इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – सरकारले एक लाख ७० हजार क्विन्टलभन्दा बढी खाद्यान्न मौज्दात रहेको जनाएको छ । सरकारले कुल खाद्यान्न मौज्दात एक लाख ७० हजार आठ सय दुई क्विन्टल खाद्यान्न मौज्दात रहेको जानकारी गराएको छ ।
आज मङ्गलवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले याे कुराको जानकारी गराउनुभएको हो । उहाँले सुगम जिल्लाहरूमा ४४ हजार छ सय ८२ क्विन्टल र दुर्गम जिल्लाहरूमा १४ हजार चार सय ८२ क्विन्टल चामल मौज्दात रहेको बताउनुभयो । त्यस्तै बोलपत्र माध्यमबाट खुला बजारमा प्राप्त भइरहेको चामल ७२ हजार छ सय ८४ क्विन्टल गरी जम्मा एक लाख ३१ हजार आठ सय ४९ क्विन्टल चामल मौज्दात रहेको उहाँले उल्लेख गर्नुभयो । त्यसैगरी चार हजार छ सय ३२ क्विन्टल धान, भारतबाट आयात कोटाअन्तर्गत प्राप्त हुने ३४ हजार तीन सय २० क्विन्टल गहुँ गरी कुल एक लाख ७० हजार आठ सय दुई क्विन्टल खाद्यान्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग मौज्दात रहेको उहाँले बताउनुभयो ।
मौज्दात रहेको खाद्यान्नबाट तीन महिनासम्मको आवश्यकताको परिपूर्ति हुने मन्त्रालयका सचिव मरासिनीले जानकारी दिनुभयाे । उहाँले भारत सरकारसँग १० लाख मेट्रिक टन धान, एक लाख मेट्रिक टन चामल र ५० हजार मेट्रिक टन चिनी आयात गर्नका लागि उपलब्ध गराउन नेपाल सरकारले पत्राचार गरेको र छिट्टै नै ती वस्तुहरू पाइने बताउनुभयो ।
बैठकमा मरासिनीले सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि मोटा धान प्रतिक्विन्टल तीन हजार एक सय ९८ र मध्यम धान प्रतिक्विन्टल तीन हजार तीन सय ६२ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकिएको जानकारी गराउनुभयो । उहाँले ‘रैथानेमा गर्व गरौँ’ कार्यक्रमअन्तर्गत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका सात पालिकासँग रैथाने बाली खरिदका लागि सम्झौता गरिएको बताउनुभयो । हुम्लाको सर्केगाड, अदानचुली र सिमकोट गाउँपालिकाबाट अहिलेसम्म कागुनो एक हजार दुई सय ६३ केजी, चिनो दुई हजार दुई सय २३ केजी, फापर एक हजार नाै सय पाँच केजी र सिमी एक हजार ८८ केजी खरिद गरी बिक्री भइरहेको पनि जानकारी गराइएको छ ।
सचिव मरासिनीले कर्णाली प्रदेशका कालीकोट, हुम्ला, जुम्ला, मुगु र डोल्पामा शिशु जन्मँदा मातृ पोषणका लागि र मृत्यु संस्कारमा सामाजिक संस्कार पूरा गर्न ७० लाख चार हजार एक सय ८० बराबरको ६२ दशमलव १० मेट्रिक टन खाद्यान्न निःशुल्क वितरण गरिएको पनि बताउनुभयो ।
नेपाल आयल निगम लिमिटेडको ६९ हजार एक सय ९२ किलोलिटर पेट्रोलियम पदार्थ मौज्दात क्षमता रहेकोमा अहिले ५१ हजार पाँच सय ५७ किलोलिटर पेट्रोलियम पदार्थ मौज्दात रहेको जानकारी गराइएको छ । यसबाट डिजल आठ दिन, पेट्रोल पाँच दिन र हवाई इन्धन १३ दिनलाई धान्न सक्ने अवस्थामा रहेको सचिव मरासिनीले बताउनुभयो । त्यसैगरी खाना पकाउने एलपी ग्यास निजी क्षेत्रको भण्डारण क्षमताले झन्डै सात दिनलाई पुग्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
उहाँले बजार अनुगमनका लागि असोज १ गतेदेखि दैनिक १० वटा टोलीलाई बजारमा पठाइने पनि बताउनुभयो । बजार अनुगमनका लागि जिल्ला प्रशासन कार्यालय र स्थानीय पालिकालाई पनि अनुमति दिइएको उहाँकाे भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।