सिमेन्ट उद्योगको प्रदूषणबाट बिरामी

 भदौ १५, २०८० शुक्रबार २०:३१:४७ | रासस
unn.prixa.net

धादिङ – धादिङको धुनीबेसी नगरपालिका–९ जुगेडीमा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगबाट स्थानीय पीडित बनेका छन् । उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणका कारण स्थानीय बिरामी पर्न थालेका छन् ।

शरीरभरी फोका आउने, चिलाउने, घाँटी सुक्नेजस्ता समस्याले स्थानीय हैरानी खेप्न बाध्य भएका छन् । पछिल्लो समय एलर्जीको समस्या जटिल बनेको छ । उद्योग सञ्चालन मापदण्ड पूरा नगरेर प्रदूषण बाहिरिएकै कारण मानव स्वास्थ्यमा त्यसको प्रत्यक्ष असर परेको स्थानीयको भनाइ छ ।

उद्योग सञ्चालन हुन थालेको केही वर्षयता सामान्य रुघाखोकी र ज्वरोले मात्रै सताए पनि अहिले स्वास्थ्यमा दीर्घरोग देखिन थालेको छ । स्थानीय लक्ष्मी राई भन्नुहुन्छ, ‘उद्योगबाट निस्कने प्रदूषण बन्द भएन भने हामी अब यहाँ बस्न सक्ने अवस्था रहेन, ज्यान बचाउनकै लागि हामीले थाकथलो छाडेर जानुपर्ने अवस्था आयो ।’

सिमेन्ट उद्योगबाट निस्केको प्रदूषणका कारण जुगेडीका दुई सयभन्दा धेरै जना प्रत्यक्ष मारमा छन् । स्थानीयका अनुसार यहाँका झन्डै ५० जनाभन्दा बढीले अहिले घाँटी, छाला र आँखाको उपचार गराइरहेका छन् । धेरैले आफूखुशी उपचार गराइरहेका छन् भने केहीले उद्योग व्यवस्थापन पक्षकै व्यक्तिको रोहबरमा जाँच गराएका छन् ।

जाँच गर्न अस्पताल पुग्दा उद्योग व्यवस्थापन पक्षका व्यक्तिले स्वास्थ्यकर्मीलाई नै दबाबमा पार्ने गरेको पीडितको भनाइ छ । जाँच गरेपछि अस्पतालले दिएको रिपोर्टसमेत उद्योगका मानिसले राखेर आफूलाई हेर्न नदिएको उनीहरू बताउँछन् । घाँटी सुक्खा हुने र शरीरमा फोका आएर चिलाउने समस्या भएपछि केही दिनअघिमात्रै काठमाण्डौको वीर अस्पतालमा जाँच गराउँदाको रिपोर्ट नदिएको राईले बताउनुभयो ।

‘अस्पताल पुग्नेबित्तिकै टिकट उद्योगकै प्रतिनिधिले काट्नुभयो, लाइन बस्नु पनि परेन, शुरुमा दुई जनालाई सिधै भित्र छिराउनुभयो, रिपोर्टमा चाहिँ केही देखिएन, सामान्य छ भन्यो’, उहाँले भन्नुभयो, ‘रिपोर्ट हामीलाई दिनुभएन, पहिला पनि जाँच गरेको केही देखिएन भन्नुभयो, रिपोर्ट हामीलाई दिनु भन्दा माथि देखाउनुपर्छ, तपाईँको घरघरमै ल्याइदिन्छौँ भनेर हामीलाई हेर्नै नदिई लग्नुभयो, हामीलाई रिपोर्ट हेर्न दिएन ।’

राईका अनुसार जाँचका क्रममा रगत, खकार, पिसाब, मधुमेह, रक्तचाप सबै जाँच भएको र डाक्टरले पनि कुनै समस्या नदेखिएको मौखिक जवाफ दिएको थियो । हामीलाई रोग नै नलागेको हो कि उद्योगका व्यक्तिले डाक्टरलाई नै दबाबमा राखेर लुकाइदिन लगाइदियो हामीले पत्तो लाउन सकेनौँ’, स्थानीय शोभा राईले भन्नुभयो ।

शोभाको घरमा शोभासहित श्रीमान् र छोराले पनि नियमित एलर्जीको औषधि प्रयोग गरिरहनुभएको छ । अस्पताल जाँदा एलर्जी हो भनेर पठाउने गरेको र के कारण एलर्जी भयो भन्ने कुरा नखुलाइदिने गरेको उहाँको भनाइ छ । उद्योग सञ्चालनमा आएको पाँच/छ वर्षसम्म खासै समस्या नभए पनि बिस्तारै असर देखिन थालेको स्थानीयको भनाइ छ । वृद्धवृद्धामा दम खोकीको समस्या देखिएको स्थानीय रमेश राईले बताउनुभयो ।

उद्योगबाट निस्कने प्रदूषणले मानवबस्तीमा मात्र नभएर खेतीबालीमा समेत असर पारेको छ । ‘मानव स्वास्थ्यमा त असर पारेकै छ, बारीमा तरकारी रोपे पनि फल्दैन, फले पनि खान मिल्दैन, तरकारीको पातभरी सिमेन्टको धुलो जमेको हुन्छ, कृषिउपज उत्पादनको पकेट क्षेत्रमा फलफूल र तरकारीको उत्पादन नै हुन छाड्यो’, राईले भन्नुभयो ।

अहिले उनीहरूले समूहगत रूपमै सिमेन्ट उद्योगविरुद्ध दबाब दिने अभियानसमेत चलाएका छन् । स्थानीय रमा राईको संयोजकत्वमा जुगेडी खाद्य अधिकार प्रभावित समूह बनेको छ । स्थानीयले उद्योग र धुनीबेसी नगरपालिकामा ज्ञापनपत्रसमेत पेस गरेका पनि छन् ।

‘वातारणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन माग गर्दा उद्योगले नदिएपछि सूचनाको हक प्रयोग गरेर राष्ट्रिय सूचना आयोगमार्फत प्रतिवेदन प्राप्त गरेका छन्, गएको पुसमा वडा कार्यालयका जनप्रतिनिधि, स्थानीय समुदाय र उद्योग व्यवस्थापन पक्षसँग छलफल पनि भयो, त्यति बेला उद्योग आउजाउ गर्ने सडक बाटो ढलान÷पिच गर्ने र पुराना प्रतिबद्धता लागू गर्ने आश्वासन दिलायो’, उहाँ भन्नुहुन्छ, ‘अहिले नगरपालिकाको न्यायिक समितिमार्फत छलफलका लागि उद्योगको व्यवस्थापन पक्षलाई बोलाउँदा पनि अटेर गरेको छ ।’

धुनीबेसीका वडा नम्बर २, ५ र ९ का बस्ती पनि प्रदूषणको मारमा छ । पशु वस्तुमा पनि मानिसमा जस्तै समस्या देखिएको बताइएको छ । उद्योगबाट निस्कने प्रदूषण नियन्त्रण गर्नका लागि स्थानीयले पटकपटक ध्यानाकर्षण गराउँदै आए पनि उद्योग सञ्चालकले बेवास्ता गरेको स्थानीयले गुनासो गरेका छन् ।  

युनाइटेड सिमेन्ट उद्योगले भने उद्योग सरकारले तोकेको मापदण्डमा रहेर सञ्चालनमा रहेको दाबी गरेको छ । स्थानीयबाट गुनासो आएपछि गाउँका र उद्योगका केही व्यक्तिलाई अस्पताल लगेर स्वास्थ्य परीक्षण गरेर समस्या पत्ता लगाउने काम गरिरहेको उद्योगका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले बताउनुभयो ।

उद्योगको वातावरणीय प्रदूषण मूल्याङ्कन गर्ने प्रक्रिया थालिएको उहाँको भनाइ छ । धुलो बढी निस्किएकाले भारतबाट प्राविधिक ल्याएर काम गरिरहेको जनाइएको छ । उहाँले भन्नुभयो, ‘प्लान्टको एउटा एरियाबाट धुलो बढी निस्किएकाले भारतबाट विज्ञ ल्याएर प्राविधिक जाँच गर्दैछौँ, अहिले १० दिनदेखि प्लान्ट बन्द गरेर उद्योगको उपकरण मर्मतको काम भइरहेको छ ।’ वातावरण मन्त्रालयको मापदण्ड पूरा गरेर नै काम गरिरहेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • नेपालीमान्छे

    Sept. 1, 2023, 9:14 p.m.

    यहि समस्या देशका धेरै ठाउँमा छ। सरकारले उद्योग क्षेत्र र निवास क्षेत्र छुट्टाइदिन सकेन। यता नवलपरासी को सुनवल ०७ ज्यामिरेमा संचालित पाल्पा सिमेन्ट अर्थात् तान्सेन सिमेन्ट को छेउको वस्ती यहि हालतमा छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया