शिवपुरी माविकाे हीरक महाेत्सव सम्पन्न

 असोज २७, २०८० शनिबार १७:३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – महाराजगञ्जमा रहेको शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५ औँ वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हीरक (७५ औँ वर्षगाँठ) जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको हो ।

देशमा राणा शासन कायम रहेकै बखत विसं २००५ सालमा स्थापित यो शैक्षिक संस्था विभिन्न कालखण्डमा नाम परिवर्तन हुुदै अहिले शिवपुरी विद्यालयका रुपमा विकास भएको हो । काठमाण्डौ उपत्यकाका पुराना विद्यालयमध्ये काठमाण्डौ महानगरपालिका–३ मा पर्ने शिवपुरी शुरुमा बाँसबारी आधार पाठशाला, बाँसबारी मिडिल स्कुल, बाँसबारी माध्यमिक विद्यालय हुँदै विसं २०३० को दशकको शुरुवातीदेखि शिवपुरी विद्यालयका रुपमा कायम छ ।

काठमाण्डौ महानगरपालिकाले यो विद्यालयलाई आफ्नो प्राविधिक शिक्षालयका रुपमा समेत विकास गरेको छ । ५३ जना शिक्षक र आठ जना कर्मचारी कार्यरत यो विद्यालयमा एक हजार पाँच सय ९४ जना विद्यार्थी अध्ययनरत छन् । १ देखि १२ कक्षाका अलवा शिवपुरीको संरचनाबाटै स्नातक तहका दुई वटा संकाय व्यवस्थापन र मानविकीको पनि अध्ययन गराइँदै आएको छ ।

खासगरी विद्यालयमा अध्ययनरत छात्रछात्राको परिवारको आर्थिक अवस्था सामान्यदेखि पारिवारिक पृष्ठभूमि भएका छात्रछात्राको रोजाइमा रहेको शिवपुरी हरेक वर्ष शैक्षिकरुपमा अगाडि रहेको प्रधानाध्यापक प्रकाश सुुवेदीले बताउनुभयो । उहाँले विद्यालय ७५ वर्ष पुग्नु आफैँमा ऐतिहासिक रहेको भन्दै विद्यालयलाई सबैको रोजाइमा राखिराख्न शैक्षिक गुणस्तरलाई अझ बढाउनेदेखि भौतिक संरचना थप व्यवस्थित गर्न आफूहरु लागि पर्ने बताउनुभयो ।

विद्यालयको हीरक जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई र काठमाण्डौ क्षेत्र नम्बर ५ बाट निर्वाचित कांग्रेस सांसद प्रदीप पौडेलले शिवपुरी विद्यालय देशकै उदाहरणीय शैक्षिक संस्था रहेको बताउनुभयो । मन्त्री राईले शिक्षा दान गर्ने विषयमा देशकै उत्कृष्ठ विद्यालयका रुपमा शिवपुरी स्थापित भएको उल्लेख गर्नुभयो । यो सफलता विद्यार्थी, अविभावक, शिक्षक र दाता, कर्मचारीको योगदानबाट मात्रै सम्भव भएको उहाँको भनाइ छ । सांसद पौडेलले शिवपुरीलाई देशकै नमूना विद्यालयका रुपमा विकास गर्न आफू लागि पर्ने प्रतिबद्धता जनाउनुभयो ।

गएकाे तीन वर्ष यता कक्षा ९ देखि १२ सम्म महानगरले शिवपुरीमै दुई वटा कम्प्युटरल्याब र एउटा प्रोजेक्टरसहित कम्प्युटर इन्जिनियरिङको पढाइ सञ्चालन गरिरहेको छ । महानगरले उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा कम्प्युटर अध्ययन गराउन ५० लाख रुपैयाँ अनुदानसहित विद्यालयलाई छनोट गरेको थियो ।

विद्यालयको शैक्षिक गुणस्तर विकास गर्न र त्यस अनुसार परीक्षामा नतिजा हासिल गर्न प्रत्येक महिना इकाइ र त्रैमासिकका चार वटा परीक्षा सञ्चालन गर्दै आएको र यसबाट विद्यार्थीको मूल्यांकनमा थप सहज बनेको प्रधानाध्यापक सुवेदीले बताउनुभयो । यसबाहेक उच्च शिक्षाका लागि कक्षा १० र १२ को अध्ययन महत्वपूर्ण हुने भएकोले त्यसका लागि नियमितबाहेक अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको उहाँको भनाइ छ। 

यस विद्यालयले नेपाली र सामाजिक बाहेकका सबै विषय अंग्रेजी माध्यममा पढाउँदै आएको छ । एसईईको नतिजा पछि विद्यालयमा ११ र १२ कक्षा अध्ययन गर्न आउनेको चाप हुने गरेको सुवेदीले बताउनुभयो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत नेपाल सरकारबाट दुई पटक बजेट पाएको शिवपुरीले त्यसलाई खानेपानी र सूचना प्रविधिका संरचना विकासमा खर्च गरेको थियो ।

महानगरले नै यो विद्यालयलाई २०७३ सालमा शैक्षिक अवस्था र भौतिक संरचनातर्फ उत्कृष्ट विद्यालयका रुपमा पुरस्कृत गरेको थियो भने महानगरकै एक वडा एक नमूना विद्यालयका रुपमा पनि यही संस्था छनोट भएको थियो । केही वर्ष अघि मात्रै ब्रिटिश काउन्सीलले शिवपुरीलाई उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा अवार्ड प्रदान गरेको थियो ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया