राष्ट्र सङ्घका महासचिवले कात्तिक १४ गते सङ्घीय संसद्‍मा सम्बोधन गर्ने

 कात्तिक ३, २०८० शुक्रबार १६:३९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – इजरायलमा हमासको आक्रमणपछि स्थगित गरिएको संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण हुने भएको छ ।

हिजाे बिहीवार बसेकाे मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसले यही कात्तिक १२ देखि १५ गतेसम्म गर्ने नेपाल भ्रमणको औपचारिक कार्यक्रम स्वीकृत गरेको हो । नेपाल बसाइका क्रममा उहाँले नेपालको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हिजाे सङ्घीय संसद् सचिवालयलाई पत्राचार गरी महासचिव गुटेरेसले कात्तिक १४ गते दिउँसाे ४ बजे सम्बोधन गर्ने जानकारी गराउँदै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको हो । सङ्घीय संसद् सचिवालयका सहसचिव एवम् प्रवक्ता एकराम गिरीले महासचिव गुटेरेसको सम्बोधनका लागि सचिवालयले आन्तरिक तयारीको कामलाई शुरु गरिसकेको बताउनुभयाे ।

महासचिव गुटेरेसले सम्बोधन गर्ने बैठकमा संवैधानिक निकायका प्रमुख, नेपालमा रहेका कुटनीतिक नियोगका प्रमुखलगायतका विशिष्ट सरकारी अधिकारीहरूलाई आमन्त्रण गरिनेछ ।

महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभा बैठकमा भाग लिने क्रममा नेपाल भ्रमणको निमन्त्रणा गर्नुभएको थियो । पोर्चुगलका पूर्वप्रधानमन्त्री गुटेरेसको संयुक्त राष्ट्र सङ्घको महासचिवको रूपमा दोस्रो कार्यकाल हो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया