इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – खरको छानो र काठका बाकलले घेरिएको छ पदमलाल विश्वकर्माको आरन । टाढाबाट हेर्दै झट्ट देखिन्छ आरन । उहाँको आरनमा छरपस्ट फलामका टुक्रा छन् भने बनाउन ल्याइएका गाउँलेका हँसिया, कोदालो र अन्य फलामका सामग्री रहेका छन् ।
बिहानको खाजानास्तापछिको उहाँको दिनाचार्य हुन्छ फलामसँग जुध्ने । मकवानपुरको बकैया गाउँपालिका–५ निवासी पदललाल ७७ वर्षको हुनुभयो । १३ वर्षको उमेरदेखि पुर्खौली पेसालाई अङ्गाल्दै आउनुभएका पदमलालको छ दशकभन्दा बढी समय आरनमा फलाम पिटेर बितेको छ ।
गाउँघरमा खेतीपाती गर्नेको सङ्ख्या घट्दै गएपछि आरन पेसा सङ्कटमा पर्न थालेको पदमलालले बताउनुभयो । १३ वर्षको कलिलो उमेरदेखि आरन पिट्ने काम गरेको अनुभव सुनाउँदै उहाँले पछिल्ला केही वर्षयता फलाम पिट्ने काम कम हुँदै गएको बताउनुभयो । पछिल्लो समय प्रविधिको विकासले फड्को मारेर खेतबारीमा ट्र्याक्टरको प्रयोग हुन थालेपछि हलो, चाँदे, कोदालीको प्रयोगमा कमी हुँदै जाँदा आरन पेसा सङ्कटमा पुग्न थालेको पदमलालको भनाइ थियो ।
‘आरनबाट दैनिकीसमेत चल्न गाह्रो पर्न थालेपछि युवा पुस्ताले यो पेसा गर्न रुचाउदैनन् । पढाइ तथा रोजगारीका लागि अन्यत्र जानेको जमात बढी छ,’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म आरनबाटै चार जनाको परिवारको जीविकोपार्जन भइरहेको छ । पुर्खौली पेसा भएकाले पनि छाड्न मन लाग्दैन ।’ आफूले अरु काम नजानेको र बाबुबाजेले पनि यही काम गर्दै आएकाले यसलाई नै निरन्तरता दिएको उहाँको भनाइ थियो ।
पदमलालले फलाम ल्याएर हँसिया, कुटो, कोदालो, खुकुरी, दाउलगायत सामग्री परम्परागत रुपमा बनाउने गर्नुहुन्छ । पछिल्लो समय कोइला नपाउने, पाए पनि महँगोमा पाइने हुँदा काममा अप्ठ्यारो भएको उहाँले बताउनुभयो । पहिलेपहिले काम गरेबापत मकै, चामल भाग लिने चलन रहेको बताउँदै अहिले त्यो चलन हराउँदै गएपछि नगद लिने गरेको पदमलालले सुनाउनुभयो ।
‘आँखाले देखुञ्जेल फलाम पिट्छु र जीविकोपार्जन गर्छु भन्ने लाग्छ । गाउँ विकास भयो, मेसिनबाट खेतीपाती लगाउन थाले । तैपनि केही चिज आरनमै बनाउन आउँछन्, खुसी लाग्छ,’ उहाँले भन्नुभयो, ‘बजारमा फलामका काम गर्ने ग्रील उद्योग खुलेका छन् । त्यसैले पनि आरन आउन छाडेका हुन् । प्रविधिको विकाससँगै पेसालाई बदल्न नसक्दा गाउँका कतिपयले आरन पेसा बन्द गरेर अन्य पेसा गरिरहेका उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।