६ दशमलव १ रेक्टरस्केलको भूकम्पपछि धादिङमा पटक-पटक परकम्प, सतर्कता अपनाउन विज्ञको आग्रह

 कात्तिक ५, २०८० आइतबार ८:२३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बिहान धादिङ केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएपछि पटक-पटक परकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यो भूकम्पपछि लगातारजसो परकम्प गइरहेका छन् । थप ठूलो धक्कासमेत आउन सक्ने जोखिम रहेकाले सतर्कता अपनाउन  उहाँको आग्रह छ ।

भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई खुलाचौरमा बस्न उहाँको अनुरोध छ । बिहान भूकम्प गएपछि धादिङका धेरै ठाउँका बासिन्दा घर बाहिर निस्किएका थिए । अहिले आफूहरु खुला ठाउँमा बसिरहेको धादिङको मछेडिखोलाकी शुभद्रा गौतमले जानकारी दिनुभयो ।

भूकम्पको धक्का काठमाण्डौ उपत्यका आसपासका क्षेत्रमा समेत महसुस भएको थियो । भूकम्पका कारण क्षति भए नभएकाेबारे विवरण आउन बाँकी छ ।

यसअघि गएको असाेज महिना बझाङ केन्द्रबिन्दु बनाएर पटक-पटक भूकम्प गएको थियो  । गएको २ गते राति बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यसैगरी, असोज १६ गते  ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यसपछि बझाङमा लगातारजसो साना र मध्यम भूकम्प र परकम्प गइरहेको बेला धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।  

नेपाल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्र रहेकाले जुनसुकै बेला पनि ठूलो भूकम्पको जोखिममा छ । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्रमा स–साना भूकम्प गइरहेका छन् ।  

अन्तिम अपडेट: जेठ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया