उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - आज विश्व आत्महत्या रोकथाम दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् २०२१ देखि सन् २०२३ लाई त्रिवार्षिक रूपमा ‘कर्मद्वारा आशाको सिर्जना’ नारा तय गरी यसवर्ष पनि यही नाराका रुपमा मनाउन लागिएको हो । नेपालमा पनि ‘आशा जगाऔँ, जीवन बचाऔँ’ नाराकासाथ विभिन्न चेतनामूलक कार्यक्रम भइरहेका छन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक वर्ष आत्महत्याका कारण विश्वमा ७ लाखभन्दा धेरैले ज्यान गुमाउने गरेका छन् । झण्डै ९९ प्रतिशत आत्महत्या मानसिक रोगका कारणले हुने गरेको छ । मानसिक रोगमध्ये पनि ९५ प्रतिशत डिप्रेसनका कारण आत्महत्या हुने गरेको पाइएको छ । नेपालमा आत्महत्याको दर बढ्दो रुपमा रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्मको तथ्याङ्कलाई हेर्दा आत्महत्याको दर बढिरहेको देखिन्छ । गएको वर्ष नेपालमा ६ हजार ९ सय ९३ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको रिपोर्ट छ । प्रहरीको तथ्याङ्कमा किशोर अवस्थामा महिला र प्रौढ अवस्थामा पुरुषले बढी आत्महत्या गर्ने गरेको देखिन्छ । किशोर अवस्थामा प्रेममा असफलता, पढाइमा असफलता, घरायसी विवाद आदिको कारण किशोरीले बढी आत्महत्या गरेको हुनसक्ने प्रहरी प्रवक्ता कुबेर कडायत बताउनुहुन्छ ।
यस्तै, प्रौढ अवस्थामा पुरुषको आत्महत्या दर बढी हुनुमा डिप्रेसन, फ्रस्टेसन अनि आर्थिक कारण हुनसक्ने प्रहरी प्रवक्ता कडायतको भनाइ छ । मनोचिकित्सक डा. लता गौतम आत्महत्याको प्रयास गर्नेमा महिला धेरै र आत्महत्या गर्नेमा पुरुष धेरै रहेको बताउनुहुन्छ ।
महिलाहरु आफ्ना कुरा अरुलाई भन्ने र पुरुषहरु धेरै आफ्ना कुरा अरुलाई नभन्ने र एकै पटक आत्महत्याको निर्णय गर्ने भएका कारण यस्तो भएको हुनसक्ने डा. गौतमको तर्क छ । देखासिकी, असफलता र सानो कुरा पनि सहन नसक्ने प्रवृत्तिले व्यक्तिलाई आत्महत्याको अवस्थामा पुर्याउने गरेको छ । अहिले यसमा प्रविधि पनि थपिएको छ ।
सामाजिक सञ्जाल पनि अहिले एउटा कारण बनेको छ । तर, यी सबै अगाडि देखिने कारण भए पनि यसको पछाडि भने मुख्यतया: मनोरोग अर्थात् डिप्रेसन नै कारक भएको डा. गौतम बताउनुहुन्छ । मनोरोगको बेलैमा पहिचान गरेर उपचार गर्ने हो भने आत्महत्या रोकथाम गर्न सकिने मनोचिकित्सक डा. गौतमले बताउनुभयो ।
त्यस्तै, मानसिक रोग विशेषज्ञ डा. गिरिराज भन्तानाले मानसिक रोगीको उपचार गरे निको हुने र उसले सही तरिकाले जीवनयापन गर्न सक्ने बताउनुभयो । डा. भन्तानाका अनुसार मानसिक रोगको बेलैमा उपचार गरेर आत्महत्या रोकथाम गर्न सकिन्छ ।
आत्महत्याको सोच आउँछ भने त्यो बिरामीको कारणले हो भन्यो भने मात्रै पनि व्यक्तिले आत्महत्या गर्ने सम्भावना कम हुने बताउनुभयो । कडा खालको मानसिक समस्याको औषधिको उपचारले मात्रै नपुग्ने भन्दै उहाँले सही व्यवस्थापन पनि गर्नुपर्नेमा जोड दिनुभयो ।
विज्ञका अनुसार विभिन्न चरण पार गर्ने क्रममा एउटा व्यक्तिले आत्महत्या गर्नुभन्दा अगाडि आठ पटक आत्महत्याको कोसिस गरेको हुने र त्यसपछि मात्रै आत्महत्या गर्न पुग्छ । नेपालको स्वास्थ्य बजेटको शून्य दशमलव सात प्रतिशत मात्रै मानसिक स्वास्थ्यमा खर्च हुने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।