डा. गौरीशंकर लाल दासलाई सरकारकाे सम्मान

 असोज ९, २०८० मंगलबार १८:३४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – स्वास्थ्य तथा सामाजिक क्षेत्रमा उच्च योगदान पुर्‍याउनु भएका डा. गौरीशंकर लाल दासलाई सरकारले सम्मान गरेको छ ।

आज मङ्गलवार सय वर्ष पुग्नु भएका दासलाई काठमाण्डाै महानगरपालिका र मूल समारोह समितिले राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सम्मानपत्र तथा दोसल्ला ओढाएर अभिनन्दन गरेको हो । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह, पूर्वमन्त्री, सांसद, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकायका पदाधिकारीलगायतले शताब्दी पुगेको अवसरमा दासलाई अभिनन्दन गर्नुभयाे ।

डा. दासलाई सय वर्ष पुगेको अवसरमा नागरिकस्तरबाट दिव्य शताब्दी पुरुषको मानार्थ दिइएको छ । नेपालको चिकित्सा सेवा, मानव अधिकार, समाज सेवा, व्यवस्थापन र सुशासनको क्षेत्रमा उहाँको योगदान अतुलनीय छ । एक सय वर्षमा पनि उहाँ उत्तिकै सक्रिय हुनुहुन्छ । अहिले पनि उहाँ विभिन्न सामाजिक कार्यक्रममा सहभागी हुने गर्नुभएको छ । डा. गौरीशंकर लाल दासको जन्म सन् १९२४ सेप्टेम्बर २६ तारिखमा सिरहाको इनर्वामा भएको हो । उहाँले गरिब तथा विपन्न नागरिकलाई निःशुल्क उपचार गरिदिनु हुन्थ्यो ।

डा. दासले भारतमा पढ्नुभयो । विसं २००७ मा एमबीबीएस सकेपछि उहाँले बेलायत गएर क्षयरोग र ट्रपिकल मेडिसिनमा डिप्लोमा गर्नुभयो । विसं २००९ मा नेपाल आएर उहाँले वीर अस्पतालमा काम थाल्नुभयो । उहाँले २०५७ सालदेखि २०६२ सालसम्म राष्ट्रिय मानव अधिकार आयोगको सदस्य भएर काम गर्नुभयो ।

काठमाण्डौको चाबहिल बस्ने डा. गौरीशंकर लाल दास समाजसेवी तथा प्रशासनिक क्षेत्रमा लामो समयदेखि क्रियाशील हुनुहुन्छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले उहाँले शताब्दी जन्मोत्सवका अवसरमा वर्षभरि नै विभिन्न कार्यक्रम गर्ने जनाइसकेको छ । डा. दास त्रिशक्तिपट, गोरखा दक्षिणबाहु, प्रसिद्ध प्रबल गोरखा दक्षिणबाहु लगायतबाट सम्मानित हुनुभएको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया