नेपाल वायुसेवा निगमका लागि तीन वटा जहाज किन्न बोलपत्र आह्वान

 कात्तिक ५, २०८० आइतबार १०:३९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल वायुसेवा निगमले तीनवटा नयाँ जहाज किन्न बोलपत्र आह्वान गरेको छ । निगमले आज खुलाएको बोलपत्रको अन्तिम म्याद डिसेम्बर ५ तारिखसम्म छ ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्नका लागि तीन वटा ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारीमा रहेको जानकारी गराउनुभएको थियो ।  

निगमले आन्तरिकतर्फ २२ गन्तव्यमा सेवा दिनेगरी जहाज खरिदको प्रक्रिया अघि बढाएको मन्त्री किराँतीको भनाइ छ । नेपाल वायु सेवा निगमसँग अहिले आन्तरिक उडानमा दुई वटा ट्वीनअटर जहाज छन् ।

यस्तै, निगमले सुगम क्षेत्रमा उडान भर्नको लागि थप दुई वटा जहाज खरिद प्रक्रिया अघि बढाउने तयारी रहेको बताएको छ । भएकै जहाज पनि सञ्चालन गर्न नसकेकाे निगम अहिले ४८ अर्ब रुपैयाँ ऋणमा डुबेको छ । तर मन्त्री किराँतीले निगमको अवस्था सुधारको लागि जहाज अनिवार्य रहेको बताउँदै आउनुभएको छ ।

निगमलाई बलियो बनाउन र अनियन्त्रित हवाईभाडा नियन्त्रणका लागि थप जहाज चाहिएको मन्त्री किराँतीले सार्वजनिक कार्यक्रमहरुमा बताउँदै आउनु भएकाे छ । निगमले भएकै जहाज पनि पूर्ण क्षमतामा सञ्चालन गर्न सकेको छैन ।

निगमसँग अहिले दुईवटा वाइडबडी, दुई वटा न्यारो बडी, दुई वटा ट्वीनअटर गरी ६ वटा जहाज छन् । यसअघि किनिएका ६ वटा चिनियाँ जहाज १० वर्षदेखि ग्राउन्डेड छन् । नेपाल वायुसेवा निगमले सन् १९५८ देखि उडान थालेको हो ।  निगमको संरचनागत एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले सोल्टी होटलको शेयर बेचेर जहाज किन्न सुझाएको थियो ।  

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया