साम्प्रदायिक हिंसा भड्काउँदै छन्’

 भदौ ७, २०८० बिहीबार १६:१५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाउनुभएको छ ।

आज बिहीवार भक्तपुरमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको कार्यक्रममा एमाले अध्यक्ष ओलीले कोशी प्रदेशमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालले जनजातिहरू भिडाएर साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाउनुभयो । उहाँले कोशी प्रदेशमा आन्दोलन गर्नेहरूमा प्रचण्ड र अध्यक्ष नेपालका कार्यकर्ताहरू रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले पूर्वाञ्चलमा उत्पात मच्चाउनेमा प्रचण्डजीका र माधवकुमार नेपालजीका कार्यकर्ता छन् । उहाँहरूले साम्प्रदायिक हिंसा भड्काउन खाेज्नुभएकाे छ । नुवाकोटमा साँढे जुधाउने भन्ने खेल हुन्छ । ती साँढेको केही दुस्मनी नै छैन । भेटेको पनि होइन कहिल्यै । आ–आफ्नो थलोबाट ल्याएर अखडामा भिडाउँछन् । अरू छेउमा बसेर ताली बजाउँछन् । प्रचण्ड र माधव नेपालहरू नेपालीलाई नुवाकोटको गोरु जुधाएजस्तो जुधाएर ताली बजाउन खोजिरहेका छन् । नेपाली लड्नु हुँदैन । शासनमा बस्नेले यस्ता विषयलाई ख्यालख्याल सोचिरहेका छन् । सजग हुनुपर्छ ।’

अध्यक्ष ओलीले सरकारले सुन तस्करीमा आफैँ संलग्न रहेको कुरा ट्याक्सीमा भएका अभियुक्तलाई भगाएर प्रमाणित गरेको दाबी गर्नुभयाे । उहाँले सुन पक्राउ गर्ने क्रममा सँगै ट्याक्सीमा रहेका हर्कबहादुर राईलाई बोलाएको बेला हाजिर हुनु भनेर सुन जम्मा पारिएका ठाउँबाट अन्य व्यक्तिलाई भगाउन लागेको बताउनुभयो ।

ओलीले सुन तस्करी प्रकरणमा अहिले नै उच्चस्तरीय आयोग गठन गरेर अनुसन्धान थाल्ने कुरामा सरकार तयार हुन नसकेको बताउनुभयो ।

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया