फाल्गुनन्द गोल्डकप : तेस्रो क्वाटरफाइनलमा आज चर्च ब्वाइज र विराट...
पुस १०, २०८१ बुधबार
मकवानपुर – प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जातीय र धार्मिक द्वन्द्व नफैलाउन सबैलाई आग्रह गर्नुभएको छ ।
आज आइतवार हेटौँडामा आयोजित समाजवादी मोर्चा नेपाल बाग्मती प्रदेशको सन्देशसभालाई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले जनयुद्धमा जातीय र धार्मिक द्वन्द्व कतै नभएको उल्लेख गर्दै यस्तो कार्यमा संलग्न नहुन सबैलाई आग्रह गर्नुभयो । ‘हामीले जनआन्दोलन गर्दा कहिल्यै पनि जातीय र धार्मिक द्वन्द्व भएन तर अब पनि हामी यस्तो कदापि हुन दिने छैनौँ’, उहाँले भन्नुभयो ।
सङ्घीयता र समावेशीताका पक्षमा लड्नका लागि मोर्चा गठन भएको उहाँको भनाइ छ । सरकारले भ्रष्टाचारविरुद्ध र सुशासन, सामाजिक न्यायको अभियान शुरु गरेपछि चौतर्फी आक्रमण शुरु भएको पनि प्रचण्डले दाबी गर्नुभयो ।
‘वर्तमान सरकार परम्परागत संसदीय अभ्यासभन्दा पनि नागरिकका लागि जनपक्षीय व्यवस्था कायम गर्दै नागरिकको अवस्था सुधार गर्ने पक्षमा छ’, उहाँले भन्नुभयो । सरकार नागरिकको गणतन्त्र बनाउन चाहने दलहरूको एकता, बुर्जुवा र प्रतिक्रियावादीको शक्तिलाई हाबी हुन नदिन महत्त्वपूर्ण भूमिका खेलिरहेको उहाँको भनाइ छ । समाजवादको आधार तयार पार्दै नागरिकको गणतन्त्र बनाउने अभियानमा लागिरहेका कारण पनि यो मुद्दामा एकजुट हुन आवश्यक रहेको उहाँको भनाइ छ ।
प्रचण्डले कम्युनिस्टहरू नागरिकको हितका लागि एकबद्ध भएर एउटै धारमा समाहित हुने विन्दुमा आइपुगेको भनाइ व्यक्त गर्नुभयो । कम्युनिस्टहरू एक–अर्कालाई अपमान गरेर फेरि फुटेमा त्यसको मर्का नागरिकलाई पर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले कमजोरीलाई स्वीकार गर्दै दृढ भएर नागरिकका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । ‘हामी सबै एक भएर राजतन्त्र ढाल्यौँं, हाम्रो एकता आज अवस्था परिवर्तनका लागि तथा समाजवादको पक्ष र पुँजीवादको विरुद्धमा हो’, उहाँले भन्नुभयो ।
अध्यक्ष नेपालले समानताको सिद्धान्त लागू गर्न र नागरिकलाई स्तरीय जीवन बाँच्न पाउने आधार तयार गर्नका लागि समाजवादी मोर्चाका दल एक भएर काम गर्ने बताउनुभयो ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले शुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नो पार्टीको साथ र सहयोग गर्ने बताउनुभयो । उहाँले वर्तमान सरकारले नागरिकको पक्षमा काम गरिरहेको भन्दै सरकारलाई अझ सशक्त बनाउँदै जनपक्षीय काममा लाग्न सुझाव दिनुभयो ।
समाजवादी फोरमका नेता शिवलाल थापा मगरले पहिचानवादीका नाममा आन्दोलन गर्नेलाई झुटा मुद्दा लगाइएको बताउँदै तत्काल रिहाइको माग गर्नुभयो । संविधानमा उल्लेख भए बमोजिम स्थानीय भाषामा पठनपाठन गरिनुपर्ने र त्यसतर्फ वर्तमान सरकार लागेकोमा उहाँले धन्यवाद दिनुभयो ।
नेता मगरले सरकारले शुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा ऐक्यबद्धता जनाउँदै थप फाइल खोल्न पनि सुझाउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।