बाँकेको राप्ती नदीबाट जलमा आश्रित चरा गणना शुरु
माघ ६, २०८१ आइतबार
कैलाली – इजरायलमा प्यालेस्टिनी विद्राेही समूह हमासको आक्रमणमा परि ज्यान गुमाएका सुदूरपश्चिम प्रदेशका चार जना युवाको शव धनगढी विमानस्थलमा आज आइतवार मृतकका परिवारलाई बुझाइएको छ ।
कैलालीको जोशीपुर गाउँपालिका आशिष चौधरी, घोडाघोडी नगरपालिकाका नरायणप्रसाद न्यौपाने, दार्चुला मालिकार्जुन गाउँपालिकाका लोकेन्द्रसिंह धामी र दार्चुला घर भई कञ्चनपुर निबुवाखेडाका दीपेशराज विष्टको शव परिवालाई बुझाइएको हो । मृतक चार युवा विद्यार्थीको शव नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी विमानस्थलमा पुर्याइएको थियो । शव बुझ्न मृतकका परिवार धनगढी विमानस्थलमा पुगेका थिए ।
विमानस्थल पुगेका सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेशसिंह धामी, प्रदेशसभाका नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी, मृतक विद्यार्थीले अध्ययन गरेका सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत स्कुल अफ एग्रिकल्चर, कृषि विज्ञान सङ्काय टीकापुरका प्राध्यापक सुशील न्यौपाने, परिवारलगायतले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
मृतकका आफन्तलाई शव बुझाउन कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, जिल्ला प्रहरी प्रमुखलगायत विमानस्थल पुग्नुभएको थियो ।
स्कुल अफ एग्रिकल्चर, कृषि विज्ञान सङ्काय टीकापुरका प्राध्यापक सुशील न्यौपानेका अनुसार 'लर्न एन्ड अर्न' कार्यक्रमका लागि ४९ युवा विद्यार्थी इजरायल गएकामा १७ जना हिंसात्मक घटनामा परेका थिए । यीमध्ये १० जनाको ज्यान गएको थियो । मृतकमध्ये सात जना सुदूरपश्चिम प्रदेशका रहेकोमा तीन जनाको शव पुग्न बाँकी छ ।
कञ्चनपुर महेन्द्रनगरका विपिन जोशी सम्पर्कविहीन रहेका छन् । घटनामा घाइते भएका तीन जना उपचाररत रहेका छन् भने ३५ जना नेपाल फिर्ता भइसकेका छन् ।
मृतकको शव लिएर धनगढी विमानस्थल पुग्नुभएका नेपालका लागि इजरायली राजदूत खनान गुडेरले मृतक परिवारका आफन्तसँग भेट गरी घटनाबाट आफू दुःखित रहेको बताउनुभयो । धनगढी विमानस्थलको विशिष्ट कक्षमा राजदूत गुडेरले मृतकका परिवारजनसँग दुःख साट्नका लागि आफू धनगढी पुगेको भन्दै समवेदना व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।